‘गोलमेसिन’ हल्यान्ड- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गोलमेसिन’ हल्यान्ड

यसै सिजन अनुबन्धित एर्लिङ हल्यान्ड प्रिमियर लिग इतिहासमा सुरूका ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी भएका छन्, त्यो पनि लगातार दुई ह्याट्रिकसहित
द गार्डियन

लन्डन — दुई ह्याट्रिक । पाँच दिन । कीर्तिमान अहिले नै भत्किने क्रम सुरु भइसकेको छ । एर्लिङ हल्यान्ड के म्यानचेस्टर सिटी आए, उनको प्रभाव छताछुल्ल हुन थालिसकेको छ । म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६–० ले हराउँदा उनले आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । त्यसअघि क्रिस्टल प्यालेसविरुद्धको पुनरागमन जितमा उनले पहिलो तीन गोलको उपलब्धि छोएका थिए । त्यो चारै दिनअगाडि मात्र । यी नर्वेली खेलाडी भर्खर २२ वर्षका भए ।

तर, उनी नै इंग्लिस प्रिमियर लिग इतिहासमा सुरुआती ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी भएका छन् । अझ अगस्ट महिनामा ९ गोल गर्ने पनि उनी पहिलो खेलाडी भए । त्यतिमात्र होइन, सिटीका नयाँ खेलाडी जुलियन एल्भारेजलाई पनि उनले उत्तिकै सघाए । एल्भारेजले पनि आफ्नो पूर्ण डेब्युमा दुई गोल गरे । पराजित फरेस्टका व्यवस्थापक स्टिभ कुपर पनि भन्छन्, ‘हल्यान्ड निकै राम्रा खेलाडी हुन्, उनमा सबथोक छ ।’

यस्तै पुराना खेलाडी डिओन डब्लिनले खेलको कमेन्ट्रीका क्रममा भनेका छन्, ‘अहिले तत्कालका लागि सिटीसँग हल्यान्डका रूपमा विश्वकै सबैभन्दा राम्रा स्ट्राइकर रहेको छ ।’ प्रिमियर लिग इतिहासमै हल्यान्ड लगातार दुई ह्याट्रिक गर्ने सातौं खेलाडी हुन् । टोटेनहमका ह्यारी केनले भने एकभन्दा बढी अवसरमा यस्तो उपलब्धि छोइसके । केनकै नाममा थियो, यसअघि अगस्टमा सबैभन्दा बढी गोल गरेको कीर्तिमान । उनले ७ गोल गरेका थिए ।

सिटीका लागि हल्यान्डअघि रहिम स्टर्लिङ र कार्लोस टेभेजले एकभन्दा बढी ह्याट्रिक गरेका छन् । अझ सर्जियो अगुइरोले त चार ह्याट्रिक गरेका छन् सिटीको जर्सीमा । सिटी व्यवस्थापक पेप ग्वार्डिओला मान्छन्, ‘हल्यान्डले त्यो ठाउँ लिन सक्ने छैनन्, जुन सिटीका लागि अगुइरोले बनाएका छन् ।’ तर यी स्पेनी फुटबल प्रशिक्षक के पनि मान्छन्, अगुइरोसँग जे जस्तो प्रतिभा थियो, त्यस्तो हल्यान्डसँग पनि छ । उनी के थप्छन् भने व्यक्तिगत उपलब्धि केही ठूलो होइन, यदि टिमले उपाधि जित्न सकेन भने ।

‘सर्जियो त सिटीका लेजेन्डरी खेलाडी हुन्,’ ग्वार्डिओलाले भनेका छन्, ‘कसैले पनि उनलाई छुन सक्दैनन् । उनी सिटीका समर्थकमाझ सबैभन्दा प्रिय छन् । सिटीको आधुनिक इतिहासमा सबैभन्दा निर्णायक र महत्त्वको गोल अगुइरोले नै गरेका छन् । इर्लिङसँग पनि अगुइरोको जत्तिकै क्षमता छ । उनले नर्वे, अस्ट्रिया र जर्मनीमा जे गरे, त्यही यहाँ गर्ने प्रयासमा छन् । मलाई पूरा विश्वास छ, यदि सिटीले उपाधि जितेन भने उनी आफ्नो व्यक्तिगत उपलब्धिमा खुसी हुने खेलाडी होइनन् ।’

वेल्सका पूर्वडिफेन्डर एस्ली विलियम्सले पनि कमेन्ट्रीकै क्रममा भनेका छन्, ‘खेल सुरु हुन पाएको हुन्न, हल्यान्ड विपक्षी टिमका डिफेन्डरका लागि समस्या भइहाल्छ । उनीविरुद्ध खेल्न पनि गाह्रो देखिएको छ । उनी पूर्ण स्ट्राइकर हुन्, उनमा एउटा राम्रो स्ट्राइकरमा चाहिने सबै गुण छ । अहिलेसम्म उनले लिगमा जति गोल गरेका छन्, त्यसले उनी आधिकारिक स्ट्राइकरको परिभाषा पर्छ । उनको गोल गर्ने लोभ छ । उनको खेल हेर्दा म आफैं उत्साहित हुन्छु । उनले धेरैभन्दा धेरै गोल गर्नेछन् ।’

अहिले नै हल्यान्ड यसपल्टको प्रिमियर लिग सिजनमा सर्वाधिक गोलकर्ताका लागि बलियो प्रत्याशी मान्ने क्रम सुरु भइसकेको छ । ग्वार्डिओलाले थपेका छन्, ‘मलाई के विश्वास छ भने हल्यान्डको इच्छा पनि धेरैभन्दा धेरे उपाधि जित्ने हो । यदि उनको व्यक्तिगत प्रदर्शनको कीर्तिमान र उपाधि समानान्तर अगाडि जान्छ भने त यो धेरै राम्रो । पूरा टिमले जति राम्रो खेल्न थाल्छ, उनले धेरैभन्दा धेरै गोल गर्ने सम्भावना बढ्दै जान्छ ।’

सिटीको फराकिलो जित

लन्डन– एर्लिङ हल्यान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बुधबार नटिङ्घम फरेस्टलाई ६–० ले हराएको छ । क्रिस्टल प्यालेसविरुद्धको पछिल्लो खेलमा पनि उनले तीन गोल गरेका थिए । यससँगै २२ वर्षीय नर्वेली खेलाडी प्रिमियर लिगका सुरुआती ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

आर्सनलले पनि लिगमा आफ्नो शतप्रतिशत जित यात्रा कायम राख्दै एस्टन भिल्लालाई २–१ ले हरायो । लिभरपुलले पनि न्युकासल युनाइटेडलाई २–१ ले पराजित गर्‍यो । आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा छ । त्यसपछि डिफेन्डिङ च्याम्पियन सिटी १३ अंकसहित दोस्रो स्थानमा छ ।

टोटेनहम ११ अंकमा तेस्रो स्थानमा छ । टोलीले अर्को खेलमा वेस्ट ह्यामसँग १–१ को बराबरी खेल्यो । बर्नमाउथ र उल्भसबीचको खेल भने निरस गोलरहित बराबरीमा टुंगियो । सिटीको जितमा जुलियन एल्भारेजले दुई गोल गरे भने जाओ कन्सेलोले एक गोल थपे । आर्सनलले सन् २००४–०५ यता पहिलोपल्ट लिगका सुरुआती ५ खेल जितेको छ । टोलीका लागि इमिलिनो मार्टिनेजले निर्णायक गोल गरे । भिल्ला पछिल्ला ५ खेलमध्ये चारमा पराजित छ । यसले व्यवस्थापक स्टेफन जेरार्डमाथि चर्को दबाब सिर्जना भएको छ । लिभरपुलको जितमा अन्तिम समयमा फाबियो कार्भाल्होले विजयी गोल गरेसँगै एनफिल्डमा खुसीयाली छाएको थियो ।

पीएसजी अपराजित

पेरिस– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना नयाँ प्रशिक्षक क्रिस्टोफ ग्लाटरको नेतृत्वमा फ्रान्सेली लिग वानमा अपराजित यात्रा कायम राख्दा बुधबार टुलोजलाई ३–० ले हराएको छ । नेयमरको गोलमा अग्रता लिएयता केलियन एमबाप्पेले दुई गोल थपे ।

प्रकाशित : भाद्र १७, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

सिटीलाई राहत, युनाइटेडलाई आहत

द गार्डियन

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन सुरु भइसकेको छ । यस सप्ताहन्त ‘डे–वान’ का खेल सकिएका छन् । टोटेनहम र आर्सनलले ठोस सुरुआत लिनु, चेल्सीको संघर्षपूर्ण जित अनि लिभरपुलको बराबरी । यी यिनै खेलका प्रमुख विशेषता रहे । तर त्योभन्दा ठूलो विशेषता रह्यो, म्यानचेस्टरका दुई क्लबले बेहोरेको फरक परिस्थिति । जहाँ म्यानचेस्टर सिटीले सानदार सुरुआत लिएको छ, त्यहीं म्यानचेस्टर युनाइटेड फेरि खराब सुरुआतको सिकार बनेको छ ।

यो एक प्रकारले सिटीलाई राहत र युनाइटेडलाई आहत जस्तै भयो । ईपीएलमा अहिले कोही एक प्रशिक्षक असाध्यै खुसी छन् भने ती हुन् सिटीका पेप ग्वार्डिओला । उनी मान्छन्, इर्लिङ हल्यान्ड गोल गर्नकै लागि जन्मेका खेलाडी हुन् । उनकै दुई गोल मदतमा सिटीले वेस्ट ह्याममाथि आरामदायी २–० को जित निकाल्यो । लन्डन स्टेडियममा यी नर्वेली खेलाडी ह्याट्रिक गर्नबाट भने चुके । तर उनको खेल नै कस्तो रह्यो भने त्यसले ग्वार्डिओलाको अनुहार नै धपक्क बले जस्तै भयो ।

उनी भन्छन्, ‘हल्यान्डले ५ वर्षको अनुबन्ध गरेका छन् । विश्वास गरौं, त्यो समयभन्दा बढी उनी सिटीमा रहनेछन् । हामी चाहन्छौं, उनी जस्ता नयाँ खेलाडी सिटीमा रहेर खुसी रहोस् । हाम्रो काम भनेको उनीबाट अझ केही बढी प्रदर्शन निकाल्ने नै हो । उनी निकै प्रतिभाशाली खेलाडी हुन् । हामी उनलाई अझ उन्नत खेलाडी बनाउन चाहन्छौं । उनले गोल त गरोस् नै, यो पनि महत्त्वपूर्ण छ । तर हामी उनी वास्तवमै अझ राम्रा खेलाडी होस् भन्ने चाहन्छौं ।’ ग्वार्डिओलाले दोस्रो हाफमा हल्यान्डलाई ‘सब्स्टिच्युट’ गरे । त्यसका लागि माफी माग्न चाहेनन् । लिभरपुलविरुद्ध कम्युनिटी सिल्डमा २२ वर्षीय हल्यान्डको प्रदर्शनलाई लिएर आलोचना सुरु भएको थियो । त्यसतर्फ इंगित गर्दै ग्वार्डिओलाले भने, ‘एक साताअगाडिसम्म उनी ईपीएलमा अभ्यस्त हुन नसक्ने पनि बताइएको थियो । तर अहिले उनको तुलनामा थिएरी हेनरी, एलान सिएरर र क्रिस्टियानो रोनाल्डोसँग हुन थालेको छ ।’ हल्यान्डले पहिलो गोल पेनाल्टीबाट गरेका हुन् ।

पेनाल्टी जित्ने काम पनि उनकै थियो । त्यसपछि दोस्रो गोल थपे । ‘मलाई थाहा थियो, हल्यान्ड सबैखाले आलोचना सहन सक्छन् । अभ्यासका बेला उनमा कुनै प्रकारको दबाब देखिएन । तर जसरी उनले पेनाल्टी प्रहार गर्न उत्सुकता देखाए, त्यसमा म खुसी छु ।’

हल्यान्ड आफैं पनि आफ्नो खेल अझ सुधार होस् भन्ने चाहन्छन् र त्यसको वचन पनि दिन्छन् । इल्केयी गुन्डोगनको क्रसलाई प्रहार गर्न नसकेका उनले आफ्नो आलोचना गर्न पछाडि परेनन् ।

हल्यान्डको प्रशंसा गर्न वेस्ट ह्यामका प्रशिक्षक डेविड मोयसले पनि पटक्कै कन्ज्युस्याइँ गरेनन् । उनले भने, ‘हामी सबैले उनको खेल नजिकबाट हेरिरहेका छौं । उनको प्रदर्शनले उनी कति राम्रा खेलाडी हुन्, त्यो देखाउने गर्छ । सिटी आफैंमा निकै बलियो टिम हो । प्राविधिक रूपमा सिटीले हामीलाई यस खेलमा निकै पछाडि छाडेको देखियो । गत सिजन तुलनामा सिटीको प्रदर्शन फरक रह्यो, उसका दुवै फुलब्याकले मिडफिल्डरको जस्तो भूमिका निभाइरहेका थिए ।’

युनाइटेड भने घरमै ब्राइटनको हातबाट पराजित रह्यो । स्कोर थियो २–१ । ओल्ड ट्राफोर्डमा सामना गर्नुपरेको यो नतिजापछि प्रशिक्षक एरिक टेन हागले माने, यो टिम सम्हाल्नु भनेको निकै गाह्रो रहेछ, अपजस पाइने काम । टेन हागको पहिलो ईपीएल खेलमा भ्रमणकारी ब्राइटन पूर्णतः छाएको थियो । त्यसमा पास्कल ग्रासले ९ मिनेटको अन्तरमा मज्जाले दुई गोल गरे । युनाइटेडले एक गोल त फर्कायो, तर त्यो आत्मघाती रह्यो । एलेक्स म्याक एलिस्टरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

टेन हागले भने, ‘हामीले अझ धेरै मिहिनेत नगरेर सुखै छैन । हाम्रो काम यो हारको विश्लेषण गर्ने हो र अगाडि बढ्ने हो । यस खेलमा हामीले राम्रो सुरुआत त लियौं, तर हाम्रो खेल विस्तारै खस्कन थाल्यो । हाम्रा खेलाडीले भुलहरू गर्न थाले । फुटबलमा जसले भुल गर्छ, उसले सजाय पनि पाउँछ ।’ युनाइटेडका लागि प्रि–सिजन राम्रै रह्यो, त्यसैले सायद केही हदसम्म लिगको पहिलो खेलमा आफ्ना खेलाडीको खेल खस्केकामा टेन हाग झसङ्ग परेको पनि देखियो ।

उनले भने, ‘यस्तो हुने गर्छ । निचोड हो, हामीले ब्राइटनविरुद्ध जसरी खेल्यौं, त्योभन्दा राम्रो खेल्न सक्नुपर्थ्यो । मलाई के पनि राम्रोसँग थाहा छ भने सुधार रातारात आउने गर्दैन, पक्कै हामीले प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न सक्यौं । तर ब्राइटनविरुद्ध हाम्रो प्रदर्शन निकै खस्केको देखियो । हामीले यसबाट शिक्षा लिनुपर्छ ।’ यही प्रि–सिजनकै बेला टेन हागले के महसुस गरेका थिए भने खेलाडीको आत्मविश्वास कमजोर छ, त्यसमा छियाछिया परेको छ ।

यसको कारण के थियो भने अघिल्लो सिजनमा युनाइटेडको प्रदर्शन नाजुक थियो । यसले खेलाडीको मानसिक पनि कमजोर बनाएको थियो । यसै विषयमा टेन हागले भने, ‘मलाई पनि यस्तै लाग्छ, तर यो सामान्य हो । हामी टिमका रूपमा अझै विकास हुन बाँकी छ । किनभने हामीले पर्याप्त समय पाएका छैनौं ।’

सर एलेक्स फर्गुसनले छाडेयता युनाइटेड सम्हाल्न आठ व्यवस्थापक आइसके । त्यसमध्ये टेन हाग लिगको पहिलो खेलमै हार बेहोर्ने दोस्रोमात्र रहे ।

त्यसअघि यस्तै नियति लुइस भान गालको रह्यो । युनाइटेडलाई हराउन पाएकोमा ब्राइटन त खुसी हुने नै भयो । ओल्ड ट्राफोर्डमा ब्राइटनको यो १४ औं भ्रमण थियो, तर जित निस्केको भने पहिलोपल्ट । त्यसैले यो धेरै अर्थमा ब्राइटनका लागि ऐतिहासिक रह्यो । ब्राइटनमा नाम चलेका खेलाडी कम छन् । मानौं छैनन् नै । तर, एउटा टिमका रूपमा यो बलियो छ । अचेलमा टिममा महत्त्वाकांक्षा पनि बढेको छ । त्यसैले प्रशिक्षक गाह्रम पोटर भन्छन्, ‘हाम्रो टिम खुबै मजबुत छ ।’

प्रकाशित : श्रावण २४, २०७९ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×