लगनखेलमा च्याम्पियन बनेको त्यही टिम

नेपाली टिमलाई फाइनलमा हराएर लगनखेलमा ७ वर्षअघि एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियन भएको बंगलादेशी टिम उमेर समूहमा निरन्तर सहभागिता र सफलतापछि साफ च्याम्पियन बनको हो
राजु घिसिङ

काठमाडौँ — महिला फुटबललाई दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट सन् २०१० मा समावेश गरिएको थियो, जुन क्षेत्रीयस्तरमा महिला फुटबलको प्रवेश थियो । ढाकामा भएको ११ औं सागपछि त्यही वर्ष बंगलादेशकै कक्स–बजारमा साफ (दक्षिण एसियाली फुटबल महासंघ) महिला च्याम्पियनसिपको पहिलो संस्करण आयोजना गरियो । त्यसैले दक्षिण एसियाली स्तरमा महिला फुटबलको प्रतियोगिता सुरु भएको १२ वर्षमात्रै हुँदै छ ।‍

लगनखेलमा च्याम्पियन बनेको त्यही टिम

सिनियर टिमको प्रतियोगितामा १२ वर्षमा भारतको एकछत्र राज रह्यो । नेपालको छवि उपविजेताको बन्यो । भारतले पाँचपल्ट साफ च्याम्पियनसिप जित्दा नेपाल चारपल्ट फाइनलमा रोकियो । भारतले तीनपल्ट सागको स्वर्ण पदक जित्दा नेपाल तीनैपल्ट रजतमा सीमित भयो । त्यसैले इतिहासले देखाउँछ कि १२ वर्ष दक्षिण एसियाली महिला फुटबल भारत–नेपालको प्रतिस्पर्धामै सीमित रह्यो । भलै, बंगलादेशले साफ २०१६ को फाइनल खेलेको थियो, जुन बेला नेपाल सेमिफाइनलमा भारतसँग हारेको थियो ।

नेपाली उखानै छ नि १२ वर्षमा खोलो पनि फर्किन्छ । यसपालिको साफ महिला च्याम्पियनसिपमा त्यस्तै भयो । बंगलादेशले समूह चरणको अन्तिम खेलमा ३–० को एकतर्फी जित निकाल्दै च्याम्पियनसिपमा भारतको अपराजित यात्रालाई २५ खेलमा टुंग्याएन मात्रै सोमबार फाइनलमा नेपाललाई ३–१ ले हराएर ऐतिहासिक उपाधि पनि जित्यो । बंगलादेशले भारत र नेपाली टिमलाई पहिलोपल्ट पराजित भएको हो । नेपाली टिम दक्षिण एसियाली प्रतियोगितामा भारतबाहेक अरु टिमसँग हारेको पनि यो नै पहिलोपल्ट हो । बंगलादेश सिलिगुढी (सन् २०१६) को साफमा आयोजक भारतलाई गोलरहित रोक्दै समूह विजेता भएको थियो, जसको फाइनलमा भने भारतसँग हारेको थियो । तीन वर्षअघिसम्म पनि उसलाई भारत र नेपालले चुनौती दिनसक्ने प्रतिस्पर्धी मानेको थिएन । दोस्रो फाइनलमै ट्रफी कब्जा गर्दै बंगलादेशले दक्षिण एसियाली महिला फुटबलमा १२ वर्षपछि खोलो फर्काइदियो ।

कुनै बेला छोरीले फुटबल खेल्यो भनेर आलोचित समाजमा पहिलो उपाधि जितेपछि बंगलादेशी खेलाडीहरूलाई बुधबार ढाका फर्केपछि भव्य स्वागत गर्दै सजिसजाउ बस चढाएर सहरमा र्‍याली नै गर्‍यो । इस्लाम धर्मालम्बीको बाहुल्य रहेको १८ करोड जनसंख्याको देशले अहिले महिला टिम साफ च्याम्पियन भएकोमा खुसी मनाइरहेको छ, गर्व गरिरहेको छ, एउटा प्रतियोगिताको उपाधि जितेभन्दा धेरै नै ठूलो उपलब्धि महसुस गरिरहेको छ । बंगलादेश फुटबल महासंघ (बीएफएफ) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले ५०–५० लाख टाका (रु.१ करोड २३ लाख १४ हजार) पुरस्कार दिने घोषणा गरेका छन् । साफकै उत्कृष्ट गोलकिपर रुपना चकमाका लागि घर बनाइदिन प्रधानमन्त्री शेख हसिनाले निर्देशन दिएकी छन् । प्रधानमन्त्री हसिना अमेरिकाबाट फर्केपछि टिमका लागि नगद पुरस्कार घोषणा गर्ने अपेक्षा गरिएको छ ।

महाभूकम्पले बदलेको भाग्य

दशरथ रंगशालाको मैदान झरीमा हिलाम्मे हुदाँ पनि सुन्दर खेल पस्किएको बंगलादेशको यो सफलताको खाका ७ वर्षअघि लगनखेलमा कोरिएको थियो । नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रस्थित मैदानमा २० डिसेम्बर २०१५ मा भएको फाइनलमा नेपाललाई १–० ले हराएर बंगलादेश एएफसी यू–१४ गर्ल्स रिजनल (दक्षिण तथा मध्य एसिया) च्याम्पियनसिपको उपाधि जितेको थियो । खासमा उक्त फाइनल अप्रिल २५ मा दशरथ रंगशालामा तोकिएको थियो । तर, फाइनलको दुई घन्टाअघि ९ हजार बढीको ज्यान लिएको महाभूकम्प आएपछि उपाधि होड आठ महिनापछि भएको थियो ।

लगनखेलमा मर्जियाले १६ औं मिनेटमा गोल गरेपछि बंगलादेशले महिला फुटबलकै पहिलो उपाधि उचालेको थियो । त्यो टिमकी कप्तान थिइन्, कृष्णरानी सरकार । उनकै दुई गोलको सहयोगमा नेपाललाई हराएर बंगलादेश सिनियर टिमको साफमा नयाँ च्याम्पियन भएको हो । मार्जिया र कृष्णरानीसहित यू–१४ च्याम्पियन टिमका आठ खेलाडी छैटौं साफको पनि विजेता बनेका छन् । त्यसपछि बंगलादेशले लगातार उमेर समूहको प्रतियोगिता खेल्यो, सिनियर टिमलाई पनि नियमित प्रशिक्षण गराएर प्रतिस्पर्धामा उतारिरह्यो ।

उमेर समूहमा शृंखलाबद्ध सफलता

बंगलादेशले २०१६ मा डुसान्बे (ताजकिस्तान) को फाइनलमा भारतलाई ४–० ले हराएर यू–१४ च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । ढाकामा भएको छनोटमा शक्तिशाली चाइनिज ताइपेईलाई पनि पराजित गरेर बंगलादेश पहिलोपल्ट एएफसी यू–१६ वुमेन्स च्याम्पियनसिप (२०१७) को फाइनल चरणमा पुगेको थियो । ढाकामा २०१७ मा भएको साफ यू–१५ च्याम्पियनसिपमा भारतलाई १–० ले हराएर अपराजित रहँदै च्याम्पियन भएको थियो । त्यसक्रममा उसले नेपाललाई ६–० ले हराएको थियो । यो उमेर समूहको प्रतियोगितामा बंगलादेशले नेपाललाई २०१८ मा ३–० र २०१९ मा २–१ ले परािजत गर्‍यो ।

बंगलादेश हङकङमा जकी क्लब अन्तर्राष्ट्रिय युवा प्रतियोगिता (२०१८) मा अपराजित रहँदै उपाधि जित्यो । थिम्पुमा नेपाललाई १–० ले हराएर साफ यू–१८ च्याम्पियन (२०१८) बन्यो । फाइनलमा गोल गरेकी मसुरा परविन अहिलेको साफ च्याम्पियन टिमकी भरपर्दा डिफेन्डर हुन् । त्यति बेला समूह चरणको भेटमा बंगलादेश २–१ ले विजयी भएको थियो । आफ्नै देशमा भएको बंगमाता यू–१९ प्रतियोगिता (२०१९) मा संयुक्त विजेता भएको बगलादेशले साफ यू–१९ च्याम्पियन (२०२१) पनि बन्यो ।

महिला फुटबलमा अस्ट्रेलिया विश्वकै राम्रो टिममा पर्दछ । त्यही अस्ट्रेलियाली युवा टिमलाई बराबरीमा रोक्दै बंगलादेशले एएफसी यू–१६ वुमेन्स च्याम्पियनसिप २०१९ मा तहल्का मच्चाएको थियो । तोहुरा खातुनको दुई गोलमा दुईपल्ट अग्रता लिएको खेल २–२ भएको थियो । तोहुरा साफको फाइनलमा ‘बेन्च’ मा थिइन् । यसरी निखारिँदै बनेको बंगलादेशको सिनियर टिमले तीन महिनाअघि ढाकामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मलेसियालाई ६–० ले हराएको थियो । त्यसैले बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–०, भारतलाई ३–०, सेमिफाइनलमा भुटानमाथि ८–० र फाइनलमा नेपालविरुद्ध ३–१ को जित अस्वभाविक होइन । बरू बंगलादेशले ७ वर्षअघि बनाएको योजना र त्यसपछि गरेको मिहिनेतको प्रतिफल हो यो सफलता ।

युवा टिम, अनुभवी प्रशिक्षक

बंगलादेशी महिला टिमले पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालको सामना गरेको थियो । त्यो ११ औं सागमा नेपालले १–० को जित हात पारेको थियो । बंगलादेशविरुद्धको अपराजित यात्रालाई नवौं खेलसम्म डोर्‍याउन नसक्दा नेपाली टिम घरेलु मैदानमा १५ हजार बढी दर्शकसामु पहिलो उपाधि जित्न असफल भएको हो । यो साफमा सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी कप्तान सविना खातुन बंगलादेशी टिमकी अनुभवी खेलाडी हुन् । २८ वर्षीया उनले सबै साफ (६ वटा) खेलेकी छन् । २३ सदस्यीय टिमका अरू खेलाडी १७ देखि २१ वर्षसम्मका छन् ।

बंगलादेशमा महिला फुटबलको प्रतियोगिता सन् २००४ मा मात्रै सुरु भएको थियो । उमेर समूहको टिमले अर्को वर्षदेखि र सिनियर टिमले २०१० देखि प्रतिस्पर्धा गर्न थालेको थियो । अहिलेको युवा टिमलाई ९० मिनेट नै राम्रो टिम–वर्कसहित तीव्र गतिमा सुन्दर खेल्ने कौशल भर्ने काम गरेका हुन् प्रशिक्षक गोलाम रब्बानी छोटनले । सन् २००९ देखि नै महिला टिमसँग कार्यरत उनले पहिलो साफ २०१० देखि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् । उमेर समूहका टिम पनि उनैले सम्हाल्दै आएका छन् । लगनखेलमा यू–१४ च्याम्पियन टिम पनि सम्हालेका उनलाई १३ वर्षयता बीएफएफले गरेको विश्वास, महिला फुटबलमा गरेको लगानी र समाज बदल्ने खेलाडीको मिहिनेतमा बंगलादेश साफ च्याम्पियन भएको हो । यसलाई सफलताको सुरुआत मानिएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?