३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

केन्या भ्रमणका खास उद्देश्य

नेपालको केन्या भ्रमणलाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतासँग जोडेर हेरिएको छ
विनोद पाण्डे

काठमाडौँ — केन्याविरुद्ध बिहीबार हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल मनोज प्रभाकरको नेपालको प्रशिक्षकका रूपमा पहिलो खेल हुनेछ । तर खेलाडी छनोटबारे उनीमाथि खासै ठूलो दबाब हुने छैन ।

केन्या भ्रमणका खास उद्देश्य

निर्धारित तालिकाअनुसार २१ सदस्यीय नेपाली टोली सोमबार राति केन्या प्रस्थान गर्ने कार्यक्रम थियो । यसमा १६ खेलाडी छन् । तर भिसा समस्याका कारण ११ खेलाडीसहित प्रशिक्षक प्रभाकर, फिजियो विक्रम न्यौपाने र कम्प्युटर एनालिस्ट रमन सिवाकोटीमात्र केन्या लागेका थिए ।

भिसाका समस्याका कारण नेपालमै रोकिएका ५ खेलाडीमध्ये सोमपाल कामी र विवेक यादव बुधबार मध्यान्हमा काठमाडौंबाट उडेका थिए । उनीहरू केन्याको राति ११ बजेपछि मात्र नैरोबी पुग्नेछन् । सोमपाल र विवेकसहित अन्य ५ जनाको भिसा मंगलबार र बुधबार आएको थियो ।

व्यवस्थापक सुनील महासेठ र खेलाडी आदिल अलाम बुधबार रातिमात्र काठमाडौंबाट उडेका छन् र उनीहरू बिहीबार बिहानमात्र केन्या पुग्नेछन् । भारतीय ट्रेनर अब्दुल सतारसहित खेलाडी बसिर अहमद, शाहब आलम बिहीबार नेपालबाट उड्ने तालिका छ । उनीहरू त्यसै रात पुग्नेछन् । यस्तो अवस्थामा पहिलो चरणमा केन्या पुगेका ११ खेलाडीले मात्र खेल्न पाउने सम्भावना देखिन्छ । सोमपाल र विवेक पहिलो खेलका लागि उपलब्ध त हुनेछन् तर उनीहरूले लामो हवाई उडानपछि आरामको समय कम पाउनेछन् ।

केन्यासँग पहिलो खेलका लागि छनोटमा उपलब्ध ११ खेलाडीमात्र भएकाले ज्ञानेन्द्र मल्लको पुनरागमन, देव खनाल, अर्जुन साउद र किशोर महतोको डेब्यु पहिलो खेलमै सम्भव हुने देखिन्छ । सोमपाल र विवेक छनोटलाई उपलब्ध भएमा मात्र यो समीकरण तलमाथि हुन सक्नेछ । मार्चमा यूएई भएको विश्वकप लिग २ यता नेपाली टोलीबाहिर रहेका ज्ञानेन्द्र केन्या भ्रमणबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

नेपालको एकदिवसीय अन्तराष्ट्रियमा नियमित खेल्दै आए पनि देवलाई ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कहिल्यै समावेश गरिएको छैन । किशोरले दुई महिनाअघि स्कटल्यान्डको ग्लास्गोमा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरे पनि ट्वान्टी–२० अन्तर्राष्ट्रिय अझै खेलेका छैनन् । नेपाली यू–१९ बाट खेलिसकेका विकेटकिपर/ब्याटर अर्जुन पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

फेरिएको बलिङ लाइनअप

नेपालले पछिल्लो १० मध्ये ९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय जितेको थियो । तर एक हारले नेपाल विश्वकपमा पुग्न असफल हुन पुग्यो । फेब्रुअरीको विश्वकप छनोटमा नेपालले ५ मध्ये ४ खेल जितेको थियो । सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको बाटो बन्द भएको थियो । अप्रिलमा नेपालले मलेसिया र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा सबै ५ खेल जितेको थियो ।

विश्वकप छनोटमा खेलेको नेपाली टोलीको तीव्र गतिको बलिङ सम्हालेका अविनाश बोहरा, जितेन्द्र मुखिया र कमलसिंह ऐरी हुने छैनन् । अविनाशलाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘कल’ नै गरेन भने जितेन्द्र वैकल्पिकमा सीमित भए । कमल चोटग्रस्त छन् ।

केन्यासँग पहिलो खेलमा मध्यम गतिमा करण केसी, किशोर महतो तथा स्पिनरमा सन्दीप लामिछानेमात्र उपलब्ध छन् । यस्तो अवस्थामा नेपालले मध्यम गतिमा आरिफ शेख तथा स्पिनरमा पवन सर्राफ, दीपेन्द्रसिंह ऐरीको साथ लिनुपर्ने हुन्छ । सन् २००३ मा एकदिवसीय विश्वकपको सेमिफाइनल पुगेर तहल्का मच्चाएको केन्या अहिले निरन्तर खस्किरहेको टोली हो । टोलीले पछिल्ला ५ मध्ये ३ खेलमात्र जितेको थियो । २०२१ को नोभेम्बरमा टोली कमजोर मानिएका तान्जेनियासँग ४९ रन र युगान्डासँग ६ विकेटले पराजित भएको थियो ।

केन्या भ्रमणको अर्थ

कमजोर स्थितिमा रहेको केन्यासँग खेल्न लागेका कारण क्यानले मिश्रित प्रतिक्रियाको सामना गर्नुपरेको छ । केहीले हदैसम्म आलोचना गरेका छन् । केहीले म्याच एक्सपोजर हुने हुनाले केन्या भ्रमणलाई स्वागतको रूपमा लिएका छन् ।

केन्या भ्रमणलाई धेरै अर्थको रूपमा हेर्नुपर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । नेपालले नोभेम्बरमा अर्को अफ्रिकी राष्ट्र नामिबियामा गएर नामिबिया र स्कटल्यान्डसँग विश्वकप लिग २ को खेल खेल्नेछ । नेपालमा हाल वर्षाका कारण अभ्यास सम्भव नभएको र अफ्रिकी अनुभव हुने हुनाले केन्या भ्रमण फलदायी हुने विश्वास अध्यक्ष चन्दले लिएका छन् ।

पुबुदु दासानायकेको स्थान लिन प्रभाकर १० दिनअघि नेपाल आएका थिए । तर वर्षाका कारण नेपालले २ दिनमात्र मैदानमा अभ्यास गर्न पाएको गुनासो प्रभाकरको थियो । अन्य दिनको प्रशिक्षण इन्डोरमा खुम्चिएको थियो । तर युवा खेलाडीहरू सिक्न र प्रदर्शन दिनका लागि लालयित देखिएकाले प्रभाकरलाई उत्साहित बनाएको थियो ।

केन्या भ्रमणलाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतासँग जोडेर हेरिएको छ । नेपाल हाल विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा १४ औं स्थानमा छ । ३० औं वरीयतामा रहेको केन्यालाई पराजित गरेमा नेपाल आफ्नो वरीयतामा केही सुधार हुन्छ कि भन्ने दाउमा छ । नेपाली टोलीलाई सोमबार बिदाइका क्रममा चन्दले यस्तै आशय व्यक्त गरेका थिए ।

सन् २०२४ को ट्वान्टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिज र अमेरिकाबाहेक शीर्ष १२ वरीयता राष्ट्र सोझै छनोट हुनेछन् । वेस्ट इन्डिज शीर्ष १२ वरीयताभित्र परेमा १३ औं वरीयताको टोली पनि उत्तर अमेरिकामा हुने विश्वकपमा पुग्नेछन् । यसको अर्थ नेपालले वरीयतामा एकस्थान सुधार गरे पनि सिधै ट्वान्टी–२० विश्वकप पुग्ने छ । नोभेम्बरमा सकिने सन् २०२३ को ट्वान्टी–२० को विश्वकपसम्म मात्र वरीयतालाई आधार मानिएको छ ।

१२ औं स्थानमा यूएई र १३ औं स्थानमा आयरल्यान्ड छ । यूएई तीन दिनअघि एसिया कप छनोटमा कुवेतसँग पराजित भएको अवस्थामा विश्व ट्वान्टी–२० वरीयता जता पनि मोडिन सक्छ । नेपालको केन्या भ्रमणको उद्देश्य यसमै केन्द्रित देखिन्छ ।

प्रकाशित : भाद्र ९, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?