१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘नेपाललाई साफ च्याम्पियन बनाएरै छाड्छौं’

‘च्याम्पियन बन्ने सम्भावना होइन, च्याम्पियन बनाएरै छोड्छौँ। मैले ‘सेकेन्ड लाइफ’ पाएको हो, प्रमाणित गरेर देखाउनुपर्छ ।’
‘करिअरमा भारतलाई नजितेरै संन्यास लिनुपर्दा कति दु:ख होला ? त्यो मनमा लिनुपर्छ ।’

काठमाडौँ — महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करण आउने मंगलबार दशरथ रंगशालामा सुरू हुँदै छ । असोज ३ सम्म हुने च्याम्पियनसिपमा पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय फुटबल टिम अन्तिम तयारीमा व्यस्त छ । एन्फा कम्प्लेक्स (सातदोबाटो), दशरथ रंगशाला हुँदै अहिले सेन्ट जेभियर्स स्कुलको मैदान जावलाखेलमा अभ्यास गरिरहेको छ ।

‘नेपाललाई साफ च्याम्पियन बनाएरै छाड्छौं’

मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडी बोलाएर साउन ११ मा प्रशिक्षण थालेका थिए । उनले साफमा खेल्ने २३ खेलाडीको टिम घोषणा गरिसकेका छन् । तीन खेलाडी टिममा फर्किए भने तीन नयाँ आए । नेपाली टिम साफ च्याम्पियनसिपमा चारपल्टको उपविजेता हो ।

सिलिगुडीमा (सन् २०१६) मा मात्रै नेपाल साफको फाइनल पुगेन । त्यो टिमका मुख्य प्रशिक्षक पनि थापा नै हुन् । सशस्त्र प्रहरीका यी प्रहरी नायब उपरीक्षकले आठ वर्षपछि राष्ट्रिय टिम हेर्ने अवसर पाएका हुन् । यसपल्ट उनको लक्ष्य उही छ– उपाधि जित्ने । आफ्नो जमानाका उत्कृष्ट प्लेमेकर उनी खरो स्वभावका छन् । प्रशिक्षक कुमार थापासँग कान्तिपुरकर्मी राजु घिसिङको संवाद :

साफ महिला च्याम्पियनसिप २०२२ मा सबैभन्दा कठिन प्रतिद्वन्द्वी कुन टिमलाई मान्नुहुन्छ ?

यसपालि भुटान पनि राम्रो छ । श्रीलंका राम्रो छ । यी दुईसँग समूह चरणमा खेल्दै छौं । आठ वर्षपछि साफमा फर्किएको पाकिस्तानको केही तयारी नै छैन । हामी कसैलाई पनि यो बलियो, त्यो बलियो भन्दैनौं । जो अगाडि आउँछ, उही ठूलो प्रतिद्वन्द्वी हो । पहिला भुटान, त्यसपछि श्रीलंका । किनभने फुटबल भनेको ‘वान एट अ टाइम’ हो ।

मैले फाइनलको त सोचेकै छैन । समूह चरणका दुई खेल कस्तो खेल्छ, त्यसपछि सेमिफाइनलमा अर्को समूहका दुई टिम कस्ता आउँछन् भन्ने हो । सेमिफाइनल पक्कै पनि गाह्रो हुन्छ । फाइनल त धेरै कठिन हुने भइहाल्छ । त्यसैले गल्ती कम गर्ने फुटबल खेल्न खोजेका छौं ।

विराटनगरको साफ सन् २०१९ पनि हेरें । हामी हार्नुको कारण धेरै गल्ती गरेर हो । अनावश्यक गल्ती गरेका छौं । खेलाडीलाई हामी राम्रो छौं, कम गल्ती गरौं भनेका छु । गल्ती कम गर्ने कोसिस गर्नेछौं । फुटबलमा जसले कम गल्ती गर्छ, उसैले जित्छ । अवसर त सबैले पाउँछ, पाएका अवसर ‘मिस’ गर्नुभएन । डिफेन्स गर्दा मिस गर्‍यो भने त्यतिकै छोड्नुभएन । यत्ति दुई कुरा हो ।

साफमा नेपाली टिम सधैं भारतविरुद्ध हारेको छ । तपाईंले सम्हालेको टिम सन् २०१६ मा सेमिफाइनलमै हारेको थियो । त्यो हारको शृंखला यसैपालि तोडिएला ?

हामी भारतभन्दा तल नै छौं । संरचनागत रूपमै पनि । तर, फुटबलमा जे पनि हुन्छ, एउटा मात्र च्याम्पियन र एउटा मात्र बलियो हुने हो भने संसारमा फुटबलको स्वाद नै हुँदैन । हामी आयोजक हौं । दक्षिण एसियाली स्तरको प्रतियोगिता तेस्रोपल्ट घरेलु भूमिमा खेल्दै छौं । साफ २०१९, साग २०१९ (दक्षिण एसियाली खेलकुद) मा भारतविरुद्ध हार्‍यौं । अब साफ २०२२ मा खेल्दैछौं । तीन वटा प्रतियोगितामा पनि भारतविरुद्ध जित्न सक्दैन भने म र खेलाडीको करिअरमै प्रश्नचिह्न उठ्छ । यसमा एकदमै सचेत छौं, हामीले मनदेखि लिएका छौं ।

साफ २०१६ को उपविजेता बंगलादेशले केही वर्षयता निकै राम्रो गरिरहेको छ । उसलाई कसरी हेर्नुभएको छ ?

बंगलादेश कठिन प्रतिस्पर्धी हो । साफ २०१६ भारतसँग बराबरी गरेर बंगलादेश समूह विजेता भएको थियो । गत वर्ष दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा उसले राम्रो प्रदर्शन गरेको थियो । त्यो पनि बंगलादेश भारतजस्तो बलियो छैन तर एक वर्षमा धेरै परिवर्तन भइसक्यो । उसको तयारी, महिला फुटबलमा लगानी राम्रो छ र टिम बलियो भइरहेको छ । हामीले पनि राम्रो खेलिरहेका छौं । तुलनात्मक रूपमा बंगलादेश हामी जत्तिकै छ ।

नेपालको साफ च्याम्पियन हुने सम्भावना कति छ ?

हामी च्याम्पियन बन्ने सम्भावना होइन, च्याम्पियन बनाएरै छोड्छौं । मैले ‘सेकेन्ड लाइफ’ पाएको हो, प्रमाणित गरेर देखाउनुपर्छ । सन् २०१४ देखि खेलिरहेका खेलाडीहरू पनि करिअरको अन्त्यतिरै आइसकेका छन् । उनीहरू आठ वर्ष खेलिसके । त्योभन्दा बढी कति खेल्छन् ? उनीहरूले अरूका लागि बाटो खोल्न पनि जित्नुपर्छ ।

फुटबल करिअरमा भारतलाई नजितेरै संन्यास लिनुपर्दा कति दुःख होला ? त्यो मनमा लिनुपर्छ । म पनि सेमिफाइनलमा हारेकै हो (साफ २०१६) । अरू बेला सधैं फाइनल पुगेको छ । फेरि पनि पाएको अवसरको मूल्य कति हुन्छ भन्ने मैले बुझेको छु, महसुस गरेको छु । त्यसलाई मैदानमा कार्यान्वयन खेलाडीले गर्ने हो ।

चुनौती सन् २०१६ मा धेरै थियो कि यसपालि छ ?

यसपालि हो । किनभने त्यतिबेला भारतसँग पर्‍यो, जहिले पनि हार्ने भएकाले त्यो माफी भयो । त्यसैले ठूलो रूपमा लिइँन । फाइनलमा गए पनि भारतसँग हार्ने थियो । सेमिफाइनलमै पर्दा खुसी थिएँ । किनभने त्यो खेल जितेको भए उपाधि जित्न सक्थ्यौं भन्ने थियो, जित्न सकेनौं । यसपालि त दोस्रोपल्ट हो । कसैले पनि दुईपल्ट मौका पाउँदैन ।

एउटै प्रतियोगिता अर्कोचोटि हेर्न पाउनु एउटा स्तरले होला, अर्को संयोग पनि होला । तर, म भाग्यमा विश्वास गर्दिनँ । मिहिनेतमा विश्वास गर्छु । मिहिनेत गर्ने हो, जसले मिहिनेत गर्छ, उसले साबित पनि गर्छ । हामी सात हप्तादेखि कोसिस गरिरहेका छौं । खेलाडी ५८ देखि २३ जना बनाएका छौं । गर्न सक्छौं भन्ने लागेको छ । फुटबलमा रिजल्ट नै चाहिन्छ । जित्यो भने टिक्ने हो । त्यसैका लागि म र ‘कोचिङ स्टाफ’ एकदमै लागिरहेका छौं ।

फेरि ६ वर्षपछि राष्ट्रिय महिला टिम सम्हाल्दा टिमको स्तर कस्तो पाउनुभयो ?

अलि गाह्रो भयो । मैले संघर्ष गर्नुपर्‍यो । खेलाडीहरूलाई मेरो खेलाउने शैलीमा अभ्यस्त हुन अहि गाह्रो भयो । अहिले सन्तुष्ट छु । ‘सेट’ बलियो बनाउने सोचाइमा छु । खुला दिमागले खेल्यो भने मेरो टिममा सजिलो हुन्छ नत्र गाह्रो छ । म अहिले धेरै सक्दिनँ किनभने जम्मा ७ हप्ता समय पाएँ । क्लब र एसियन कपको छनोट खेलिरहेका टिमका खेलाडी शारीरिक रूपमा ठीक भए पनि ज्ञानको हिसाबले सबै एउटै भएनन् । उनीहरू विभिन्न क्लबबाट खेलिरहेका थिए । अब हामी टिमलाई एउटा स्वरूप दिएर उत्कृष्ट खेल्नेछौं ।

त्यो बेला (चौथो साफ २०१६) ५–६ जनाले डेब्यु गरेका थिए । अनुभवी भइसकेका उनीहरूले अहिले राम्रो गरिरहेका छन् । यो सकारात्मक हो । यसपालि तीन जनाले डेब्यु गर्दै छन् । केहीले उमेरको कारण साफपछि संन्यास लिन्छन् होला । टिम मिश्रित छ, यो राम्रो हो । टिममा विविधता भयो भने राम्रो हुन्छ । डिफेन्डर पुनम जर्घामगर, स्ट्राइकरद्वय सावित्रा भण्डारी र रेखा पौडेलले ‘कमब्याक’ गरेका छन् । रेनुका नगरकोटे र पूजा रानाले साफ गुमाएका छन् । हाम्रो महिला फुटबलमा सीमित खेलाडी छन्, त्यसैले आउने–जाने भइरहन्छ ।

साफ २०१६ मा नेपालको कप्तान रहेकी प्लेमेकर रेनुका (नगरकोटे) र डिफेन्डर पूजा (राना) ले चोटका कारण साफ गुमाएका छन् । अनुभवी खेलाडीको अनुपस्थितिमा कस्तो योजना बनाउनुभएको छ ?

नयाँ खेलाडीहरू छन् । राम्रा छन्, खासै त्यो ‘ग्याप’ नहोला । अनुभवको हिसाबले घाइते खेलाडीको स्थान पूर्ति गर्न चुनौतीपूर्ण हुन्छ कि भन्ने हो । नत्र पहिलाका खेलाडीको अभाव अहिलेका नयाँ खेलाडीले महसुस गर्न दिन्छन् जस्तो लाग्दैन । त्यहीअनुसारको योजनामा ट्रेनिङ भइरहेको छ । राम्रो खेलाडी नहुँदा टिमलाई घाटा त भइहाल्छ तर नयाँलाई साबित गर्ने अवसर पनि हो ।

प्लेमेकर रेनुकाको स्थान नयाँ खेलाडी दीपा शाहीले लिन सक्छिन् । प्रीति राई, दीपा राई, सरु लिम्बू, इन्दिरा राई पनि छन् । फिट भयो भने दीपा राई र प्रीति ठीक छन् । अहिले देखिएकी दीपा शाही हुन् । उनले एकदम राम्रो खेलिरहेकी छन् । उनीसँग एकदमै आशावादी छौं । डिफेन्समा चुनौती बढी नै छ । राइट–ब्याक पूजाको स्थानमा समीक्षा (घिमिरे) ठीक छन् तर अमृता जैसीलाई पनि खेलाउन सक्छौं । केही दिनमै सेट गर्छौं ।

स्ट्राइकर सावित्रा भण्डारी ६ वर्षयता नेपाली टिमकी ‘गोल मेसिन’ नै भएकी छन् । फेरि अग्रपंक्ति उनमै निर्भर हो ?

यसपालि फरक छ । रश्मि (कुमारी घिसिङ) र रेखा पुरानै खेलाडी हुन् । अमिशा कार्की नयाँ छन् । त्यसैले हाम्रो अग्रपंक्ति साम्बा (सावित्रा) मा मात्रै भर पर्दैन जस्तो लाग्छ । टिममा दुई स्ट्राइकर खेलेपछि दुवैले उत्तिकै जिम्मेवारी लिनुपर्छ, लिन्छन् पनि होला । हामीसँग चार स्ट्राइकर भएकाले रणनीति परिवर्तन गरेर स्ट्राइकरलाई नै विंग्समा खेलाउने कोसिस गरिरहेका छौं । अमिशाले क्लबमा राम्रो खेलिरहेकी छन् । उनले साम्बासँगै पहिलो रोजाइमा खेल्न सक्छन् ।

टिमको स्वरूपमा केही परिवर्तन हुन्छ ?

टिमको संरचनामा कुनै परिवर्तन हुने छैन । ४–४–२ लाई निरन्तरता दिन्छौं किनभने हामीसँग समय छैन । परिवर्तन गरिहाले एक स्ट्राइकरलाई तल झारेर ४–५–१ मा खेल्न सक्छौं तर अरू विकल्प छैन ।

प्रकाशित : भाद्र १५, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?