१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्रिकेट प्रेम देखेर मक्ख ब्रेट ली

अस्ट्रेलियाली क्रिकेट इतिहासका बेजोड तीव्र गतिका बलर ब्रेट लीले भने– साँच्चै नेपालमा क्रिकेटप्रतिको माया गजब रहेछ
हिमेश

काठमाडौँ — टेस्ट मान्यताप्राप्त देश नै किन नहोस्, केही देशमा क्रिकेट त्यति लोकप्रिय छैन, जति नेपालमा छ । क्रिकेट खेल्ने र हेर्ने क्रममा ब्रेट लीले अनेक देश घुमे । यिनै ली दुई दिन नेपालमा रहे शुक्रबारसम्म । अस्ट्रेलियाली क्रिकेट इतिहासमा बेजोड तीव्र गतिका बलर रहेका यी पूर्व खेलाडीको छोटो बसाइमै अनुभव हो, साँच्चै नेपालमा क्रिकेटप्रतिको माया गजब रहेछ । मक्खै देखिएका ली अब चाँडै सुरु हुन लागेको नेपाल टी–२० लिगसँग जोडिएका छन् ।

क्रिकेट प्रेम देखेर मक्ख ब्रेट ली

उनी हुनेछन् प्रतियोगिताका ‘मेन्टर’ । त्यसको अर्थ उनी प्रतियोगितामा कुनै न कुनै रूपमा लगातार जोडिनेछन् । अचेल ट्वान्टी–२० क्रिकेटमा यो ‘मेन्टर’ शब्द खुबै लोकप्रिय छ । ‘मेन्टर’ को भूमिका लगभग प्रशिक्षकसँग मिल्छ । धेरै अर्थमा फरक पनि छ । ‘मेन्टर’ को खास काम हो, टिमलाई उत्साहित राख्ने, खेलाडीलाई राम्रो खेल्न प्रेरित गर्ने । यी लीले ‘मेन्टर’ का रूपमा सिंगै नेपाल टी–२० लाई जीवन्त राख्न मदत गर्नेछन् ।

त्यसो त उनको भ्रमण दुई दिनकै मात्र रह्यो । प्रतियोगिताका क्रममा उनी नेपालमा रहने छैनन् । तर, अहिलेको समय प्रविधिको न हो, उनी अनलाइनको माध्यममा प्रतियोगिताका व्यवस्थापक, प्रशिक्षक र खेलाडीसँग सम्पर्कमा रहनेछन् । यी सबैलाई उनले आफ्नो अनुभव सुनाउने छन् । तय छ, यी बहुमूल्य रहनेछन् नै । शुक्रबार उनी नेपाली मिडियासामु प्रस्तुत भए । उनको पहिलो भनाइ नै रह्यो, नेपालमा क्रिकेटप्रतिको जुन माया छ, त्यसैले यो खेललाई अर्को स्तरमा पुर्‍याउने छ ।

लीले भने, ‘मैले सिधा सिधा नेपालमा क्रिकेटप्रतिको माया देखें । मैले धेरै देश घुमेको छु । भारतमै पनि मैले लामो समय बिताएको छु । अस्ट्रेलिया त मेरै देश भयो । नेपालमा मैले जुन प्रकारको क्रिकेटप्रतिको लगाव देखें, यो अर्कै स्तरको छ । यसले नेपालको क्रिकेट अझ अगाडि बढ्ने छ, पछाडि होइन ।’ उनले अस्ट्रेलियाका लागि टेस्ट खेले, वान डे पनि खेले । क्रिकेटको कान्छो स्वरूप ट्वान्टी–२० क्रिकेट पनि खेले । विश्व क्रिकेटलाई लिएर उनमा अनुभवको कुनै कमी रहेन ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाल टी–२० लिगका मेन्टर अस्ट्रेलियन महान क्रिकेटर ब्रेट ली । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपालमा क्रिकेटको भविष्यलाई लिएर पनि उनी उत्तिकै आशावादी छन् । उनले भने, ‘पछिल्लो समय नेपाली क्रिकेटले जुन विकास गरेको छ, त्यो राम्रो छ । यो प्रगति अहिलेको मात्र होइन, ५–६ वर्षयताको हो । यही क्रिकेटसँग जोडिन पाउँदा म खुसी हुने नै भएँ ।’ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग सेप्टेम्बर २४ देखि अक्टोबर २० सम्म काठमाडौंमा हुँदै छ । यसमा भिड्ने छन् ६ टिम ।

उनले अस्ट्रेलियाका लागि ७६ टेस्ट खेले । यसमा लिए ३ सय १० विकेट । सायद उनी बढी एकदिवसीय बलर थिए, उनको समयमा एकदिवसीय क्रिकेटको जगजगी थियो । उनले २ सय २१ एकदिवसीय खेले । यसमा उनले लिएको विकेट संख्या रह्यो ३ सय ८० विकेट । सन् २००३ को एकदिवसीय विश्वकप अस्ट्रेलियाले जित्दा उनी एक महत्त्वपूर्ण सदस्य थिए । आफ्नो खेलजीवनको अन्त्यतिर उनले इन्डियन प्रिमियर लिग र बिगबास दुवै खेले । सन् २०१५ मा उनले सबै खाले क्रिकेटबाट संन्यास लिए ।

लीका प्राविधिक मन्त्र

लीको यो पहिलो नेपाल भ्रमण पनि हो । भलै, उनले नेपाली क्रिकेटबारे धेरै सुनेका छन् । नेपालका पूर्वखेलाडी विनोद दासबारे पनि उनले उत्तिकै सुनेका रहेछन् । उनी थप्छन्, ‘पहिलोपल्ट नेपाल आउँदा नै मैले जुन प्रकारको न्यायो माया र आतिथ्यता पाएँ, यो कम्ती रहेन ।’ उनी यिनै भावनात्मक कुरामा मात्र अल्झिरहेनन् । उनले केही प्राविधिक कुरा पनि मजाले गरे । जस्तो, पहिलो प्रश्न नेपाली क्रिकेटका लागि कुन महत्त्वपूर्ण हुन्छ, लामो दिन चल्ने क्रिकेट, एक दिनको क्रिकेट कि ट्वान्टी–२० ?

उनी मान्छन्, तीनै विधा उत्तिकै महत्त्वपूर्ण छ । न एकलाई छोड्न मिल्छ, न त अर्कोलाई बढी महत्त्व दिन मिल्छ । उनलाई लाग्छ दुई वा त्यो भन्दा बढी दिन चल्ने क्रिकेट यो खेलको मुख्य आधार हो । त्यसैले नेपाल त्यसतर्फ पनि उन्मुख हुनुपर्छ । एकदिवसीय क्रिकेट अहिले उत्तिकै छ । ट्वान्टी–२० क्रिकेट त यो खेलको कान्छो र आधुनिक स्वरूप भयो । क्रिकेटलाई पछिल्लो समय बढीभन्दा बढी लोकप्रिय बनाउन यसकै सबैभन्दा ठूलो भूमिका रह्यो ।

त्यसैले लीले थपे, ‘नेपाल यी तीनै प्रकारका क्रिकेटमा अगाडि बढ्नुपर्छ । तर अहिलेको समय धेरै अर्थमा ट्वान्टी–२० क्रिकेटको हो । यो नयाँ छ र यसले असाध्यै रोमाञ्चक पैदा गर्छ । नेपाल क्रिकेटमा अझ बढी लोकप्रिय बनाउने हो भने ट्वान्टी–२० क्रिकेट बढी भरपर्दो हुनसक्छ ।’ तर यसबीच उनी भन्छन्, सबैभन्दा ठूलो क्रिकेट खेल्नु नै हो । न कि कुन ढाँचाको क्रिकेट खेल्नु भन्ने नै हो ।

उनले पिचबारे पनि आफ्ना ठोस धारणा राखे । ‘पिच बल र ब्याट दुवैलाई मदत गर्ने खालका हुनुपर्छ,’ उनले भने, ‘मेरो अनुभवमा दक्षिण एसियामा पिच बढी नै सुस्त हुन्छ । नेपालमा क्रिकेटका लागि राम्रो पिच बन्नुपर्छ । हामीले नेपालमा बढीभन्दा बढी तीव्र गतिका बलर आओस् भनेर यस्तै सुहाउने पिच बनाउनुपर्छ ।’ नेपाली क्रिकेटबारे समग्रमा उनको निचोड भने यस्तो छ, ‘नेपालीहरू क्रिकेटमा प्रतिभाशाली छन्, यसमा कुनै शंका छैन । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई देखाउने धेरै मौका भने पाएको छैन । यस्तै अवसर सिर्जना गर्न सक्नुपर्छ ।’

प्रकाशित : भाद्र २५, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?