भारतमाथि बंगलादेशको धावा- खेलकुद - कान्तिपुर समाचार

भारतमाथि बंगलादेशको धावा

राजु घिसिङ

काठमाडौँ — भारतीय महिला टिम दक्षिण एसियाली फुटबलकै सबैभन्दा शक्तिशाली हो । भारतलाई साफ महिला च्याम्पियनसिपका पाँच संस्करणमा उपाधि जित्न धेरै कडा मिहिनेत गर्नुपरेको थिएन । कहिलेकाहीं नेपालले चुनौती दिने गरेको थियो तर भारतलाई हराउन पर्याप्त भएन । टोलीले अपराजित रहँदै लगातार पाँचपल्ट साफको उपाधि कब्जा गर्‍यो ।


गत वर्ष आफ्नै भूमिमा सम्पन्न एएफसी महिला एसियन कपमा सहभागी भारत विश्व फुटबलकै उत्कृष्ट अमेरिका र स्विडेनका यू–२३ टिम तथा ब्राजिलको सिनियर टिमसँग प्रतिस्पर्धा गर्दै छैटौं साफमा उपाधि जोगाउने लक्ष्यसाथ काठमाडौं ओर्लिएको थियो । यसपालि पनि उपाधिको मुख्य दाबेदार भारत नै हो । केही सिनियर खेलाडीबिना आइपुगेको भारतलाई आयोजक नेपाल र सुधारिएको बंगलादेशले चुनौती दिने अपेक्षा गरिएको थियो/छ । भारतको पहिलो जम्काभेट बंगलादेशसँग मंगलबार भयो । एक खेलअगावै अन्तिम चारमा स्थान पक्का गरिसकेका भारत र बंगलादेशबीच समूह ‘ए’ विजेता बन्ने प्रतिस्पर्धा रोचक हुने अपेक्षा थियो । तर, दशरथ रंगशालामा खेल सकिँदा कथा अलि फरक निस्कियो ।

बंगलादेशले जहान सोपनाको दुई गोलको सहयोगमा भारतमाथि ३–० को ऐतिहासिक जित रच्यो । यो नतिजा भारतलाई स्तब्ध पारेजस्तो लाग्छ । तर, मैदानको खेलमा पनि बंगलादेश नै बलियो थियो । सुरुबाटै तीव्र गतिमा र आक्रामक खेल प्रदर्शन गरेको बंगलादेश विशेषगरी पहिलो हाफमा प्रभावशाली देखियो । दोस्रो हाफमा भारतले खेलमा फर्किने प्रयास गर्‍यो । प्रशिक्षक सुरेन क्षत्रीले ५ खेलाडी परिवर्तन पनि गरे । तर भारतले साफ महिला च्याम्पियनसिपको १२ वर्षे इतिहासमा पहिलो हार टार्न सकेन । सन् २०१० मा कक्सबजार (बंगलादेश) बाट सुरु भएको साफमा भारतलाई पराजित गर्ने पहिलो टिम नै बंगलादेश बन्यो । साफको २६ औं खेलमा आएर पहिलो हार खेपेको भारतले २४ जित र १ बराबरी गरेको छ । त्यो गोलरहित बराबरी (साफ २०१६) पनि बंगलादेशसँग नै थियो ।

माल्दिभ्समाथि गोल गरेपछि पाकिस्तानी नादिया खान । तस्बिर : केशव थापा/कान्तिपुर

कृष्णरानी सरकारको चलाखीपूर्ण पासमा सोपनाले आकर्षक गोल गर्दै १२ औं मिनेटमै बंगलादेशलाई अग्रता दिलाइन् । सोपनाकै गोलमा कृष्णरानीले २२ औं मिनेटमा गरेको गोल पनि स्तरीय थियो । कप्तान असलता देवीको फ्रि–किकमा रेनुले पोस्ट नजिकबाट बल प्रहार गर्न नसक्दा भारतले ४८ औं मिनेटमा खेलमा फर्किने अवसर गुमायो । कप्तान सविना खातुनको पास उपयोग गर्दै सोपनाले ५३ औं मिनेटमा प्रहार गरेको बल इंग्लिस क्लब वेस्टह्यामका पूर्वगोलकिपर अदिती चौहानको ग्लोभ्स छुँदै जालीको सम्पर्कमा पुगेपछि बंगलादेशले ३–० को जित निकाल्यो । ‘हामीले कडा मिहिनेत गर्‍यौं,’ बंगलादेका प्रशिक्षक गोलाम रोब्बानी चोतानले भने, ‘हामीले इतिहास रचेका छौं । बंगलादेशी महिला फुटबल परिवर्तन भएको छ । भारतलाई हराउने क्षमतामा आइपुगेको छ ।’ ३–० को जितबारे उनले भने, ‘पाकिस्तान र माल्दिभ्ससँग राम्रो खेलेपछि यस्तो स्कोर सम्भव भएको हो । हामी लामो समयको कडा मिहिनेत गरेर यो परिस्थितिको प्रतीक्षामा थियौं ।’

‘नेपालसँग कठिन खेल’

‘हाम्रा लागि यो ठूलो हार हो तर हामी अझै प्रतियोगितामा छौं,’ भारतीय टिमका प्रशिक्षक क्षेत्रीले भने, ‘यो खराब दिन होइन, हामीले धेरै नराम्रो खेलेका हौं । बंगलादेश पूरा ऊर्जावान रह्यो । हामीले ‘हंगर’ (जितका लागि भोकाएको प्रवृत्ति) गुमायौं ।’ बंगलदेशविरुद्ध सबै स्थानमा कमजोर देखिएको भारते यसअघि पाकिस्तानलाई ३–० र माल्दिभ्सलाई ९–० ले हराएको थियो । माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ७–० ले पराजित गरेको बंगलादेश (९ अंक) समूह ‘ए’ विजेता भयो भने भारत (६ अंक) उपविजेता । त्यसैले शुक्रबार हुने सेमिफाइनलमा समूह ‘बी’ विजेता नेपालले भारतको सामना गर्नेछ भने पहिलोपल्ट अन्तिम चारमा पुगेको भुटानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलमा नेपालसँगको भेटबारे भारतका प्रशिक्षक क्षेत्रीले भने, ‘साफ सधैं हामीले हेरिरहेको प्रतियोगिता हो । हामी डिफेन्डिङ च्याम्पियन हो । नेपाल राम्रो टिम हो । हामीले पाठ (बंगलादेशविरुद्ध हार) सिक्यौं । इफोर्ट लगाएन भने हामीलाई जसले पनि पराजित गर्न सक्छ । त्यसैले राम्रो तयारी गरेर पुनरागमन गर्नेछौं । घरेलु मैदानमा नेपाललाई दर्शकको साथ हुन्छ । यस्तैमा खेल विराटनगरमा पनि भएको थियो । नेपालसँग खेल्न गाह्रो हुन्छ ।’ साफमा पाँचपल्टै उपाधि जित्ने क्रममा भारतले नेपाललाई हराएको छ । सन् २०१६ को सेमिफाइनलमा हारेको नेपाली टिम अन्य चार संस्करणमा फाइनलमा चुकेको थियो ।

यसअघि दिनको पहिलो खेलमा पाकिस्तानले नादिया खानको चार गोलको सहयोगमा माल्दिभ्सलाई ७–० ले हरायो । यो प्रतियोगितामा तेस्रो ह्याट्रिककर्ता बनेकी उनले ५४, ७८, ८४ र ९० औं मिनेटमा गोल गरिन् । रमिन फरिद, खादिजा काजमी र अनमुल हिराले पनि एक–एक गोल गरे । सुरुका दुई खेल हारेपछि दुवै टिम समूह चरणबाटै बाहिरिइसकेका थिए ।

प्रकाशित : भाद्र २९, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

एलडीसी मन्त्रीहरूको सम्मेलनमा भाग लिन वनमन्त्री सेनेगलमा

सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन आधा घटाउन विकसित मुलुकहरुलाई दबाब दिनुपर्छ– मेडेलिन डियफ सार, एलडीसी अध्यक्ष
अब्दुल्लाह मियाँ

काठमाडौँ — अति कम विकसित मुलुक (एलडीसी) का वातावरणमन्त्रीहरूको सम्मेलनमा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव अफ्रिकी मुलुक सेनेगल गएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७) अघि हरेक वर्ष एलडीसीअन्तर्गतका मुलुकहरूका वातावरण–जलवायु र वनमन्त्रीहरूको सम्मेलन हुन्छ । एलडीसीको नेतृत्व गरेको सेनेगलले उक्त सम्मेलन आयोजना गरेको हो ।

सेनेगलको वातावरण तथा दिगो विकास मन्त्रालयको जलवायु परिवर्तन महाशाखाकी प्रमुख तथा जलवायु परिवर्तनविज्ञ मेडेलिन डियफ सार ४६ देश सदस्य रहेको एलडीसीकी अध्यक्ष हुन् ।

सम्मेलनमा भाग लिन मन्त्री यादव र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख बुद्धिसागर पौडेल मंगलबार सेनेगलको राजधानी डकार पुगेका हुन् । सम्मेलनलाई मन्त्री यादवले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

पर्वतीय मुद्दाबारे बहस गर्ने उद्देश्यले सरकारले असोज पहिलो साता आयोजना गर्न लागेको ‘मुस्ताङ सम्मेलन’ भन्दा साता अघि एलडीसी मुलुकका मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री र महाशाखा प्रमुख पौडेल डकार पुगेका हुन् । अन्तर्राष्ट्रिय पर्वतीय वर्ष २०२२ का अवसरमा सरकारले पर्वतीय मुद्दा र जलवायु परिवर्तनसँगसम्वन विषयहरूमा चरणबद्ध रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

एलडीसीले जलवायु सम्मेलनमा हुने वार्तामा पर्वतीय र टापु देशका मुद्दालाई बलियो ढंगले उठान गर्ने उद्देश्यले साझा धारणा तय गर्न त्यसअघि नै सदस्यहरूलाई भेला गरेर छलफल गर्ने गरेको छ । कोप–२७ कात्तिक २० देखि मंसिर २ सम्म इजिप्टको शाम–एल–शेखमा हुँदैछ । वन तथा वातावरण मन्त्रालयले कोप २७ मा प्रस्तुत गर्ने मुद्दाबारे गत महिनादेखि नै छलफल सुरु गरेको छ ।

डकार सम्मेलनमा जलवायु परिवर्तनका कारण विकासोन्मुख मुलुकहरुमा सिर्जित समस्या र समस्या सम्बोधनका लागि विकसित मुलुकहरूलाई झक्झक्याउने विषयमा छलफल हुने एलडीसी सचिवालयले जनाएको छ । विगतदेखि नै एलडीसीले विकासोन्मुख मुलुकहरुले सामना गर्नुपरेका जलवायुजन्य हानी नोक्सानी र क्षतिको क्षतिपूर्तिमा विकसित मुलुकहरूले आलटाल गर्न नहुनेमा जोड दिँदै आएका छन् ।

एलडीसीले जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरित गृह ग्यास उत्सर्जन कटौती गर्ने महत्त्वाकांक्षी योजना समेट्नसमेत दबाब दिदै आएको छ । एलडीसी अध्यक्ष मेडेलिनले विकसित मुलुकहरूलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्न र सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन आधा घटाउन दबाब दिनुपर्ने ट्वीटमार्फत् उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘अहिलेकै गतिमा विश्वको तापक्रम १.५ डीग्रीमा सीमित हुने देखिन्न, यो हाम्रा लागि स्वीकार्य नतिजा होइन । त्यसैले हामीले उनीहरुलाई अझै दबाब दिनु आवश्यक छ ।’

सन् २०१५ मा भएको पेरिस सम्झौतामा विश्वव्यापी तापक्रममा हुने वृद्धिलाई पूर्व औधोगिक तहभन्दा माथि १.५ डिग्रीमा राख्ने उल्लेख छ । एलडीसीले तापक्रम वृद्धि १.५ मा सीमित राख्न नसकिए विश्वमा जलवायुजन्य उथलपुथल धान्नै नसकिने भएकाले महत्वकांक्षी निर्णय लिन दबाब दिदै आएको छ ।

नेपालले समेत जलवायुजन्य जोखिम र विपद्का घटनाहरुमा बढोत्तरी भइरहेको बताउँदै हानिनोक्सानी (लस एन्ड ड्यामेज) सम्बोधन गर्न वित्त प्रवाह गर्नेगरी अलग्गै वित्तीय संरचना बनाउने निर्णयमा पुग्न जलवायु वार्ताहरूमा दबाब दिँदै आएको जलवायु परिवर्तन महाशाखा प्रमुख पौडेलले बताए ।

प्रकाशित : भाद्र २९, २०७९ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×