माउन्ट एभरेस्ट तेक्वान्दो सुरु- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माउन्ट एभरेस्ट तेक्वान्दो सुरु

१३ देशका १ हजार ४ सय २५ तेक्वान्दो खेलाडी पोखरामा
कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा बिहीबारदेखि तेस्रो माउन्ट एभरेस्ट खुला तेक्वान्दो च्याम्पियनसिप २०२२ जी–२ र्‍याकिङ तथा पहिलो जीसीएस माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ सुरु भएको छ । 


नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संयुक्त आयोजनामा सुरु प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहल र ब्याटमिन्टन कोर्टमा सुरु प्रतियोगिता भदौ ९ सम्म चल्नेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रतियोगिताले नेपालको समृद्धि, पर्यटन, राष्ट्रियता र भाइचाराको सम्बन्ध बढाएको बताए । गण्डकी प्रदेशभित्र खेल पूर्वाधार निर्माणका लागि केन्द्र सरकारसँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चुङ वाङ चोइले विश्वभरका तेक्वान्दो खेलाडी पोखरा आएर खेल्न पाउनु सौभाग्यको विषय भएको बताए । अन्नपूर्ण र माछापुच्छ्रेको काखमा तेक्वान्दो खेल्नु खेलाडीका लागि सुखद रहेको उनले सुनाए । एसियन तेक्वान्दो युनियनका अध्यक्ष प्रोफेसर क्यु सिको लीले सुन्दर नगरी पोखरामा प्रतियोगिता आयोजना गरेर आयोजकले पोखरासँगको सामीप्यता बढाउने काम गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले प्रतियोगिताले खेल क्षेत्र चलायमान गराएको बताए । प्रदेशमा खेल गतिविधि बढेकाले सरकारले पूर्वाधारमा विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले यस प्रतियोगिताले गण्डकीमा हुने नवौं खेलकुदलाई सहयोग पुर्‍याउने अपेक्षा गरे ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले प्रतियोगिता लामो संघर्षपछि नेपालका भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनप्रसाद गुरुङका अनुसार १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आएका छन् । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जी–२ र्‍याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेल भइरहेका छन् ।

प्रकाशित : आश्विन ७, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

हिमालबाट हराउँदै चौंरी

मूल्य राम्रो भए पनि चौंरी बेच्न तराईकै बजारमा जानुपर्ने बाध्यता
राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिका–२ मुगुगाउँका उर्गिङ तामाङको गोठमा एक दशकअघि झन्डै १ सय ५० चौंरी थिए । अहिले उनीसँग ३५ वटा मात्र छन् । ‘दुःख पनि धेरै हुने, घाँसको पनि समस्या,’ उनले भने, ‘त्यसैले विस्तारै गोठमा चौंरीको संख्या घटिरहेको छ ।’ अहिले ३५ चौंरी पाल्नका लागि पनि वर्षमा झन्डै ६ महिना उनको लेकाली पाटनमै बास हुने गरेको छ । 

छिमेकी कुन्ग्याप तामाङले पनि कुनै बेला २ सय वटासम्म चौंरी पाले । अहिले उनीसँग २० वटा मात्र छन् । उनी पनि त्यही चौंरी पाल्न चुन, बुकी र यार्चा उम्रने पाटनमा ६ महिना वनबासमै हुन्छन् । उनले त्यो समय कोइकी, रिमार, हाङदाङ, छायानाथ, चितैलगायत क्षेत्रमा बिताउँछन् । ‘वर्षैभरि पाटनमा बस्न नसकिने, गाउँमा २० वटा चौंरी पाल्न पनि घाँसपातको समस्या छ,’ उनले भने, ‘पाटनमा पनि ओखतीमूलोको समस्या हुने भएपछि चौंरी बर्सेनि घटिरहेका छन् ।’

एक दशकअघि मुगमकार्मारोङका १२ बस्तीका बासिन्दाको मुख्य पेसा नै चौंरीपालन थियो । दशकअघिसम्म कम्तीमा २ सय चौंरी नभएको घरै भेटाउन मुस्किल थियो । तर अहिले ५० भन्दा बढी चौंरी कसैले नपालेको स्थानीय छेवाङ लामाले जनाए । उनका अनुसार अहिले गाउँमा चौंरीको संख्या बढीमा १ हजार छ ।

‘बरु घोडाखच्चडबाट फाइदा हुन थाल्यो,’ उनले भने, ‘पाल्न पनि दुःख हुने, बिक्री गर्न सुर्खेत वा नेपालगन्ज नै लैजानुपर्ने ।’ उनका अनुसार वैशाखमा पाटन लगिएका चौंरी दसैं लागेपछि असोजमा मात्र गाउँ झर्छन् । कात्तिकपछि पाटनमा भारी हिमपात हुने भएकाले चैत/वैशाखसम्म गाउँ झरेका चौंरीलाई चरनको समस्या हुने गरेको उनले बताए । गोठमा नबस्ने र पाटनतिर चराउन लैजाँदा हिमपहिरोको जोखिम पनि हुने भएकाले चौंरी पाल्न जोखिम खेप्नुपरेको स्थानीयको गुनासो छ ।

अन्य पशुचौपायाको तुलनामा चौंरीको मूल्य महँगो छ । मूल्य राम्रो भए पनि चौंरी बेच्न तराईकै बजारमा जानुपर्ने बाध्यता भएको किसानहरू बताउँछन् । स्थानीय सोनाम लामाका अनुसार सानो चौंरीको ५० हजार र ठूलो चौंरीको ८० हजार मूल्य पर्छ । आर्थिकमा कमजोर भएका व्यक्तिले चौंरी पाल्नै समस्या हुने उनको भनाइ छ ।

‘चौंरीका बच्चा किन्न पनि डोल्पा र हुम्लाका माथिल्लो भेगमा पुग्नुपर्छ,’ उनले भने, ‘५० हजारमा किनेर ल्याएको चौंरी ६/७ महिना पाल्दा पनि बढीमा ८० हजार रुपैयाँमा बिक्री हुन्छ ।’ पढाइलेखाइ गरेका युवाको चौंरीपालनमा रुचि नभएपछि बुढापाकाकै भरमा व्यवसाय चलेको उनले बताए । ‘सबै युवा सहरकेन्द्रित हुन थाले,’ उनले भने, ‘युवाहरूले व्यापार–व्यवसायबाटै धेरै पैसा कमाउन थाले, दुःखको यो पेसामा कसको रुचि होला ?’ बसाइँसराइले पनि चौंरीपालन गर्नेको संख्या घट्दै गएको उनको भनाइ छ ।

बजारम चौंरीको घिउ प्रतिमाना ९ सय रुपैयाँमा बिक्री हुने गरेको मुगुगाउँका ठिल्ले तामाङले बताए । चौंरीको दूधबाट छुर्पी पनि बनाइन्छ । ‘चौंरीको पुच्छर र छाला पनि महँगो मूल्यमा बिक्री हुन्छ,’ उनले भने, ‘पुच्छरको मूल्य मात्रै कम्तीमा २५ हजार रुपैयाँ छ, छाला पनि ३ हजार रुपैयाँमा किनबेच हुन्छ ।’

स्थानीयले जुम्लाको सिंजा, सोरु, खत्याड, तिब्बतलगायत ठाउँबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्न चौंरीको प्रयोग गर्छन् । एक चौंरीले ८० किलोसम्म भारी बोक्ने उनले बताए । स्थानीयले चौंरीपालन छोड्दै गएपछि भेटेरनरी अस्पताल तथा पशु सेवा कार्यालयले गत वर्षदेखि ‘चौंरी संरक्षण कार्यक्रम’ लागू गरेका छन् । कार्यक्रमका लागि यो वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिएको कार्यालय प्रमुख भीमचन्द बुढाले बताए । उनका अनुसार मुगुमकार्मारोङमा मात्र यो वर्ष झन्डै १ हजार १ सय चौंरी पालिएका छन् ।

प्रकाशित : आश्विन ७, २०७९ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×