१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिटी र हल्यान्डको दबदबा

एएफपी

लन्डन — ज्याक ग्रेलिसले सिजनको पहिलो गोल गर्नुका साथै एर्लिङ हल्यान्डले कीर्तिमानी गोल यात्रा कायम राख्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार १० खेलाडीमा समेटिएको उल्भ्सलाई ३–० ले पराजित गर्‍यो ।

सिटी र हल्यान्डको दबदबा

मोलिनेक्समा पेप ग्वार्डिओलाको टोलीलाई खेलमा अग्रता लिन ५६ सेकेन्डमात्र लागेको थियो । गत सिजनमा एस्टन भिल्लाबाट आएयता संघर्षरत ग्रेलिसले १ मिनेट पनि नबित्दै सिटीको खाता खोलेका थिए । २२ वर्षे हल्यान्डको कहानी ग्रेलिसको भन्दा फरक छ । बोरुसिया डर्टमन्डबाट ५ करोड ८० लाख डलरमा यसै सिजन आएका हल्यान्डले सबैखाले प्रतियोगिताको १० खेलमा १४ गोल गरिसकेका छन् । प्रिमियर लिगमा ७ गोल गरिसकेका हल्यान्डले सन् २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएयता ९९ खेलमा १ सय गोल गरिसकेका छन् ।

ग्रेलिसको पेटमा किक बजारेपछि नथान कोलिन्सले ३३ औं मिनेटमा रातो कार्ड पाउँदा उल्भ्सको खेलमा फर्किने सबै सम्भावना समाप्त भइसकेको थियो । फिल फोडेनले ६९ औं मिनेटमा तेस्रो गोल गरे । फोडेन र ग्रेलिसको गोलमा कप्तान केभिन डी ब्रुयनले सहयोगी भूमिका खेले ।

अपराजित च्याम्पियन सिटीले आर्सनललाई २ अंकलाई पछाडि पार्दै शीर्षस्थानमा उक्लेको छ । सिटीले ७ खेलमा ५ जितसहित १७ अंक जोड्दै ६ वर्षमा पाँचौं पटक प्रिमियर लिग जित्ने बलियो संकेत दिएको छ । आइतबार ब्रेन्टफोर्डसँग खेल्ने आर्सनलको ६ खेलमा १५ अंक छ ।

शुक्रबार एस्टन भिल्लाले साउथ ह्याम्पटनलाई १–० ले पराजित गरी व्यवस्थापक स्टेभन जेरार्डमाथिको दबाब कम गरेको थियो ।

प्रकाशित : आश्विन २, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?