ब्याटिङ चल्यो, नेपालले शृंखला जित्यो- खेलकुद - कान्तिपुर समाचार

ब्याटिङ चल्यो, नेपालले शृंखला जित्यो

केन्याविरूद्ध ट्वान्टी–२० को अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको सर्वाधिक रन, सन्दीप प्लेयर अफ द सिरिज
हिमेश

काठमाडौँ — ज्ञानेन्द्र मल्लले मीठो बोले । उनका कुरा सामान्य नै थिए । यत्तिको क्रिकेटमा धेरै सुन्न पाइन्छ । तर, परिस्थितिले त्यसलाई महत्त्वको बनाइदियो । धेरै अर्थपूर्ण बनाइदियो । नैरोबीमा पाँचौं, अन्तिम तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा शनिबार केन्यामाथि नेपाल ३१ रनले विजयी रह्यो ।

यससँगै नेपाल पाँच खेलको शृंखलामा ३–२ ले विजयी रह्यो । त्यसमा ज्ञानेन्द्रले ५९ रन बनाए । खेलपछि उनले भने, ‘व्यक्तिगत प्रदर्शन के ठूलो हो र ? सबैभन्दा ठूलो त टिम हो ।’

भनिन्छ, अचेल ज्ञानेन्द्र फेरिएका छन् । खेल होइन, उनको मन । लामो समयपछि उनी नेपाली टिममा फर्केका थिए, केन्या निस्कने नेपाली टिममा । उनले आफ्नो उपस्थिति अर्थपूर्ण पनि बनाए । टिमका बाँकी सबै सदस्यका लागि उनी ‘ठूल्दाइ’ थिए । अब विश्वास गर्न सकिनेछ, यी ज्ञानेन्द्रले आफ्ना भाइहरूलाई धैरेथोर ज्ञानगुन दिनेछन् । किनभने उनले ३० वर्षभन्दा बढी काटिसकेका छन् । तर। उनमा खेल जारी राख्ने मन पनि सेलाएको छैन ।

उनकै भाषामा, यो अझै जारी रहनेछ । अहिलेका लागि भने उनले तीन वर्षपछि ट्वान्टी–२० क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । त्यही प्रदर्शन मदतले नेपालले शृंखलामै सबैभन्दा उच्च स्कोर बनायो । नेपालको ब्याटिङ चलेको थियो, त्यसैले शृंखला पनि नेपालकै नाममा रह्यो । ज्ञानेन्द्रले ‘पोस्टम्याच प्रिजेन्टेसन’ मा भने, ‘हाम्रा लागि पहिलो विकेटका लागि राम्रो साझेदारी आवश्यक थियो । त्यसलाई हामीले प्राप्त गर्नसक्यौं । त्यसकारण नेपालले प्रभावशाली स्कोर बनायो ।’

शृंखलाकै पहिलो अर्धशतक

शृंखलाका यसअघिका ४ खेलमा नेपालले दोस्रोपल्ट ब्याटिङ गरेको थियो । पाँचौंमा भने पहिलोपल्ट ब्याटिङ गरेको थियो टस जितेर । यसक्रममा नेपालले जिमखाना क्रिकेट मैदानमा २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो । ज्ञानेन्द्रले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाए । उनले ४४ बलमा ५९ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । उनको यो दोस्रो ट्वान्टी–२० अर्धशतक हो ।

उनले पहिलो विकेटमा अर्जुन साउदसँग ८ ओभरभित्र ६५ रनको साझेदारी गरे । लगातार दोस्रो छक्का प्रहार गर्ने क्रममा ज्ञानेन्द्र केन्याका दुई पटेलको सिकार भए । विराजको बलमा उनी रकिपबाट समातिए । अर्जुन भने केन्याली कप्तान सेम एनगोचको बलिमा स्टम्पिङ भए । दुवै प्रारम्भिक ब्याटर पेभिलियन फर्केयता दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ बलको ‘केमियो’ खेले । त्यसपछि रोहितकुमार पौडेलले २५ बलमा आक्रामक ४७ रन बनाए । उनले अघिल्लो दिन पनि उच्च स्कोर बनाएका थिए ।

रोहितले त्यसका लागि सात चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले तीव्र गतिमा रन बटुल्ने क्रममा चाँडो–चाँडो विकेट गुमायो । नेपालको दृष्टिकोणले टिमले सम्भवतः यो भन्दा बढी स्कोर खडा गर्नुपर्थ्यो । सायद १ सय ९० को हाराहारीमा । तर, केन्याली दृष्टिकोणमा नेपालले १ सय ५० रनभित्र रोक्न सकेको भए खेलको कथा बेग्लै हुनसक्थ्यो । कप्तान एनगोचेले पनि माने, ‘हामीले सायद केही रन बढी दियौं ।’

केन्या पनि खुसी

शृंखला गुमाएको भए पनि केन्या खुसी थियो । कारण थियो, लामो समयपछि केन्याली भूमिमा फर्केको अन्तर्राष्ट्रिय क्रिकेट । एनगोचले भने, ‘हामी पक्कै पनि शृंखलामा पराजित रह्यौं । त्यसैले केही निराश पनि छौं । तर, यो शृंखलाका धेरै सकारात्मक पक्ष छन् । केन्याली टिममा सुधार आउँदै छ । केन्यामा अन्तर्राष्ट्रिय क्रिकेट फर्केको छ । त्यसैले यो खुसीको अवसर हो ।’ उनका अनुसार पाँचौं ट्वान्टी–२० का लागि प्रयोग भएको पिच सबैभन्दा राम्रो रह्यो ।

तर, यही ‘स्पोर्टी’ पिचमा केन्याले प्रत्युत्तरमा ब्याटिङ गर्दा कहिले पनि जित नजिक पुग्ने प्रदर्शन गर्न सकेन । पूरा टिम २० ओभर त टिक्यो, तर केन्याले सात विकेट गुमाएर १ सय ४४ रनमात्र बनाउन सक्यो । केन्याको सुरुआत कमजोर र सुस्त रह्यो, त्यसैले खेलको कुनै पनि समय केन्याले नेपाललाई दबाबमा राख्ने अवसर पाएन । घरेलु टिमले सुरुआती १० ओभरमा २ विकेट गुमाएर ५४ रनमात्र बनाएको थियो । यो जितको आधार तयार पार्न पर्याप्त थिएन ।

अन्तिम १० ओभरमा केन्याले ८९ रन बनायो, तर १६ ओभर नपुग्दै नेपालले जित्ने तय जस्तै देखिसकेको थियो । टोलीका लागि नेहमिह आधिमाबोले २२ बलमा ३७ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनी छैटौंक्रममा ब्याटिङ गर्न ओर्लेका थिए । उनको ब्याटबाट चार चौका र एक छक्का निस्केको थियो । कप्तान एनगोचेले १८ बलमा ३३ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

सन्दीपको एक दर्जन विकेट

पूरा शृंखलामा कप्तान सन्दीपले १२ विकेट लिए । यसै प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द सिरिज’ रहे । पाँचौं खेलमा भने उनले २६ बलमा २ विकेट लिए । वासिर अहमदले पनि ३० रनमा २ विकेट लिए । केन्याली इनिङ्सको सुरुमा करण केसीले कन्ज्युस्याइँपूर्ण बलिङ गरे । उनले आफ्नो २ ओभरमा ६ रनमात्र दिएर एक विकेट लिए । आदिल अलामले पनि एक विकेट लिए । उनले तीन ओभरमा १२ रनमात्र खर्चे । यस्तोमा करण र आदिलको प्रदर्शन जितमा निर्णायक रह्यो ।

शृंखलाको अन्त्यमा सन्दीपले पनि नेपालको जितमा खुसी देखाए । नेपाली टिमका मुख्य प्रशिक्षकमा मनोज प्रभाकर आएयता नेपालले यो शृंखला जितेको हो । यसले भारतका पूर्वखेलाडीलाई राम्रै राहत दिएको छ । तर उनलाई अझै पनि नेपालको ब्याटिङको चिन्ता कायम रहनेछ ।

पूरा शृंखलामा नेपालको ब्याटिङ कहिलो राम्रो रह्यो त कहिले नराम्रो । टिमको प्रदर्शन एकनासे पनि रहेन । एउटा खेल जितेपछि अर्को हार्नुपर्ने बानी देखियो र यसमा सुधार्न प्रभाकर तथा उनका खेलाडीले कडा मिहिनेत गर्न बाँकी नै छ ।

प्रकाशित : भाद्र १५, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई शृंखला जित्ने अवसर

नेपालले तेस्रो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा केन्यालाई नैरोबीमा चार विकेटले हराएर पाँच खेलको शृंखलामा २–१ को अग्रता लियो
हिमेश

काठमाडौँ — के नेपाली क्रिकेट ब्याटिङको समस्याबाट गुज्रिरहेको छ ? नेपालले तेस्रो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा केन्यालाई आइतबार नैरोबीमा चार विकेटले पराजित गर्दा कम्तीमा त्यस्तो नलाग्न सक्छ ।

नेपालले प्रभावशाली ढंगले १ सय ५७ रनको लक्ष्य पछ्याएको थियो, १९.३ ओभरभित्र । तर, नेपाली इनिङ्स आफैंमा त्रुटिहीन भने रहेन र ब्याट्सम्यानले केही अनावश्यक शट पनि खेले । नेपाली क्रिकेटले ब्याटबाट राहत महसुस गर्ने

हो भने यो भन्दा राम्रो प्रदर्शनको अपेक्षा भने रहनेछ ।

यो जितसँगै नेपालले पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा पाँच विकेटले विजयी रहेको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । अब चौथो खेल सोमबार हुनेछ र यसमा जित हात पार्न सके नेपालले अन्तिम खेल अगाडि नै शृंखला आफ्नो नाममा राख्न सक्छ, त्यसैले ठूलो अवसर बनेको छ ।

तेस्रो खेल सकिँदा नेपालले ६ विकेटमा १ सय ६० रन बनाएको थियो । त्यस अर्थमा नेपालका लागि कीर्तिमानी प्रदर्शन पनि रह्यो । नेपालले जितका लागि ट्वान्टी–ट्वान्टी क्रिकेटमा पछ्याएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो स्कोर हो । यस अगाडि नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध जित निकाल्ने क्रममा १ सय ५२ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

तेस्रो खेलमा प्राप्त जितलाई भने कप्तान सन्दीप लामिछानेले धेरै अर्थमा कठिन रहेकै माने । उनले दुवै टिमले ब्याटबाट राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिँदै जितमा भने आफू खुसी रहेको स्विकारे । उनले भने, ‘केन्याली इनिङ्सको अन्त्यतिर हामी केही महँगो सावित भयौं, तर हाम्रा सुरुआती बलरले राम्रो नै गरे । अर्जुन साउद र ज्ञानेन्द्र मल्लबीचको साझेदारी निर्णायक बन्यो । ब्याटबाट केन्याको प्रदर्शन पनि राम्रो रह्यो । त्यसैले आजको खेल हेर्नमा निकै रमाइलो सावित भएको छ ।’

सन्दीपले विशेषतः अर्जुनको प्रशंसा गरे र उनको प्रदर्शन डेब्यु गरिरहेका खेलाडीको जस्तो नभएको प्रतिक्रिया पनि दिए । अनि उनले जिमखानामा उत्रेका केही सयको संख्याका नेपाली समर्थकलाई धन्यवाद दिन पनि बिर्सेनन् ।

ज्ञानेन्द्रको सुदृढ प्रदर्शन

नेपाली टिममा पुनरागमन गरिरहेका ज्ञानेन्द्र मल्लले नेपालको इनिङ्समा निर्णायक योगदान दिए र उनी नै भए, ‘प्लेयर अफ म्याच’ पनि । उनले ४१ बलमा ४६ रन बनाए । उनको ब्याट्बाट चार चौका र एक छक्का निस्केको थियो ।

उनले प्रारम्भिक ब्याट्सम्यान अर्जुनसँग ४२ रनको प्रभावशाली साझेदारी गरे । नेपालका लागि आफ्नो पहिलो खेल खेलिरहेका अर्जुनले ३१ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । आक्रामक देखिने क्रममा उनी विराज पटेलको बलमा बोल्ड भए ।

अर्का प्रारम्भिक ब्याटर पवन सर्राफले २० रन जोडे । यस्तै, रोहित पौडेलले २९ र आदिल अन्सारीले १६ रनको बहुमूल्य योगदान दिए । ज्ञानेन्द्र नेपाललाई जितसम्म डोर्‍याउन भने असफल रहे । उनी कोलिन्स आबुयाको बलमा इरफान करिमबाट स्टम्पिङ भए । खेलपछि उनले पनि अर्जुनको प्रशंसा गरे, ‘टिमका लागि म अन्त्यसम्म क्रिजमा रहन सकिनँ, अबको टिममा यसका लागि पनि प्रयास गर्ने छु ।’

तेस्रो विकेटका लागि शतकीय साझेदारी

त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याली इनिङ्स पूर्णतः रकिप पटेल र इरफान करिमको नटआउट साझेदारीमा टिकेको थियो । उनीहरूले दुई विकेट गुमाएर २९ रनको स्थितिबाट टिमलाई मजबुत स्कोर खडा गर्न मद्दत गरेका थिए । उनीहरूले तेस्रो विकेटका लागि १ सय २७ रनको ठोस साझेदारी गरे र दुवैले आ–आफ्नो अर्धशतक पनि पूरा गरे ।

इरफानले ४७ बलमा ५५ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । उनको तुलनामा रकिप बढी आक्रामक रहे । उनले सुदृढ ७३ रन बनाए र यसका लागि ४३ बलको मात्र उपयोग गरे । उनले पाँच चौका र चार छक्का प्रहार गरे । उनको ब्याटिङ अगाडि नेपाली बलर खर्चिला सावित भए । रकिप र इरफानले १४ ओभरमा आक्रामक साझेदारीको नमुना पेस गरेका हुन् । नेपाली बलरमध्ये सोमपाली कामी र अदिल अन्सारीले एक–एक विकेट लिए ।

सोमपालले पाँचौं ओभरको दोस्रो बलमा सुखदीप सिंहलाई आठ रनमा आउट गरे । सन्दीपले उनको क्याच लिए । लगत्तै छैटौं ओभरमा आदिलले कोलिन्स ओबुयालाई १४ रनमा बोल्ड गरे । नेपाली बलरमध्ये कप्तान सन्दीप सबैभन्दा महँगो सावित भए र उनले चार ओभरमा ४२ रन दिए । खेलको अन्त्यमा सेम एमगोचेले पिच केही सुस्त रहेको बताए । उनले थपे, ‘तर हाम्रा लागि इरफान र रकिपले सानदार प्रदर्शन गरे ।’

प्रकाशित : भाद्र १३, २०७९ ०६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×