नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला च्याम्पियन

हिमेश

काठमाडौँ — बंगलादेशले नेपाललाई ३-१ ले स्तब्ध पार्दै सोमबार साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जितेको छ। दर्शकले भरिएको दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल गरिन्। 

बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित रह्यो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो ।

खेलको १४औं मिनेटमा साम सुन्नहारले उत्कृष्ट गोल गरिन । सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेको चौथो मिनेटमा मोनिका चक्माको पासमा 'फ्लिक' गर्दै उनले गोल गरेकी हुन् ।

खेलको ३५औं मिनेटमा अनिता केसीको फ्रिकिकमा बंगलादेशी गोलरक्षक रुप्मा चक्माले उत्कृष्ट बचाउ गरिन् । त्यसलगत्तै ४१औं मिनेटमा कृष्णरानी सरकारले दोस्रो गोल थपिन । कप्तान सबिना खातुनले त्यसमा पास उपलब्ध गराइन् ।

नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् । यसबीच सरकारले ७७औं मिनेटमा आफ्नो दोस्रो गोल थपिन्।

बंगलादेशले नेपाललाई हराएको यो पहिलो पल्ट हो । यसअघि दुई टिमबीचको आठ खेलमा नेपाल अपराजित रहेको थियो । पूरा प्रतियोगितामा अपराजित बंगलादेशले एक गोल मात्र खायो र 'वास्तविक विजेता' रह्यो ।

प्रकाशित : आश्विन ३, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्

भारतलाई हराउँदै नेपाल फाइनलमा

हिमेश

काठमाडौँ — साफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ।

भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता हो ।

साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् ।

यस अगाडि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो । त्यसमा सबिना खातुनले ह्याट्रिक गरिन् । बंगलादेश फाइनल पुगेको यो दोस्रो पल्ट मात्र हो । यस अघि बांग्लादेशले सन् २०१६ को फाइनल खेलेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७९ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×