२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

च्याम्पियन–सपना फेरि अधुरै

फाइनल ३–१ ले जित्दै बंगलादेश बन्यो नयाा च्याम्पियन
नेपाल साफमा पाँचौंपल्ट उपविजेता
राजु घिसिङ

काठमाडौँ — दशरथ रंगशाला परिसरमा सोमबार बिहानैदेखि चहलपहल थियो । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट काट्नेको लस्कर ९ बजे सुरु भइसकेको थियो । केहीबेरमै भीआईपीतर्फको टिकट पाउन छाड्यो । दिउँसो ३ बजे लगभग टिकट बिक्री बन्द भयो । १५ हजार दर्शक क्षमताको रंगशालाको प्यारापिट ४ बजे भरिइसकेको थियो । यसबीच ठूलो वर्षा भयो । तर, ‘फुटबल फ्यानहरू’ झरीमै रंगशाला प्रवेश गर्न गेटमा लामबद्ध थिए । खेल सुरु हुने बेलासम्म गेटबाहिर रु. ३ सयको टिकटका लागि १ हजारसम्म तिर्न तयार दर्शक प्रशस्तै देखिए ।

च्याम्पियन–सपना फेरि अधुरै

फाइनलमा नेपाल र बंगलादेशको प्रतिस्पर्धा साँझ ५ बजे सुरु हुने तोकिएको थियो । त्यसअघि नै भरिएका प्यारापिटका दर्शक टिमको ‘वार्म–अप’ मै हुटिङ गरिरहेका थिए । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकको तथ्यांक १५ हजार ७ सय ३० रहेको भन्यो । तर, सिटअनुसार त के हिँड्ने खुट्किलासमेत खाली थिएनन् । झरी रोकिएको केहीबेरमै खेल सुरु भयो । तर, मैदान हिलाम्य भइसकेको थियो ।

‘नेपाल–नेपाल’ मात्रै होइन, घरेलु खेलाडीको उत्साह बढाउन दर्शकहरू कहिले ‘प्रीति–प्रीति’ त कहिले ‘साम्बा–साम्बा’ भन्दै हुटिङ गरिरहेका थिए । तर, यति धेरै दर्शक, घरेलु मैदानको साथ र खेलाडीको मिहिनेत नेपाली महिला टिमलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलोपल्ट च्याम्पियन बनाउन पर्याप्त भएन । बंगलादेश ३–१ को जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा पहिलोपल्ट च्याम्पियन भयो । नियमित स्ट्राइकर जाहान सोपना चोटका कारण खेल्न नसक्ने भएपछि मैदानमा प्रवेश गरेकी समसुनाहरले १४ औं मिनेटमै ‘भली’ प्रहार गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । अर्की स्ट्राइकर कृष्णरानी सरकारले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाइन् । अनिता बस्नेतले ७० औं मिनेटमा गोल फर्काउँदै नेपालको आशा कायम राखे पनि कृष्णरानीले ७७ औं मिनेटमा गरेको दोस्रो गोलले बंगलादेशले पहिलो उपाधि जित्यो ।

सुरुका दुई गोलमा नेपाली टिमको आफ्नै गल्ती पनि थियो । तेस्रो गोल काउन्टर अट्याकमा भयो । पहिलो हाफमा बंगलादेश हाबी भयो । दोस्रो हाफमा नेपालले सुधारिएको खेल पस्कियो । कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी (साम्बा) डेंगीमुक्त भएर मैदानमा फर्किइन् । मुख्य प्रशिक्षक कुमार थापाले अग्रपंक्तिमै अमिशा कार्की र रेखा पौडेललाई पनि मैदानमा पठाए । तर, भारतविरुद्ध निर्णायक गोल गरेकी रश्मिकुमारी घिसिङ र सावित्राले पेनाल्टी क्षेत्रमा पाएका सहज अवसरमा बल बाहिर हाने । हिलाम्य मैदानमा प्रीति राई, सरु लिम्बू, अनिता केसी र अनिता बस्नेत पनि चलेनन् । गोलका दुई अवसरमा स्वार्थी देखिए ।

पहिलो हाफमा प्रीति र अमृता जैसीको प्रहारलाई बंगलादेशी खेलाडीले ‘गोल–लाइन’ बाट क्लियर गरिदिए । दीपा शाहीको हेडरमा बल क्रसबारमा लागेर फर्कंदा नेपालले बराबरी गर्ने मौका गुमायो । पाहुना टिमका खेलाडीको तीव्र गतिलाई पनि रोक्न सकेनन् । गोलकिपर रूपना चकमाले केही उत्कृष्ट बचाउ गरिन् । बंगलादेशले तीन अवसर पायो र तीनैपल्ट गोल गर्‍यो । हिलाम्य मैदानमा स्वाभाविक खेल भएन । तर, प्रदर्शनमा बंगलादेश राम्रो रह्यो । फाइनलमा मात्रै होइन, यो साफमा समग्र प्रदर्शनका आधारमा बंगलादेश नै उपाधिको हकदार थियो ।

‘मैले नेपाली फुटबल फ्यानसँग जुन वाचा गरेको थिएँ, जुन लक्ष्य राखेको थिएँ, त्यो पूरा गर्न सकिनँ । उनीहरूसँग क्षमा माग्न चाहन्छु,’ मुख्य प्रशिक्षक थापाले भने, ‘गर्न सक्ने सबै गरेको, खेलाउनुपर्ने सबै खेलाएको हो । तर, उपाधि बंगलादेशले जित्यो । पाएका अवसर उपयोग गर्न नसक्दा ऐतिहासिक उपाधि जित्न सकेनौं ।’ उनले फाइनलमा हारेसँगै मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेको पनि बताए । नेपाललाई पहिलोपल्ट पराजित गरेपछि बंगलादेशी टिमका मुख्य प्रशिक्षक गोलाम रोब्बानी चोतोनले मिहिनेत गरेर राम्रो खेलेर दक्षिण एसियाली च्याम्पियन भएकामा खुसी साटे । ‘यति धेरै दर्शकबीच सुरुमै गोल गर्‍यौं भने नेपाली टिम दबाबमा पर्छ भन्ने थाहा थियो । त्यही भयो,’ उनले भने ।

सन् २०१० देखि टिम सम्हाल्दै आएका उनले ६ वर्षयता उमेर समूहमा सफलता हासिल गर्दै बनेको टिमले साफमा सफलता दिलाएको बताए । बंगलादेशले फेयर–प्लेसहित सबै अवार्ड लग्यो । सबै साफ खेलेकी कप्तान सविना खातुन सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता (८ गोल), रूपना उत्कृष्ट गोलकिपर र कृष्णरानी फाइनलकी उत्कृष्ट खेलाडी चुनिए ।

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली महिला टिमले १२ वर्षयता खेलेको यो १० औं फाइनल हो । पहिलो उपाधिको प्रतीक्षा अझै लम्बिएको छ । तीन वर्षअघि विराटनगरमा भएको पाँचौं साफको फाइनलमा नेपाल ३–१ ले भारतसँग हारेको थियो । अघिल्ला पाँचै साफको उपाधि विजेता भारतलाई योपल्ट सेमिफाइनलमा पराजित गरेकाले नेपालले बंगलादेशलाई फाइनलमा पन्छाउने अपेक्षा गरिएको थियो । तर, रंगशालामा आशातित नतिजा सम्भव भएन । भारतको अपराजित यात्रालाई समूह चरणमा ३–० ले पूर्णविराम लगाएको टिम बंगलादेशले इतिहास रच्दै ट्रफी चुम्यो । नेपाल साफको फाइनलमा पाँचौंपल्ट चुक्यो ।

पदक वितरण समारोहमा नेपाली खेलाडी र प्रशिक्षक निकै भावुक देखिए । उपाधि जित्ने सपना अधुरै छाडेर पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिए ।

प्रकाशित : आश्विन ४, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?