भारतको सुस्त सुरुआत

राजु घिसिङ

काठमाडौँ — कक्सबजार (बंगलादेश) मा सन् २०१० मा भएको पहिलो साफ महिला च्याम्पियनसिपमा सेमिफाइनल खेलेको पाकिस्तान दक्षिण एसियाली महिला फुटबलमा कमजोर टिममै पर्छ । कोलम्बो (२०१२) र घरेलु भूमि इस्लामाबाद (२०१४) मा भएका संस्करणमा समूह चरणबाटै बाहिरिएपछि पाकिस्तानी महिला टिम अन्तर्राष्ट्रिय फुटबलबाटै अलिग्गयो । त्यसैले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किंदा पाकिस्तानविरुद्ध साफ महिला च्याम्पियनसिप २०२२ मा बुधबार भारतले सहजै मात्र होइन, ठूलो अन्तरको जित हात पार्ने अनुमान गरिएको थियो ।

भारतको सुस्त सुरुआत

तर, दशरथ रंगशालाको खेल त्यस्तो भएन । साफमा अपराजितमात्रै होइन, सम्भव पाँचै संस्करणको उपाधि जितेको भारतले पाकिस्तानमाथि ३–० को जित निकाल्दै उपाधि रक्षाको अभियान थाल्यो । १० मिनेटपछि बलमाथि पकड भारतले कायम राख्यो । बल पाकिस्तानको पेनाल्टी क्षेत्र वरिपरि घुमिरह्यो । पाकिस्तानलाई लगातार दबाब दियो । तर, भारतले ‘अट्याकिङ थर्ड’ (पेनाल्टी क्षेत्रभित्र) खासै खेल्न सकेन । गोलका धेरै अवसर सिर्जना गर्न सकेन । पोस्टमा शृंखलाबद्ध आक्रमण गर्न सकेन । वास्तवमा भारतको प्रदर्शन अपेक्षाभन्दा निकै फितलो रह्यो । त्यसैले ८ वर्षप्छि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको कमजोर टिमविरुद्ध भारत तीन गोलमै सीमित भयो ।

‘आठ वर्ष नखेलेको भएर पाकिस्तानले कस्तो खेल्छ भन्ने हामीलाई थाह थिएन,’ समूह ‘ए’ मा ३ अंक जोडेपछि भारतीय टिमका मुख्य प्रशिक्षक सुरेन क्षेत्रीले भने, ‘पहिलो खेल सधैं महत्त्वपूर्ण हुन्छ र यो हामीले जितेका छौं । जित भनेको जित नै हो । यो हाम्रो पक्षमा भयो । पहिलो हाफको २–० को अग्रताले सहज भयो । बल पोसेसनमा हाम्रो राम्रो थियो । ‘फाइनल थर्ड’ मा राम्रो गरेर अर्को खेलमा फर्किने छौं । टिममा नयाँ खेलाडीहरू छन्, उनीहरूलाई अवसर दिएका छौं ।’

खेलमा पहिलो अवसर भने पाकिस्तानले पाएको थियो । इंग्ल्यान्डको चौथो श्रेणीको क्लब डंकास्टर रोभर्समा आबद्ध फरवार्ड नादिया खानले चौथो मिनेटमै एक्लै अघि बढाउँदै प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरिँदा पाकिस्तान आश्चार्यजनक अग्रता लिन चुक्यो । भारतले पाकिस्तानी टिमकी कप्तान मारिया जमिल खानले आफ्नै पोस्टमा गोल गरेपछि २१ औं मिनेटमा अग्रता लिएको थियो । सान्धिया रंगनाथनले प्रहार गरेको बल गोलकिपर साहिद बुखारीले रोकेकी थिइन्, त्यही बल क्लियर गर्ने प्रयासमा मारियाले प्रहार गरिन्, तर बलले आफ्नै पोस्टको गोललाइन पार गर्न पुग्यो ।

भारतलाई अग्रता दोब्बर पार्न भने खास समय लागेन । तीन वर्षअघि विरानरमा भएको पाँचौं साफमा सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेकी ग्रेस डाङ्मीले २३ औं मिनेटमा गोल गरेपछि भारत २–० ले अघि बढ्यो । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ उनलाई अञ्जु तामाङले आकर्षक पास दिएकी थिइन् । क्रोएसियाको शीर्ष डिभिजन क्लब डिनामो जाग्रेभमा आबद्ध फरवार्ड सौम्य गुगुलोथले चार मिनेटको इन्ज्युरी समयको अन्तिम क्षणतिर रञ्जना चानुको क्रसमा गोल गरेपछि भारतले ३–० को जित निकालेको हो ।

‘हामी आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केका छौं, यो सबै पाकिस्तानी महिलाका लागि महत्त्वपूर्ण कुरा हो,’ हारपछि आँसु झार्दै ‘ड्रेसिङ रुम’ फर्किएकी कप्तान मारियाले भनिन्, ‘सबै खेलाडीले मिहिनेत गरे । राम्रो गरे । तर, पहिलो खेल हारेका छौं ।’ उनी युनाइटेड अरब इमिरेट्स (युएई) बस्छिन्, उतै क्लब फुटबल खेल्छिन् । पाकिस्तानका मुख्य प्रशिक्षक अदिल मिर्जा रिज्कीले पनि टिमको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे, ‘खेलाडीहरूले साँच्चिकै राम्रो गरे, राम्रो खेले । हामी यहाँ प्रगति गर्न आएका छौं ।’

तेस्रो साफ इस्लामाबादमा खेलेपछि अन्तर्राष्ट्रिय फुटबलमा सहभागी हुन छाडेको पाकिस्तानी महिला टिमलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पाकिस्तान फुटबल महासंघ (पीएफएफ) माथि गरेको निलम्बनको पनि असर थियो । उक्त निलम्बन फिफाले हटाएपछि पाकिस्तान छैटौं साफ महिला च्याम्पियनसिपमा सहभागी हुन काठमाडौं आइपुगेको हो । त्यसैले पनि पाकिस्तानी टिमलाई यो साफमा बलियो टिम मािनएको थिएन । ८ वर्षपछि फर्किएको टिमविरुद्ध भारतले गोलको वर्षात् नै गर्ने आँकलन थियो । तर, खेल त्यस्तो भएन । पाकिस्तानले सुरुमा बाहेक थप अवसर बनाउन सकेन । भारतले केही अवसर गुमाए पनि आक्रामक खेल देखाउन सकेन । टोलीको प्रदर्शनमा छुटेका केही सिनियर र प्रतिभावान खेलाडीको अभाव देखियो ।

सबिनाको दुई गोल

समूह ‘ए’ कै अर्को खेलमा कप्तान साविना खातुनको दुई गोल सहयोगमा बंगलादेशले माल्दिभ्समाथि ३–० को जित निकाल्यो । पूर्णतः बंगलादेशको नियन्त्रणमा रहेको खेलमा तीनै गोल पहिलो हाफमा भयो ।

सविनाले करिब ३२ यार्डबाट प्रहार गर्दै ३२ औं मिनेटमा गोलको खाता खोलिन् । मसुरा परविनले ३४ औं मिनेटमा बंगलादेशको अग्रता दोब्बर बनाइन् । मारिया मान्डाको प्रहार गोलकिपर/कप्तान अमिनथ लिजाले रोके पनि त्यही बललाई सविनाले पोस्टको दिशा दिँदै ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

प्रकाशित : भाद्र २३, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?