२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
इसुजु चितवन गोल्ड कप फुटबल

फाइनलमा आर्मी र एपीएफ भिड्ने

रमेशकुमार पौडेल

चितवन — जिल्लामा सर्वाधिक राशिको नगद पुरस्कार रहेको इसुजु चितवन गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनलमा आर्मी र एपीएफ भिड्ने

नारायणगढ क्याम्पाचौरमा जारी प्रतियोगिताको आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले अफ्रिकन टोली एभिनर फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

वर्षाका कारण शनिबार रोकिएर आइतबार दिउँसो भएको खेलमा आर्मीले १८ औं मिनेटमै अग्रता लियो । आर्मीका कप्तान जर्ज प्रिन्स कार्कीले उक्त गोल गरेका थिए । विवेक बस्नेतको स्थानमा मध्यान्तरअघि नै मैदान छिरेका आर्मीका सन्तोष केसीले दोस्रो गोल गरेका हुन् । उनले मध्यान्तरपछि खेलको ७६ औं मिनेटमा गोल गरेर आर्मीको जित निश्चित बनाएका हुन् । एभिनरले केही राम्रो मौका पाए पनि गोल गर्न भने चुक्यो ।

आर्मीका डिफेन्डर विमल पाण्डे म्यान अफ दिन म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । उपाधिका लागि सोमबार आर्मीसँग प्रतिस्पर्धा गर्ने एपीएफले शुक्रबार मनाङ फुटबल क्लबलाई पारजित गरेको थियो ।

प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पाउने छ । त्यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडी घोषित गरेर पुरस्कृत गरिने आयोजकहरूले बताएका छन् ।

भरतपुर फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो । उपाधि विजेताले पाउने पुरस्कार राशि चितवनमा अहिलेसम्मकै सर्वाधिक राशिको हो ।

प्रकाशित : आश्विन २, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?