कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फाइनलको चोट र बिदाइ

छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा हारेपछि मुख्य प्रशिक्षक कुमार थापाद्वारा टिम छाडेको घोषणासहित पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईको संन्यास
राजु घिसिङ

काठमाडौँ — आफ्नो जमानाका उत्कृष्ट प्लेमेकर कुमार थापा प्रशिक्षकको सुरुआती करिअरमै नेपाली राष्ट्रिय महिला फुटबल टिम सम्हाल्दै ६ वर्षअघि सिलिगुढी पुगेका थिए । तर, चौथो साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै फर्कियो । नतिजाका हिसाबले त्यो संस्करण साफकै सबैभन्दा खराब हो नेपालका लागि । उनले ‘सेकेन्ड लाइफ’ पाए छैटौं साफमा । पहिलोपल्ट भारतलाई हराएर (सेमिफाइनलमा) नेपालले इतिहास रच्यो । विगतको उपलब्धि बराबरी पनि गर्‍यो । तर, पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्यमा फेरि चुक्यो ।

फाइनलको चोट र बिदाइ

दक्षिण एसियाली फुटबलमा अघिल्ला सबै उपाधि जितेको भारतको चुनौती समाप्त पारेर पनि ट्रफी कब्जा गर्न नसक्नु कति पीडादायी हुन्छ होला ? यो प्रश्न र फाइनलमा हारको कारण प्रशिक्षक र खेलाडीलाई सोध्न पनि गाह्रो लाग्छ । लगातार फाइनलमा हारेपछिको दुःख त खेलाडीभन्दा अरू बढी कसले पो महसुस गर्न सक्छ र ? त्यसैले यो छैटौं साफ महिला च्याम्पियनसिपअघि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले भनेका हुन सक्छन्, ‘नेपाललाई च्याम्पियन बनाउने सम्भावना होइन, च्याम्पियन बनाएरै छाड्छौं ।’

तर, दशरथ रंगशालामा १५ हजार बढी दर्शकसामु नेपाली टिम र प्रशिक्षक थापाको वाचा पूरा भएन, दसौंपल्ट फाइनल खेलेर पनि पहिलोपल्ट ट्रफी चुम्ने सपना अधुरै रह्यो । विगतमा भारत, म्यानमार र उज्वेकिस्तानविरुद्ध फाइनलमा चुकेको नेपाली टिम बंगलादेशसँग पनि हार्‍यो । नेपाली महिला टिम बंगलादेशविरुद्ध पहिलोपल्ट हारेको हो । छैटौं साफको फाइनलमा ३–१ ले हार्नुअघि नेपालले बंगलादेशविरुद्ध ६ खेल जितेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो ।

बंगलादेशी महिला टिमले पहिलो उपाधि जित्दा नेपालीका लागि भने ऐतिहासिक उपाधि प्रतीक्षा अझै लम्बिएको छ । आफ्नो दोस्रो मौकामा उपाधि नजिते पनि प्रशिक्षक थापाले टिम छाडेका छन् । उपाधि नजितेरै तीन खेलाडी (पुनम जर्घामगर, दीपा राई र इन्दिरा राई) ले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गर्दै करिअर टुंग्याएका छन् ।

प्रशिक्षक थापा पत्रकार सम्मेलनमा अलि भावुक बने, ‘मैले आजदेखि यो टिम छोड्छु । सफल भएन, ‘हायर एन्ड फायर’ हो । मैले जुन लक्ष्य लिएको थिएँ, पूरा गर्न सकिनँ । त्यो ठाउँमा बसेर अब काम छैन । आजदेखि (सोमबार) यो टिम छाड्छु । आजदेखि नै यो घोषणा मान्नुहोस् । आफू सफल नभए पनि यसलाई चुइँगमजस्तो तन्काउनु भएन, अरूलाई मौका दिनुपर्छ । स्थान खाली गरिदिनुपर्छ । सहर्षभन्दा पनि दुःखसाथ छोड्दै छु । अर्कोलाई छोड्न खुसी हुनुपर्छ । ठाउँ ओगटेर बस्नु राम्रो होइन र म बस्दा पनि बस्दिनँ ।’

साउन १० देखि टिम सम्हालेका उनले भने, ‘टिमको तयारी राम्रो थियो । एसियन गेम्सको तयारीमा भएको टिम लिएको हो । त्यसैले सात साताको समय साफका लागि पर्याप्त थियो । प्रशिक्षक परिवर्तन भयो होला तर मैले दिनुपर्ने सात हप्तामा दिएकै हो । मैले दिनुपर्ने ज्ञान दिएकै हो । अब अरूलाई मौका दिनुपर्छ ।’ उनको टिमले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । रश्मिकुमारी घिसिङको गोलमा सेमिफाइनलमा भारतविरुद्ध १–० को जित हात पारेको थियो, जुन साफमा छिमेकी प्रतिद्वन्द्वीमाथि पहिलो जित हो ।

सिलिगुढी साफका दौरान ६ खेलाडीलाई ‘डेब्यु’ दिएका उनले छैटौं साफमा नयाँ चार खेलाडी मैदानमा उतारे । चोटग्रस्त प्लेमेकर रेनुका नगरकोटेको स्थानमा ल्याइएको दीपा शाही प्रभावशाली देखिइन् । उनलाई टिम निर्माणमा डेंगीले पनि असर गर्‍यो । विंगर मन्जलीकुमारी योन्जन मैदानमा ओर्लनै पाइनन् । कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी भुटानविरुद्ध दुई गोल गरेपछि एकैपल्ट फाइनलको दोस्रो हाफमा फर्किइन् ।

‘चुकेको होइन, अवसर गुमाएको’

फाइनलमा के कमजोरी भयो, जसले नेपाललाई फेरि उपाधिविमुख बनायो ? प्रशिक्षक थापाले भने, ‘चुकेको होइन, हामीले उपयोग (अवसर) गर्न सकेन । सावित्रा र रश्मिले हानेको बल गोल हुन्थ्यो होला तर भइदिएन । भएको भए हामीले तीन गोल गर्थ्यौं, अग्रता नै लिने थियौं होला । अवसर (गोलका) हामीले पनि सिर्जना गरेको हो तर उसले (बंगलादेश) उपयोग गर्यो, हामीले गर्न सकेन । खास कुरा यति नै हो ।’ दोस्रो हाफमा रश्मिको ‘फ्रि–हेडर’ सावित्राको ‘खुला प्रहार’ मा बल पोस्टबाहिर गएको थियो । दुवै खेलाडीले पेनाल्टी क्षेत्रभित्र ‘अनमार्क’ रहेको अवस्थामा अवसर पाएको थियो ।

प्रीति राई र अमृता जैसीको प्रहार गोललाइनबाट क्लियर गर्नु, अनिता बस्नेतको फ्रि–किमा गोलकिपर रुपना चकमाले राम्रो बचाउ गर्नु पनि फाइनलको भाग्य बंगलादेशले खोस्नु जस्तै बन्यो । बंगलादेशको केही सुस्त डिफेन्स लाइनलाई बारम्बार उछिनेर पनि घरेलु टिम ‘फिनिसिङ’ मै चुक्यो ।

‘हामीले राम्रो चुनौती दिएको हो, गेम होल्ड गरेको हो,’ प्रशिक्षक थापाले भने, ‘बंगलादेशले सेमिफाइनल र भारतविरुद्ध खेलेजस्तो खेल्न (उत्कृष्ट प्रदर्शन) नसकेकै हो । हामीले गोल खाएर पनि गेममा वर्चस्व राखेको हो । तर, वर्चस्व राख्दाराख्दै पनि गोल खान पुग्यो । २–१ सम्म (पछाडि परेको अवस्था) ठीकै थियो । हामी दुई गोलसम्म आत्तिएको थिएन । ४५ मिनेट बाँकी थियो । तर, गोल गर्नै सकेनौं ।’ उनले साफको नयाँ च्याम्पियनबारे भने, ‘बंगलादेश युवा टिम हो । राम्रो टिम हो । यसैलाई अगाडि लैजाँदा अझै राम्रो हुन्छ ।’

‘आफ्नै गल्तीमा गोल’

आठ वर्षयता राष्ट्रिय टिममा नियमित रहेकी गोलकिपर एवम् नयाँ कप्तान एन्जिला तुम्बापो सुब्बाले भनिन्, ‘जित्ने लक्ष्य थियो, सफल हुन सकेनौं, हामी सबै निरास छौं । अर्कोपल्ट म खेल्छु कि खेल्दिनँ थाह छैन । खेल्न त सबैले राम्रो खेलेको हो तर सानो–सानो गल्तीले गर्दा नै गोल खाएको हो । आउँदो दिनमा राम्रो गरौंला ।’

नेपाली टिम साफ महिला च्याम्पियनसिपको फाइनलमा सन् २०१० (कक्सबजार), २०१२ (कोलम्बो), २०१४ (इस्लामावाद) र २०१९ (विराटनगर) मा भारतसँग हारेको थियो । सिलिगुढी (२०१६) मा अन्तिम चारमा भारतसँगै चुकेको थियो । दोस्रोपल्ट फाइनल खेल्दै बंगलादेश दक्षिण एसियाली च्याम्प्यिन भएको हो । उसको उदयबारे प्रशिक्षक थापाले भने, ‘भारतभन्दा बंगलादेश राम्रो देखियो । हाम्रो स्तर पनि त्यही हो । दुई टिमले फाइनल खेल्छ । अब फाइनल पुग्न पनि चुनौती छ । चुनौती सामना गर्नुपर्छ, भविष्यमा एन्फाले गर्छ होला ।’

प्रकाशित : आश्विन ४, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?