२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

उपाधि होडमा को बलियो ?

जसले मिडफिल्डमा खेल नियन्त्रण गर्न सक्छ, ट्रफी चुम्ने हक उसैको बढी हुन्छ
राजु घिसिङ

काठमाडौँ — नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा ६ वर्षपछि टिम सम्हाल्न फर्किएका हुन् । उनी यसलाई ‘सेकेन्ड लाइफ’ मान्छन् । उनले टिममा जे उपलब्ध छ, त्यसैलाई निखार्ने काम गरेका छन्, जोस–जाँगर भरेका छन् । युवा खेलाडीलई क्षमताअनुसार गर्न सक्ने बनाएका छन् । उनले प्रतियोगिताअघि भनेका थिए– ‘हामी च्याम्पियन बन्ने सम्भावना होइन, च्याम्पियन बनेरै छोड्छौं ।’ उनी यो लक्ष्यको एक कदम नजिक आइपुगेका छन् ।

उपाधि होडमा को बलियो ?

‘नेपाल ल्याएको ट्रफीलाई यहीं राख्छौं, कम्तीमा दुई वर्ष लान दिने छैनौं,’ प्रशिक्षक थापाले भने, ‘साफमा पहिलोपल्ट भारतलाई हराएर इतिहास रच्यौं । अब उपाधि जितेर अर्को इतिहास कोर्ने छौं ।’ उनका समकक्षी गोलाम रब्बानी चोतोनको पनि आफ्नै दाबी छ, ‘सात वर्षयता उमेर समूहमा सँगै खेल्दै बनेको टिम हो । अब उपाधि जित्न तयार छौं । पहिलोपल्ट च्याम्पियन बन्न चाहन्छौं ।’ उनी आफैं सन् २००९ देखि बंगलादेशी राष्ट्रिय महिला टिम निर्माणमा सक्रिय छन् । ११ औं साग २०१० मा सहायक प्रशिक्षक रहेका उनी पहिलो साफ २०१० देखि मुख्य प्रशिक्षकमा निरन्तर छन् । कुनै बेला नेपालले सहजै पन्छाउने गरेको बंगलादेश चोतोनकै प्रशिक्षणमा फाइनलमा चुनौती दिने टिमका रूपमा परिणत भएको हो ।

स्ट्राइकरका रूपमा करिअर थालेकी बंगलादेशी कप्तान सविना खातुनले आक्रामक मिडफिल्डरको भूमिकामा खेलेर पनि यो साफमा दुई ह्याट्रिकसहित सर्वाधिक आठ गोल गरेकी छन् । उनी बंगलादेशकै कीर्तिमान गोलकर्ता (३२ गोल) हुन् । उनीभन्दा अगाडि खेलिरहेका जाहान सोपना र कृष्णरानी सरकारलाई रोक्ने चुनौती गीता राना, पुनम जर्घामगर, अमृता जैसी र हीराकुमारी भुजेलको डिफेन्स लाइनमा छ । सोपनाले चार र कृष्णरानीले दुई गोल गरेका छन् । सेमिफाइनलमा चोट बोकेकी सोपना पहिलो रोजाइमै खेल्ने अपेक्षा गरिएको छ । नेपाललाई उपाधि दिलाउने हो भने अग्रपंक्तिका रश्मि र प्रीतिले अखी खातुन र मसुरा परविनको सेन्टर–ब्याकलाई पन्छाउनु अनिवार्य छ ।

सेन्ट्रल मिडफिल्डमा दुवै देशका खेलाडी प्रभावशाली देखिएका छन् । नियमित कप्तान रेनुका नगरकोटेको अनुपस्थितिमा यसैपालि टिममा अवसर पाएकी दीपा शाही र सरू लिम्बूको प्रदर्शन राम्रै भइरहेको छ । पाहुना टिमका मोनिका चकमा र मारिया मान्डा पनि प्रभावशाली देखिएका छन् । खासमा जसले मिडफिल्डमा खेल नियन्त्रण गर्न सक्छ, ट्रफी चुम्ने हक उसैको बढी हुन्छ । त्यसैले मोनिकालाई रोक्दै दीपाले नेपाललाई उपाधि दिलाउन सक्छिन् । प्रशिक्षक थापाले सब्स्टिच्युटका रूपमा ल्याएका खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् ।

फाइनल पुग्दासम्म नेपाल र बंगलादेशले गोल बेहोरेका छैनन् । नयाँ कप्तान एन्जिलाका लागि ठूला टिमविरुद्ध र महत्त्वपूर्ण खेलमा गर्दै आएको कमजोर प्रदर्शनलाई सच्याउने अवसर पनि यही फाइनल हो । दशरथ रंगशालामा हजारौं दर्शक र घरेलु मैदानको साथ पनि नेपाली टिमलाई हुनेछ । त्यसैले स–साना गल्ती गर्ने आफ्नो कमजोरी सच्याएर गोलकिपर रूपना चकमालाई पन्छाउँदै गोल गरेर पहिलो उपाधि जित्न महिला टिम आतुर छ । त्यसका लागि नेपालले बंगलादेशविरुद्धको अपराजित भेटलाई कायम राख्नुपर्छ । यी दुईको आठ भेटमा नेपालले ६ जित निकाल्दै २ बराबरी खेलेको छ । उपाधिको अनुभवसहित नेपालका तीन खेलाडी अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिन चाहन्छन् ।

प्रकाशित : आश्विन ३, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?