कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एक विद्रोही प्रशिक्षक

अल्मुताइरीले नेपाली फुटबलका बेथिति पनि चिर्ने प्रयास नगरेका होइनन्
हिमेश

काठमाडौँ — ‘ए ए’ । अर्थात् अब्दुल्लाह अल्मुताइरी । जत्तिले उनीसँग नजिकले संगत गर्न पाए, सबैले मायाले छोटकरीमा ‘ए ए’ नै भन्छन् । हावाहुरीजसरी उनी नेपाल आए । तहल्का मच्चाए । तहल्का के र ? उपद्रो नै मच्चाए । एक प्रकारले फुस्स हराए । भर्खरै उनले फेरि एकपल्ट नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । सबैले सुन्ने गरेर सायद तेस्रोपल्ट । एक दुई जनाले देख्ने गरेर त धेरैपल्ट । यसपल्टको राजीनामाले धेरै हल्ला भने पाएन ।

एक विद्रोही प्रशिक्षक

विश्वास गरौं, अब चाहिँ उनी फेरि काठमाडौं आउने छैनन् । र, फेरि नेपाली राष्ट्रिय टिमको योजना प्रस्तुत गर्ने छैनन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप २०२१ (पुरुष) मा बंगलादेशलाई बराबरीमा रोकेयता नेपाल फाइनल पुगेको थियो । यसअघि नेपाल कहिल्यै पनि फाइनल पुगेको थिएन, त्यो खास प्रतियोगितामा । त्यतिबेला पुग्यो । यो वास्तवमै ऐतिहासिक क्षण थियो । नेपाली फुटबललाई मन पराउनका लागि यो गर्व गर्न लायक क्षण थियो ।

जस त अल्मुताइरीले पनि पाउनुपर्ने थियो । तर, उनले नै सबै मज्जा किरकिर पारिदिए । खेल सकेर सायद नेपाली खेलाडीको पसिना सुकेको पनि थिएन । के के न भएजस्तो घोषणा गरिहाले, ‘अब म नेपाल फर्कने छैन ।’ एउटा राम्रो समाचार बनाउने अवसर थियो, त्यसलाई उनको राजीनामाले ओझेलमा पारिदियो । उनले साह्रै बैगुनी काम गरेका थिए । यत्तिको खराब काम नेपाली फुटबल इतिहासमै कसैले गरेको थियो होला । तर, त्यसपछि पनि उनी नेपाल फर्के ।

त्यसैले अहिले पनि उनको विश्वास गर्न गाह्रो छ । अब भने साँच्चै विश्वास गरौं र एक पूर्वप्रशिक्षकका रूपमा उनको चर्चा गरौं । अल्मुताइरी राम्रा थिए । यस्तो धारणा राख्ने पनि छन् । अल्मुताइरी राम्रा थिएनन् । यस्तो भन्ने पनि उत्तिकै छन् । हो चाहिँ के त ? खासमा उनको व्यक्तित्व साह्रै पेचिलो छ । त्यसैले उनीबारे के भन्ने र के नभन्ने ? त्यो नै भन्न गाह्रो छ । उनी पक्कै फुटबलका ‘किरा’ थिए । फुटबलको ज्ञानमा उनलाई महारथी नै प्राप्त थियो ।

उनकै भाषामा उनी फुटबलका ठूलै पागल थिए । पढे लेखेकै कुरा गर्दा नेपाली फुटबलले उनी जत्तिको प्रशिक्षक पहिलोपल्ट पाएको थियो । उनी दिनरात फुटबलबारे सोच्थे । विश्वास नहुन सक्छ, उनलाई फुटबल भनेपछि निदाउन पनि आवश्यक थिएन । त्यसैले अधिकांश समय सन्चो नभएजस्तो पनि देखिए । यस्तो देखिनुको कारण अत्यधिक धूमपान, कफी र अनिदो नै थियो । धूमपान गर्नै नहुने मान्छे थिए, तर क्षण–क्षणमा सल्काइरहन्थे, स्वास्थ्यलाई बेपरवाह गर्थे ।

मनमा नानाथरीका कुरा खेलाइरहनुपर्ने बानी थियो । आफू चारैतर्फबाट षड्यन्त्रले घेरिएको मान्थे । त्यसैले सधैं कान ठाडो पारिरहन्थे । मनमा फुत्त के कुरा आयो, सामाजिक सञ्जालमा लेखिहाल्थे । आम फुटबलप्रेमीको वाहवाह लुट्थे । अन्तर्राष्ट्रिय फुटबलमा उनको सम्बन्ध राम्रैसँग बाक्लो थियो, त्यसैले कतै कहीं फोन गरेको भरमै ठुल्ठूला काम गर्न सक्थे । एकपल्ट कोही खेलाडी मन पर्नुपर्छ, उनका लागि सबथोक गर्थे ।

ती खेलाडीका लागि हद पार गरेर काम गर्थे । आफूलाई मनपरेन भने ती उनका लागि शत्रु नै भए । हात धोएर तिनका पछि लाग्थे । उनमा जति धेरै गुण थियो, कमजोरी उत्तिकै थियो । पछिल्लोपल्ट राजीनामा दिएको घोषणा गर्दा उनले भने जस्तै, अल्मुताइरीको नेपाल यात्रामा खुसी, उत्साहमात्र होइन, दुःख र पीडा पनि थियो । ठ्याक्कै ५ सय २५ दिन उनले नेपाली राष्ट्रिय टिम सम्हाल्दा के–के मात्र गरेनन् । सबैभन्दा पहिले त उनले एन्फाका तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ (हाल अध्यक्ष) सँग रिसइबी नै साधे ।

कुनै समय आफूलाई प्रिय रहेका खेलाडीलाई बन्द प्रशिक्षणबाटै हटाए । खेलाडीलाई मिडियासँग बोल्न प्रतिबन्ध नै लगाए । खेलाडी सबै यसबीच घनघोर चुपचाप रहे । उनले के गरे र के गरेनन् भन्ने सूची बनाउँदा त्यो लामै हुन्छ । मुख्य प्रशिक्षक भएर अल्मुताइरीले नेपाली फुटबलमा मसला नै मसला थपे । समाचारका लागि खुराकै खुराक दिए । मैदानकै कुरा गर्दा उनी के आए, प्रतिष्ठित देशहरूविरुद्ध खेल्ने मौका जुराए ।

फाइल तस्बिरहरू

नयाँ नयाँ अनुहारलाई मौका दिए । साफ च्याम्पियनसिपको फाइनल यात्रा अल्मुताइरीको सबैभन्दा ठूलो उपलब्धि थियो नै । अब उनी नेपाल नआउने नै भएपछि भन्नैपर्छ, अल्मुताइरीलाई मन पराउन सकिन्छ, मन नपराउन पनि सकिन्छ, तर उनलाई बेवास्ता भने गर्न सकिन्न । उनले खासमा नेपाली फुटबलमा रहेको त्यस्तो बेकम्मा सोच भत्काउन खोजे, जुन यसअघिका प्रशिक्षकले गरेकै थिएनन् । त्यसैले उनी विद्रोही प्रशिक्षक थिए ।

प्रशिक्षक र प्रशिक्षण जस्ता नितान्त प्राविधिक काममा नेपाली फुटबल नेतृत्वले गर्ने हस्तक्षेप उनले स्वीकारेनन् । तिनका कुरै पटक्कै सुनेनन् । नेपाली फुटबलमा एकपल्ट के छिर्ने अवसर पाए, त्यसमा बेथिति नै बेथिति देखे । त्यसविरुद्ध प्रतिक्रिया दिन खोजे । केही प्रशिक्षक एन्फा नेतृत्वको कठपुतलीजस्तै हुन्थे । अल्मुताइरी त्यसको ठ्याक्कै उल्टो भइदिए । एउटा देशको राष्ट्रिय टिम कसरी चलाउनुपर्थ्यो, त्यसमा नेपाली फुटबलले केही सुरसार नै कसेको थिएन ।

त्यसमा उनको बाक्लै विमति थियो । यथास्थितिमै रमाउन खोज्ने नेपाली फुटबलको बानी छ, त्यसलाई सम्झाउने प्रयास गरे । नेपाली फुटबल बाहिरबाट जे देखिन्छ, त्यो मात्र थिएन । नदेखिने पाटो उत्तिकै छन् । यो तथ्य बुझ्ने र त्यसैबारे कुरै गरे । त्यसैले पनि उनी नेपाली फुटबलको राजनीतिमा लाग्नेका लागि बिझाउने मान्छे भइदिए । खेलाडीसँग कुरा नमिल्दा उनी भन्थे, सबै मन नमिलेको मात्र थिएन । केही खास–खास खेलाडी आफू मिल्थे अनि आफूले चाहे जस्तो टिम हाँक्न खोज्थे ।

तर, अल्मुताइरीले कसम खाएका थिए, खेलाडीले के गरे र के गरेनन्, कहिल्यै बोल्ने छैन भनेर । यी सब गर्दैगर्दा उनी आफैं फुटबल राजनीतिका खेलाडी पनि बने । तय छ, नेपाली फुटबलले उनलाई बिर्सने छैन । मात्र कसरी सम्झने भन्ने हो । अल्मुताइरीमा पक्कै केही थियो, त्यसैले त यस्तो गहिरो छाप रह्यो । मुख्य कुरा, उनले आफ्नो नामको छोटकरी रूपजस्तै सबथोकमा ‘ए ए’ मात्र भनेनन्, त्यसविरुद्ध आफ्नै पाराले प्रतिक्रिया पनि दिन खोजे । फरक यहीं हो ।

प्रकाशित : भाद्र ३१, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?