दौड जित्नेलाई पोखराको प्याकेज- खेलकुद - कान्तिपुर समाचार

दौड जित्नेलाई पोखराको प्याकेज

कान्तिपुर संवाददाता

काठमाडौँ — उज्ज्वल तारा स्कुलले हरेक वर्ष गर्दै आएको ‘उज्ज्वल तारा दसैं रन फर गुड हेल्थ दौड’का विजयीलाई यसपालि नगदसहित पोखराको पाँचतारे होटेलमा खानेबस्ने सुविधाको पुरस्कार दिने घोषणा गरेको छ ।

हरेक वर्ष घटस्थापनाअघिको शनिबार हुने दौड यसपालि असोज ८ गते हुनेछ । कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित स्कुल हाताबाट ५ किलोमिटर दुरीमा दौड हुनेछ । दौडमा सात विधा रहेको छ ।

संयोजक महासेनानी विष्णु कार्कीका अनुसार १८ वर्षमाथिका महिला र पुरुष खुला विधाका शीर्ष तीन स्थानका विजेतालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

अभिभावक विधाका विजेता महिला र पुरुषलाई पोखराको क्राउन हिमालय होटलमा दुई रात खानेबस्ने सुविधाको पुरस्कार प्रदान गरिनेछ । श्रीमान र श्रीमती विधाका दौड विजेता हुनेलाई पोखराको पाँचतारे ग्रान्डी होटलमा एक रातको खानेबस्ने सुविधासहित दुवैलाई आतेजाते हवाई टिकट व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।

५५ वर्षमाथि समूहका विजेता पुरुष धावक (२ जना) लाई ग्रान्डी होटलमै एक रात बस्नेखाने व्यवस्था तथा विजेता महिला (२ जना) लाई पोखराकै सहारा होटलमा दुई रात खानेबस्ने सुविधाको फुरस्कार व्यवस्था गरिएको छ ।

दौडको तयारीबारे बुधबार जानकारी गराएको थियो । कार्कीका अनुसार दौडमा हालसम्म २ सय जनाले नाम दर्ता गरिसकेका छन् ।

प्रकाशित : आश्विन ५, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्

डीएभीलाई इन्डोर क्रिकेट उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक डीएभी स्कुलले बुधबार चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले हरायो । पहिले ब्याटिङ गर्दै मोडर्न इन्डियनले दिएको १ सय ६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर भेट्टायो ।

डीएभीको जितमा आयुष झाले अविजित ४२ रन र आदर्श अग्रवालले २५ रनको योगदान दिए । मोर्डनका लागि मृत्युन्जय पलले ४९ रन जोडे पनि जितलाई पर्याप्त हुन सकेन ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र बलर मोडर्नका आयुश जैसवाल घोषित भए। उत्कृष्ट ब्याटर मृत्युन्जय पल भए ।

प्रतियोगितामा डीएभी र मोडर्न इन्डियनसँगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए ।

प्रकाशित : आश्विन ५, २०७९ २१:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×