फितलो व्यवस्थापनमा भदौरे क्रिकेट

विनोद पाण्डे

काठमाडौँ — पुसमा मात्र हो नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप (पीएम) ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता जितेको । त्यसअघिका पीएम कपका चारै संस्करण एकदिवसीय संरचनामा भएका थिए । नेपाल विश्वकप छनोट खेल्न ओमान जाँदै थियो, त्यसैले त्यतिखेर पीएम कपको संरचना तत्काल परिवर्तन गरेर ट्वान्टी–२० बनाइएको थियो ।

फितलो व्यवस्थापनमा भदौरे क्रिकेट

किशोर महतोले कसिलो बलिङ गरेपछि एपीएफले फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । प्लेयर अफ द सिरिज आसिफ शेखको ब्याट निकै आक्रामक बनेकाले एपीएफलाई उपाधि जित्न सहज भएको थियो ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन काठमाडौंमा पुरुष क्रिकेटबाट भएको थियो । दुई सातापछि हुने भनिएको नेपाल टी–२० लिगसँग जुधेका कारण पुरुष क्रिकेट तोकिएको समयभन्दा एक महिनाअगाडि पोखराबाट सारेर काठमाडौं ल्याइएको थियो, त्यो पनि भदौ महिनामा ।

किशोर र आसिफले कुनै पनि गतिविधि गर्न नपाई ‘भदौरे क्रिकेट’को लिग चरण सम्पन्न हुनेक्रममा पुगेको छ । उनीहरूको टोली एपीएफसहित वाग्मती प्रदेश एउटै खेल खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफ र वाग्मतीका चारै खेल ‘नो रिजल्ट’ मा दर्ज भए ।

समूह ‘ए’ मा गण्डकी प्रदेशको पनि चार खेल नै ‘नो रिजल्ट’ छ । वर्षाका कारण गण्डकी प्रदेशका खेलाडीहरूले एउटै खेल खेल्न पाएका छैनन् । एउटा खेल खेल्न बाँकी रहेकाले गण्डकीको सेमिफाइनल आशा घिटिघिटीको अवसथामा छ । पहिलो पटक राष्ट्रिय खेलकुदमा सामूहिकतर्फ खेलिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एउटा खेल खेल्न पाएको थियो । त्यही खेल जितेकाले टोलीको सेमिफाइनल सुरक्षित भएको छ ।

पहिलो दिनको पहिलो खेल रद्द भएपछि एनआरएनए र सुदूरपश्चिमबीचको खेल ६–६ ओभर सम्भव भयो । त्यही खेलको जितबाट एनआरएनए सेमिफाइनल पुग्न सक्यो । एनआरएनएको त्यसपछिका तीन खेल वर्षाका कारण रद्द भयो । समूह ‘बी’ मा सबैभन्दा भाग्यमानी सुदूरपश्चिम रह्यो । टोलीले दुई खेल खेल्न पाएको छ, जसमा एक जित र एक हार नतिजा निकालेको छ । त्यही एक विजयका कारण सुदूरपश्चिम सेमिफाइनल पुगेको छ भने सुदुरपश्चिमसँग हारेकै कारण प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ मा पुलिस र त्रिभुवन आर्मी क्लबले २–२ खेल खेल्न पाए । यही दुई जितले दुवै टोलीलाई सेमिफाइनल नजिक पुर्‍याइसकेको छ । दुवै टोलीको २–२ खेल वर्षाका कारण रद्द भएको थियो । कर्णाली, मधेस प्रदेश र लुम्बिनीले २–२ खेल खेल्न पाए पनि गण्डकीले एउटै खेल खेल्न पाएको छैन । मधेस र लुम्बिनीबाहेक सबैले १–१ खेल खेल्न बाँकी छ ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने तालिका थियो । मूलपानीमा ६ दिनमा हुने भनिएका सबै ११ खेल टस पनि नगरी रद्द भएका छन् । ‘यो भदौरे क्रिकेटमा वर्षाका कारण मूलपानीमा कुनै पनि खेल हुँदैन भन्ने थाहा छ, तर त्यो पनि टिम रिपोर्टिङ गर्न त्यहाँ जानुपर्ने बाध्यता थियो,’ एक प्रशिक्षकले गुनासो सुनाए । मूलपानीका खेलहरू सकिएका छन् । बुधबार लिग चरणको अन्तिम खेल तथा सेमिफाइनल र फाइनल सबै कीर्तिपुरमा हुनेछ ।

पीएम कप राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा भइरहेको प्रतियोगिता हो, जुन नेपाल क्रिकेट संघ (क्यान) ले आफैंले आयोजना गर्छ । राष्ट्रिय खेलकुद राखेपकै प्रतियोगिता हो । यो राखेपकै नियन्त्रणमा भइरहेको छ । टिमहरूलाई प्रतिदिन २ हजारको दरले होटलमा राखिएको छ । मैदानमा कुनै टोलीलाई ‘लन्च’ प्रदान गरिएको छैन ।

जुनै खाले क्रिकेटका प्रतियोगितामा पनि खेल्ने टोलीलाई आयोजकले ‘लन्च’ व्यवस्था गर्ने गरेको छ । ‘यो त जुगाडको प्रतियोगिताजस्तो देखिन्छ । बिहानको खेल सकिएपछि होटल फर्किएर खाना खाने गरेका छौं, दिउँसो खेल हुँदा १० बजेसम्म खाना खाएर होटलबाट मैदान जाने गरेका छौं,’ एक खेलाडीले भने, ‘राष्ट्रिय खेलकुद भनेको छ, सम्झनाका लागि एउटा सोभिनियर पनि पाएका छैनौं ।’

प्रकाशित : भाद्र २९, २०७९ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?