१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कर्णालीबाट २९ खेलमा प्रतिस्पर्धा

चाँदनी कठायत

वीरेन्द्रनगर — गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालीले २९ खेलमात्र सहभागिता जनाउने कर्णाली खेलकुद परिषद्ले
जनाएको छ ।

कर्णालीबाट २९ खेलमा प्रतिस्पर्धा

परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता व्यवस्थापनका लागि ४९ लाख बजेट पठाएको छ । आठौं राष्ट्रिय खेलकुदमा एक करोड ५० लाख बजेट पठाएको परिषद्ले यसपालि करिब ८० प्रतिशत बजेट कटौती गरेर पठाएको उनको भनाइ छ ।

प्रदेश परिषद्ले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशका १० वटै जिल्लामा खेलाडी छनोटको काम गरिरहेको छ । खेलाडी छनोटका लागि प्रत्येक जिल्लामा ६–६ लाखका दरले बजेट पठाइएको उपाध्यक्ष हमालले बताए । उक्त बजेट सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला खेलकुद विकास समितिलाई पठाइएको हो ।

शनिबारसम्म सबै जिल्लाबाट खेलाडी छनोट गरिसक्नुपर्ने भए पनि केही जिल्लामा मात्रै खेलाडी छनोट भएका छैनन् । स्थानीय तहले खेलकुद प्रतियोगितामार्फत छनोट गरेका खेलाडी जिल्ला हुँदै अन्त्यमा प्रदेशले छनोट गर्नेछ । छनोट खेलाडीको बन्द प्रशिक्षण भदौ २५ देखि सुरु हुने उपाध्यक्ष हमालले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्बाट पठाएको रकम प्रतियोगिताको तयारी तथा व्यवस्थापनलाई अपुग हुने उनको भनाइ छ । परिषद्ले सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारसमक्ष एक करोड २१ लाख बजेट माग गरेको छ ।

तयारीका लागि अधिकांश खेलको प्रशिक्षण सुर्खेतमै हुने छ । पदक जित्न सक्ने खालका खेलाडीलाई मात्रै बन्द प्रशिक्षण राख्ने गरी तयारी गरिएको उपाध्यक्ष हमालको भनाइ छ ।

प्रदेशका विभिन्न जिल्लामा पनि खेल प्रशिक्षण हुनेछ । महिला र पुरुष भलिबलका खेल कालीकोट जिल्ला खेलकुद विकास समितिमा हुनेछ । त्यसका लागि १० वटै जिल्लाका खेलाडी कालिकोट जानेछन् ।

दसौं राष्ट्रिय खेलकुद भने कर्णाली प्रदेशमा हुँदै छ । सोही प्रतियोगिताको तयारीस्वरुप एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँको लगानीमा वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माणको कामलाई तीव्रता दिइएको छ ।

वीरेन्द्रनगर–८ मा निर्माणाधीन रंगशाला २०८१ जेठ ११ गतेभित्र सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । रंगशाला निर्माणका लागि एमएसीजीएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौंसँग सम्झौता भएको छ । नवौं राष्ट्रिय खेलकुद समापनमा राष्ट्रिय खेलकुदको झन्डा पोखराबाट सिधै कर्णाली ल्याइने परिषद्ले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?