कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘भर्सटाइल’ रश्मि

साफ च्याम्पियनसिपमा भारतविरूद्ध गोल गरेकी रश्मिकुमारी घिसिङ सबै भूमिकामा उत्तिकै राम्रो खेल्न सक्छिन्
राजु घिसिङ

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापालाई रश्मिकुमारी घिसिङले भारतविरुद्ध गरेको गोल निकै उत्कृष्ट लागेको छ । जसलाई उनी बारम्बार दोहोर्‍याएर हेरिरहेका छन् । पहिलो हाफको इन्ज्युरी समयमा रश्मिले गरेको गोलमा भारतमाथि १–० को ऐतिहासिक जित रच्दै नेपालले साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

‘भर्सटाइल’ रश्मि

साफ इतिहासमा भारतविरुद्ध पहिलो जित पाएको भोलिपल्ट शनिबार प्रशिक्षक थापाले दशरथ रंगशालामा रश्मिले गरेको गोलबारे भने, ‘त्यो गोल किपरले डाइभ गर्दागर्दै पनि भ्याएन । प्रीति (राई) को पास एकदमै उत्कृष्ट थियो । किनभने अगाडि क्रस गरेको भए किपरलाई बल जान्थ्यो र रश्मिले दौडन भ्याउने थिइनन् । तर, प्रीतिले ‘कट–ब्याक’ गरेजस्तै बल दिइन् । त्यसलाई रश्मिले ‘फस्ट टच’ मा बल रोकिन्, सेकेन्ड टचमा मिलाइन् र थर्ड टचमा टर्न (घुमेर) बल हानिन् । इंग्ल्यान्डको लिग खेलिसकेकी किपर (अदिती चौहान) ले थाहा पाएपछि सही दिशामै डाइभ गरेर पनि रोक्न नसक्नु भनेको निकै उत्कृष्ट गोल हो । त्यो गोलको भिडियो हेरेको हेर्‍यै छु । एक सेकेन्ड ढिला भएको भए गोल नहुन सक्थ्यो । डिफेन्स अगाडि हुँदाहुँदै हानेको गोल सजिलो थिएन । दुई–तीनपल्टको अवसरमा त्यो एक गोल भयो, हामीले जित्यौं । राम्रो टिमसँग धेरै अवसर पाउँदैन ।’

पेनाल्टी क्षेत्रमा रश्मि बल रोकेर एक फन्को घुम्दा भारतका दुई डिफेन्डर पन्छिसकेका थिए । अगाडि थप तीन खेलाडी र गोलकिपर थिए । तर, उनीहरूले रश्मिको उत्कृष्ट प्रहार रोक्न सकेनन् । त्यही गोलमा नेपालले साफ महिला च्याम्पियनसिप पाँच संस्करणमा (चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनल) भारतविरुद्ध बेहोरेको हारको बदला काठमाडौंमा आएर लियो ।

चन्द्रपुर, रौतहटकी १९ वर्षीया रश्मि आफैंलाई त्यो गोल कस्तो लागेको छ त ? भन्छिन्, ‘प्रतिस्पर्धीहरू (भारतीय खेलाडी) आइरहेका थिए । मैले हतार गरेर बल दिन खोजेकी थिएँ । तर, प्रतिद्वन्द्वी एकदम तीव्र गतिमा हुत्तिएर आइरहेको देखें । त्यसैले बल रोकें । उनीहरू झुक्किए र मैले ‘सेकेन्ड बार’ च्याप्दै बल प्रहार गरें ।’

उक्त प्रहारमा गोल हुन्छ भन्नेमा ढुक्क थियो त ? उनले भनिन्, ‘सुरुमा प्रीतिले दिएको पासमा त्यस्तो थिएन । टर्न गरेर बल हान्दा चाहिँ गोल हुन्छ भन्नेमा एकदमै ढुक्क थिएँ । आक्कलझुक्कल हानेको भए त त्यो गोल हुन्नथ्यो । यस्तो गोल पहिला पनि हानेकी (घरेलु प्रतियोगितामा) छु । डिफेन्स एकदमै हुत्तिएर आउँदा बल टर्न गरेर आनन्दसँग हान्न पाइन्छ, भारतविरुद्ध पनि त्यस्तै गरेकी हुँ । गोल भयो । हामीले जित्यौं । ड्रेसिङ रुममा पुगेपछि हामी सबैको आँखाबाट खुसीको आँसु बग्यो ।’

तस्बिरहरू : हेमन्त श्रेष्ठ

ठीक एक वर्षअघि दशरथ रंगशालामै मैत्रीपूर्ण खेमला बंगलादेशविरुद्ध २–१ को जितमा ‘डेब्यु’ गरेकी रश्मिको ७ खेलमा दुई गोल गरेकी छन् । उनले पहिलो गोल यही साफमा समूह चरणमा श्रीलंकाविरुद्ध ६–० को जितमा गरेकी थिइन् । उक्त हेडर गोलबारे उनले भनिन्, ‘हेडिङ गरेर सहज गोल गरेकी थिएँ । ड्यासिङ–पुसिङ थिएन, रोक्न कोही आएको थिएन, आनन्दसँग हेरेर बल हानेकी थिएँ ।’ त्यही खेलमा पाएका थप अवसर गुमाउँदा उनले सेमिफाइनलमा भारतविरुद्ध त्यस्तो अवसर पाउँदा गोल गर्ने आफैंसँग वाचा गरेकी थिइन् ।

नेपालको परम्परागत प्रतिद्वन्द्वी भारतविरुद्ध रश्मिले दोस्रो गोलको अवसर पनि पाएकी थिइन् । भन्छिन्, ‘दीपा (शाही) ले दिएको बल एकदमै राम्रो थियो । त्यसमा पनि टर्न गरेर हान्न खोज्दा हिलोमा खुट्टा गाडिएर सुट हान्नै सकिनँ । अहिले पनि त्यसको भिडियो हेर्छु, नराम्रो लाग्छ । तर, मैले दुई अवसरमा एउटा उपयोग गरें, एकदम खुसी लाग्यो ।’

त्रिभुवन आर्मी क्लबबाट दुई वर्षयता घरेलु प्रतियोगिता खेलिरहेकी रश्मि एसियन गेम्सका लागि नेपाली टिमको छनोटमा झन्डै प्रारम्भिक चरणबाटै बाहिरिएकी थिइन् । खुट्टा फ्याक्चर भएपछि प्लास्टर गर्नुपर्‍यो । यो साफका लागि कुमार थापा प्रशिक्षक नियुक्त भएपछि उनले अवसर पाइन् । ४ केजी तौल पनि घटाएर करिअरकै सबैभन्दा राम्रो लयमा रहेकी उनी भन्छिन्, ‘मैले अहिलेसम्मकै राम्रो खेल भारतविरुद्ध देखाएँ । एकदम दौडेर मिहिनेत गरेर खेलें । अरू खेलमा मान्छेले मलाई अल्छी जस्तो पनि देखे होलान् तर मैले महत्त्वपूर्ण खेलमा आफूलाई प्रमाणित गरिदिएकी छु । एकदमै खुसी लाग्यो ।’

भारतविरुद्ध पहिलोपल्ट मैदानमा प्रतिस्पर्धा गरेकी उनले भनिन्, ‘इन्डिया यस्तो, उस्तो, डिफेन्स धेरै राम्रो भनिन्थ्यो । तर, म त्यति छिटो र इन्डिया पनि यस्तो रहेछ भन्ने सोचेकी थिइनँ । स्विटीजस्ता डिफेन्डरले पनि त्यो गतिमा तान्न नसक्ने रहेछ । सिनियर दिदी नर्भस हुनुभएको थियो, हामी सक्छौं, सबैले मिहिनेत गरेर इतिहास रच्नुपर्छ भनेर उहाँलाई सम्झाएर मैदानमा लग्यौं । हामीले आफ्नो खेल मज्जाले खेल्यौं भने हुँदोरहेछ, जित्ने रहेछ । मैले इन्डियासँग खेल्दा पहिलो खेलमै गोल हान्ने चाहना थियो, त्यो पूरा भयो । टिमले पनि जित्यो ।’ उनले साफ यू–१९ को सेमिफाइनलमा पनि भारतविरुद्ध गोल गरेकी थिइन् ।

उनले बंगलादेशविरुद्ध सोमबार हुने फाइनलबारे भनिन्, ‘हामीले बंगलादेशविरुद्ध पहिला जितिरहेको हो तर अहिले बंगलादेश एकदम राम्रो भइसक्यो । अब हामीले पहिला जितेको छ भनेर खेल्नुभएन । एकदम मिहिनेत गरेर खेल्नुपर्छ । इतिहास रच्ने अवसर गुमाउनु हुँदैन । उपाधि जित्नेमा विश्वास छ, त्यहीअनुसार मिहिनेत गर्नेछौं ।’

उनको कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारीसँगै नेपालको अग्रपंक्ति सम्हाल्ने सपना छ । सावित्रालाई डेंगी भएपछि उनलाई त्यो मौका जुरेको छैन । उनी भुटानविरुद्ध ४–० को जितमा सावित्राकै स्थानमा मैदानमा छिरेकी थिइन् ।

‘मिहिनेती खेलाडी’

‘उनलाई टिममा त्यत्तिकै छनोट गरिएको होइन, खेलाइएको होइन,’ प्रशिक्षक थापाले रश्मिबारे भने, ‘मैले सात हप्ता टिम हेर्दा उनले आफ्नो क्षमता ट्रेनिङमा साबित गरिन् । एकदमै मिहिनेत गरिन् । शारीरिक रूपमा बलियो र अग्ली छिन् । केही ढिला भए पनि उनले बल होल्ड गर्ने, बल खेलाउँदै अवसर सिर्जना गर्ने, साथीलाई मिलाइदिने गर्छिन् । माथिदेखि तलसम्मै खेल्छिन्, इफोर्ट धेरै लाउँछिन् । उनले यो साफको दोस्रो खेलमै गोल गरिन् । सेमिफाइनलको ऐतिहासिक गोलको त बयानै गर्न सकिँदैन । यो सबै उनको मिहिनेतले आएको हो ।’

‘केही महिनाअघि मेरो खुट्टामा प्लास्टर नै थियो,’ आफैंलाई ‘फिनिसिङ’ मा राम्रो मान्ने रश्मि भन्छिन्, ‘मोटाएकी थिएँ, आफैंलाई थाहा छ । अरू स्ट्राइकरहरू तीव्र गतिका छन् । म यति ढिला हुँदाहुँदै पनि कोचले विश्वास गरेर मलाई खेलाउनुभयो । कोचको विश्वास जित्न सकेकामा धेरै खुसी लागेको छ ।’

५ फिट ५ इन्च अग्ली उनी चन्द्रपुरमा फुटबल खेल्न सुरु गर्दा डिफेन्समा खेल्थिन् । उनलाई चन्द्र गुरुङले अगाडि सारेर स्ट्राइकर बनाए । राष्ट्रिय लगमा आर्मीको लागि आक्रामक मिडफिल्डरको भूमिमा खेल्छिन् । मिडफिल्डमा खेलेर पनि गत वर्ष १८ गोल र यसपालि ९ गोल (आधा लिग बाँकी) गरेकी छन् । उनी खेल्ने मौका जहाँ मिल्छ, त्यही पोजिसनमा खेल्न चाहन्छिन् ।

प्रकाशित : आश्विन २, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?