१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नाइजेरिया क्रिकेटमा जम्दै अस्मित

कुनै समय नेपालको उमेर समूहको घरेलु क्रिकेट खेलेका अस्मित श्रेष्ठ अहिले नाइजेरियन टिमबाट खेल्छन्
विनोद पाण्डे

काठमाडौँ — अस्मित श्रेष्ठका बारेमा भन्नुपर्दा नेपालबाट सुरु भएर उनको यात्रा अफ्रिकामा दौडिरहेको छ । कुनै बेला उनीसँग नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने सपना थियो । राष्ट्रिय टोलीबाट खेल्ने उनको त्यो सपना नेपालबाट नभई नाइजेरियाबाट पूरा भएको छ ।

नाइजेरिया क्रिकेटमा जम्दै अस्मित

बुवा तेजप्रसाद नवलपरासी सुनवल अनि आमा सावित्री गुल्मी जुहाङका, अस्मित जन्मिए भारत झारखण्डस्थित धनबादमा । उनका बुवा भारतमै काम गर्थे । भारतमै जन्मिए र हुर्किएपछि क्रिकेट उनको नसा बनिहाल्यो । कुनै बेला आफ्नो देशबाट खेल्नुपर्छ भन्ने लाग्यो ।

अस्मित नेपाल आए सन् २००९ मा । तत्कालीन भैरहवा (क्षेत्र नम्बर ४) बाट यू–१६ राष्ट्रिय टोलीबाट खेल्न उनी आएका हुन् । उनले एउटै मात्र खेल खेल्न पाए । त्यो पनि फाइनल । कीर्तिपुरस्थित त्रिवि मैदानको त्यो फाइनल वीरगन्ज (क्षेत्र नम्बर २) विरुद्ध थियो । जहाँ उनी शून्यमै आउट भए । जंगबहादुर थापा भैरहवाका प्रशिक्षक थिए । यद्यपि प्रशिक्षणका क्रममा अस्मितले शक्ति गौचनबाट पनि सिक्ने मौका पाए । त्यहीं उनले अनुप थापालाई चिन्ने अवसर पाए । स्विचन शाह, प्रकाश केसी, सुसन भारी, देवेन्द्र सोमारेसँग उनले खेलेका थिए । उनी नेपाली, हिन्दी, अंग्रेजी सबै मिसाएर बोल्थे । उनलाई कम्युनिकेसन गर्न गाह्रो भइरहेको थियो ।

त्यसपछि अस्मित नेपालमा आएर खेल्नै पाएनन् । पढाइमा थिचिए । पढाइमा उनी त्यति अब्बल थिएनन् । जसले गर्दा परिवारको जोड पढाइमा केन्द्रित रह्यो । भारतमा पढाइसँगै उनले राँचीमा २०१२–१३ मा आरएनडी सेल इन्डियाबाट खेल्न लागे । इशान किसन पनि त्यहींबाट खेलेका थिए । अर्को एक वर्ष अस्मितले त्यहाँ स्थानीयस्तरमा खेले ।

सन् २०१५ मा अस्मित नाइजेरिया पुगे । घरबाट विदेश जान करबल गरेपछि बुवाको साथीको कम्पनीमा जागिर खान उनी नाइजेरिया पुगे । बुवाका साथी नाइजेरियामा माथिल्लो पोस्टमै काम गर्थे । सोही कारण नाइजेरिया पुगेका उनी अहिलेसम्म उतै छन् । जागिरका दौरान तीनवटा कम्पनी परिवर्तन गरिसकेका छन् । नाइजेरिया गएपछि उनी अहिले आक्कलझुक्कल मात्र नेपाल आउँछन् । पछिल्लो पटक सन् २०१६ मा नेपाल आएका थिए ।

...

अस्मितलाई नाइजेरियामा क्रिकेट खेलिन्छ भन्ने पनि थाहा थिएन । मनोरञ्जनका लागि उनीसँग केही विकल्प थिएन । लागोसमा बजारमा ब्याट किनेर उनी कोलोनीमा खेलिरहन्थे । ‘मेरो अनुहार चाइनिज, जापानिज, नेपाली, भारतीय जस्तो थियो । मैले कोलोनीमा क्रिकेट खेलेको देखेर भारतीय समुदायका मानिसले मलाई आधा घण्टा टाढा रहेको रंगशाला पुर्‍याइदियो,’ उनी नाइजेरियामा क्रिकेट खेल्दाको दिन सम्झन्छन् । टीबीएस रंगशालामा एक जनाले कोलकाताका मानिसलाई भेटाइदिनु नै

त्यहाँ उनको क्रिकेट भाग्य खुल्नु थियो । त्यहाँको राइजिङ स्टार क्रिकेट क्लबबाट खेल्ने मौका पाए । अहिले पनि त्यहींबाट खेल्छन् ।

सन् २०१६ मा त्यहाँको लिगमा उनले सबैभन्दा बढी रन बनाए । उनका अनुसार नाइजेरिया क्रिकेटमा राम्रा टिम जति सबै लागोसमै छन् । त्यसको अर्को वर्ष उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ३२ खेलाडीभित्र राखियो । राजधानी अबुजामा बन्द प्रशिक्षण राखिएको थियो । तर, त्यतिबेला उनी टिममा परेनन् । कसैले पत्याएनन् । उनलाई पनि केही भनिएको थिएन ।

पछि खबर आयो विदेशी खेलाडीले त्यो देशमा बसेको तीन वर्षपछि मात्र खेल्न पाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियम रहेछ ।

उनी शनिबार र आइतबारमात्र लागोसमा लिग खेल्थे । बढी अफिसकै काममा केन्द्रित हुन थाले । तौल बढेर ७५ केजीबाट ८९ पुगिसकेको थियो । भारत घरमा जाँदा कसैले पनि शरीर देखेर पत्याउनै सकेनन् ।

सन् २०२० को अन्तिमतिर श्रीलंकाका विश्वकप विजयी असान्का गुरुसिंघे प्रशिक्षक भएर नाइजेरिया पुगेका थिए । त्यसले अस्मितलाई उत्साहित बनायो । उनी आफैं भने पूर्ण फिट थिएनन् । उनले आफ्नो फिटनेसबारे गुरुसिंघेलाई सबै बताए । नाइजेरियाको हिसाबमा भने उनी फिट देखिन्थे । ‘स्किलले अर्थ राख्छ,’ गुरुसिंघेले यसो भनेपछि अस्मितलाई झन् उत्साह मिल्यो । ‘नाइजेरियामा तीव्र गतिका बलर धेरै छन्, उनीहरूको अगाडि खेल्न सक्यौं भने केन्या र युगान्डासँग सजिलै खेल्न सक्छौं’ भनेर गुरुसिंघेले उनलाई उर्जा दिए । जबकि केन्या र युगान्डाको टोलीमा धेरै स्पिनर थिए ।

गुरुसिंघेको प्रशिक्षणमा उनले नाइजेरियाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरे सन् २०२१ को अक्टोबर २९ मा । त्यो खेल सियरा लियोनविरुद्ध थियो । ६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नाइजेरिया पहिलो खेलमा पराजित भयो । त्यसपछि सबै ५ खेल जित्यो । पहिलो खेलमा आफू नर्भस भएको अस्मित सम्झन्छन् । सियरा लियोनसँगको खेलमा अस्मितले नाइजेरियाबाट सर्वाधिक १ सय २ रन बनाए ।

एक महिनापछि रुवान्डा जानु थियो । त्यो विश्वकप छनोट २०२२ का लागि अफ्रिकाको छनोट थियो । गुरुसिंघेले उनलाई सोधे । अस्मितले आफू फिट नभएको प्रशिक्षकलाई भने । प्रशिक्षकले फिट नभए पनि सियरा लियोनसँग सर्वाधिक रन बनाएको र रुवान्डा (राजधानी सहर किगाली) जान एक महिना अझै बाँकी रहेकाले चिन्ता नगर्न उनलाई सुझाए । तर अस्मितलाई अफिसमा छुट्टी पनि मिलिरहेको थिएन । त्यसले गर्दा उनी किगाली जान अनिच्छुक देखिएका थिए । तर गुरुसिंघे र नाइजेरिया क्रिकेट संघका अध्यक्ष आफैं अस्मितलाई बिदा मिलाइदिन लागिपरे । उनीहरू अफिस पुगेर अस्मितको हाकिमसँग भेटेर बिदा मागिदिए । जाने बेलामा गुरुसिंघेले हाकिमलाई हस्ताक्षर गरेर नाइजेरियाको जर्सीसमेत दिएर खुसी पारे ।

...

किगाली यात्रा सोचे जस्तो भएन । अस्मितका लागि त दुःस्वप्न जस्तै भयो । नाइजेरिया सबै ६ खेलमा पराजित भयो । नाइजेरिया, युगान्डा, केन्या, तान्जानिया गरी ४ टिम थिए । सबैसँग २ खेल खेल्नुपर्ने । एक दिनमा दुई खेल खेल्नुपर्ने । तान्जानियामा केही मिलेन अस्मित र नाइजेरियाको । अभ्यासमै घाइते भएका थिए अस्मित । उनले ६३ रनमात्र बनाउन सके । उनका अनुसार त्यो स्तर फरक थियो ।

त्यसयता नाइजेरियाको अन्तर्राष्ट्रिय खेल केही थिएन । सोही भएर गुरुसिंघे पनि नाइजेरियाबाट फर्किए । रुवान्डापछि अस्मितले पनि नाइजेरियाका लागि खेलेका छैनन् । सेप्टेम्बर १५ देखि २५ सम्म दक्षिण अफ्रिकामा अफ्रिका कप हुँदै छ । त्यसमा केन्या, युगान्डा, नाइजेरिया, घाना, बोत्सवाना, मलाबी, मोजाम्बिक, क्यामरुन खेल्दै छन् । उनको तयारी त्यसैलाई छ । वर्षाले बाधा गरिरहे पनि उनको तयारी यो पटक अर्धशतक हान्नलाई छ । अहिले पनि उनी नाइजेरियामा आइरन स्टिलको कम्पनीमा काम गर्दै क्रिकेट खेलिरहेका छन् । ओपनिङ ब्याटर तथा विकेटकिपर अस्मितले नाइजेरियाबाट १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

प्रकाशित : भाद्र ५, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?