१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टिनएजमै च्याम्पियन

नडालपछि अल्कारेज सबैभन्दा कम उमेरमा ग्रान्ड स्लाम जित्ने खेलाडी
एएफपी

न्युयोर्क — स्पेनिस टिनएजर खेलाडी कार्लोस अल्कारेजले आइतबार यूएस ओपनमा सफलता हात पार्दै पहिलो ग्रान्ड स्लाम जितेका छन् । यसका साथै उनी विश्व नम्बर एक टेनिस खेलाडी बन्ने युवा बनेका छन् ।

टिनएजमै च्याम्पियन

१९ वर्षे उनले फाइनलमा नर्वेका कास्पर रुडलाई ६–४, २–६, ७–६ (७/१), ६–३ ले पराजित गरे । अल्कारेज टेनिसको शीर्ष वरीयतामा पुग्ने पहिलो टिनएज खेलाडी हुन् । आफ्ना आदर्श राफेल नडालले सन् २००५ मा फ्रेन्च ओपन जितेयता अल्कारेज सबैभन्दा कम उमेरमा ग्रान्ड स्लाम जित्ने खेलाडी हुन् ।

त्यस्तै सन् १९९० मा पिट साम्प्रासले जितेयता अल्कारेज यूएस ओपन जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । ‘अहिलेको स्थितिमा म यो माहोलको मज्जा लिइरहेको छु, किनभने मेरो हातमा ट्रफी छ, तर म अरू उपाधिको पनि भोको छु,’ अल्कारेजले भने, ‘म शीर्षस्थानमा धेरै–धेरै साता र आशा गरौं धेरै वर्ष नै बस्न चाहन्छु । यो सातापछि म अझ धेरै मिहिनेत गर्नेछु ।’

उनले सर्भिस र भलीबाटै २१ मध्ये १५ अंक ल्याएका थिए । उनले एउटै ग्रान्ड स्लाममा सबैभन्दा बढी समय बिताउने कीर्तिमान पनि बनाए । केभिन एन्डरसन सन् २०१८ को विम्बल्डनमा उपविजेता बन्दा उनले २३ घण्टा २१ मिनेट कोर्टमा बिताएका थिए । फाइनल पुग्नेक्रममा लगातार तीन पटक ५ सेट खेलेका अल्कारेजले २३ घण्टा ४० मिनेट कोर्टमा बिताए ।

मियामी, म्याड्रिड, रियो, बार्सिलोनामा सफलता हात पार्दै उनले यूएस ओपन जितेका हुन् । म्याड्रिडमा उनले नडाल र नोभाक जोकोभिजलाई पराजित गर्दै टेनिसमा आफ्नो यात्रा सुरु भएको संकेत दिएका थिए ।

महिलातर्फ अघिल्लो दिन पोल्यान्डकी इगा स्वाटेक च्याम्पियन भएकी थिइन् । २१ वर्षीया उनले ट्युनिसियाकी ओन्स जाबेरलाई हराएर तेस्रो ग्रान्ड स्लामका रूपमा यूएस ओपन जितेकी थिइन् । उनले जुनमा फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रकाशित : भाद्र २८, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?