सच्चा खेल व्यक्तित्व

ब्याडमिन्टनका उम्दा खेलाडी हुन् कुमार मोहनबहादुर शाही, जोसँग दुर्लभ इतिहास जोडिएका छन्

काठमाडौँ — ब्याडमिन्टनमा पक्कै केही छ । त्यसैले यससँग नेपाली खेलकुदका अनेक ऐतिहासिक तथ्य जोडिएका छन् । केही निकै पुराना खेलाडीको कुरा सुन्नुपर्छ, नेपाली खेलकुदको इतिहास भन्नु नै ब्याडमिन्टनको इतिहास हो कि जस्तो लाग्न सक्छ । नेपाल ब्याडमिन्टन संघ २००८ सालमा गठन भएको थियो । त्यसैले नेपालका खेल संघहरूमध्ये यो जेठोमै पर्छ ।

सच्चा खेल व्यक्तित्व

यस संघका पहिलो अध्यक्ष थिए, राजा महेन्द्र । त्यतिबेला उनी युवराजाधिराज थिए । जतिबेलासम्म राजा भएनन्, उनी संघको अध्यक्षमा कायम रहे । युवराजाधिराज जत्तिको मान्छेले संघ सम्हालेको यो दुर्लभ इतिहास हो । मीठो न मीठो संयोग मान्नुपर्छ । यस खेलमा एक समय उम्दा खेलाडी राजा महेन्द्रका आफ्नै ज्वाइँ पनि रहे । उनी थिए त मोहनबहादुर शाही । आफ्नो समयमा उनी कुमार मोहनबहादुर शाही रहे । ‘कुमार’ राजपरिवारका ज्वाइँले पाउने पदवी थियो । सन् १९७० को छैटौं एसियाली खेलकुद थाइल्यान्डको बैककमा भएको थियो । त्यसको तयारीका क्रममा ब्याडमिन्टनको बन्द प्रशिक्षणमा चलिरहेको थियो ।

यस प्रशिक्षणमा शाही पनि समावेश थिए । यही बेला उनको विवाह तत्कालीन अधिराजकुमारी शोभा राज्यलक्ष्मीसँग भएको थियो । अर्थात महेन्द्रकी कान्छी छोरी र राजा वीरेन्द्रकी बहिनी । राजपरिवारसँग हेलमेल गर्ने मौका पाएकाहरू के भन्छन् भने राजा महेन्द्रका लागि उनी ज्वाइँमात्र थिएनन्, प्रिय ज्वाइँ थिए । कारण ? उनी सच्चा भलाद्मी थिए । अझ भन्दा ‘ट्र्यु स्पोर्टस पर्सन’ । खेलकुदले उनलाई केही थोक खुबै राम्रोसँग सिकाएको थियो । अनुशासन, राम्रो बानीबेहोरा र मिजासिलो स्वभाव ।

उनी अचेल ७९ वर्षका भए । उत्तिकै ‘डाउन टु अर्थ’ छन् । भनिन्छ, तत्कालीन राजपरिवारको ‘हार्डकोर्ड’ सदस्यमध्ये ‘ड्रिंक्स’ र ‘स्मोकिङ’ दुवै नगर्ने उनी एक्ला थिए । किन त ? यसै साता कमलादीस्थित उनको निवासमा भलाकुसारीको मौका मिल्यो । उनले त्यसको कारण खुलाउँदै भने, ‘किनभने म स्पोर्टस पर्सन हुँ । साँच्चैका खेलाडीहरू यस्तै हुन्छन् । खेल्न छाड्ला तर सबथोक बानीबेहोरा खेलाडीकै जस्तो ।’ उनको यही एक खुबीका कारण राजा महेन्द्र कायल हुन्थे भनिन्छ ।

२०५८ जेठ १९ को दरबार हत्याकाण्डबाट जोगिनु उनको भाग्यमै थियो । ब्याडमिन्टन खेलाडी हुँदै उनले घुँडाको चोट बोकेका थिए । त्यही चोटको शल्यक्रियाका कारण उनी त्यो दिन दरबारको भोजमा जान पाएका थिएनन् । उनकी पत्नी शोभा अझ बढी भाग्मानी रहिन् । भोजमै गएकी उनको गोलीले हात र गालाको छाला छोडिएको थियो । दरबार हत्याकाण्डमा गोली लागेर पनि तीनजना जोगिएका थिए । त्यसमध्ये एक शोभा नै थिइन् ।

शाहीको जीवनमा बुवा उज्जल शाही र आमा शिव राज्यलक्ष्मी शाहीको ठूलो प्रभाव छ । विशेषतः बुवाको । शाहीले सुरुमा फुटबल खेले । पछि टेबलटेनिसमा मोडिए अनि अन्त्यमा ब्याडमिन्टनमा अडिए । उनले अनुशासन प्रिय सज्जन आफ्ना बुवासँग घरमै ब्याडमिन्टन कोर्ट बनाउन आज्ञा मागे । अनुमति त पाए तर सर्तसहित । सर्त थियो, कोर्ट बनाउनु अनि ब्याडमिन्टन खेलिरहनुपर्ने । त्यसैबाट आफ्नो नाम पनि राख्नुपर्ने । अनुशासित त हुनैपर्‍यो ।

लगभग किशोर उमेरमै रहेका शाहीले तत्काल ‘हुन्छ’ भनेर उत्तरमात्र फर्काएनन् । पूरा जीवन त्यसमै कायम रहे । पृथ्वीनारायण शाहको पालामा उनकै विरुद्ध लडेको मात्र होइन, विद्रोह पनि गरेको रुकुमेली राजपरिवारको सदस्य रहेका शाही भन्छन्, ‘मैले आफ्नो जग बिर्सेको छैन, बिर्सने पनि छैन । बुवा र खेलजीवनले मलाई के सिकाएको छ भने आफूलाई कसैबाट सम्मानको अपेक्षा छ भने तिनलाई पनि सम्मान गर्न सिक्नुपर्छ । मीठो बोल्नु, त्यसको फर्काइ पनि मीठै हुनेछ ।’

बैंकक एसियाडमा सहभागिता

सन् १९५१ देखि एसियाली खेलकुदको आयोजना सुरु भएको थियो । एसियाली खेलकुदको इतिहास जति पुरानो छ, त्यसमा नेपालको सहभागिता उत्तिकै पुरानो छ । त्यसो भनेको सुरुआती संस्करणदेखि नै नेपालको यसमा सहभागिता रह्यो । तर, दुःख के भने यसबारे ठ्याक्कै यस्तो हो भनेर दाबी गर्न सकिने इतिहास लेखिएको छैन । को कति खेलाडीले कहिले कुन खेलमा कतिबेला भाग लिए भन्ने जानकारीमा हामी निकै गरिब छौं ।

शाहीसँगको कुराकानीका आधारमा एउटा तथ्य के बाहिर आएको छ भने छैटौं एसियाली खेलकुद आइपुग्दा नेपालले ब्याडमिन्टनमा पनि सहभागिता जनायो । त्यो भनेको सन् १९७० को बैंकक एसियाली खेलकुद । सुरुमा यो दक्षिण कोरियाको सोलमा हुने कार्यक्रम थियो, तर उत्तर कोरियाले आक्रमण गर्ने धम्की दिएपछि प्रतियोगिता बैंककमा सर्‍यो । बैंकक गएको नेपाली ब्याडमिन्टन टिमका उनी आफैं सदस्य थिए । नेपालको पहिलो प्रतिद्वन्द्वी बलियो इन्डोनेसिया थियो ।

त्यसैले नेपाली खेलाडीले अपेक्षाअनुसार नै केही ठूलो केही गर्न सकेनन् । नेपाली खेलाडीमध्ये कस्ले कोसँग कस्तो खेल्यो भन्नेबारे शाहीलाई पनि ठ्याक्कै जानकारी छैन । किनभने यो सहभागिता आफैंमा पाँच दशकभन्दा पुरानो भइसक्यो । उनी टिममा सहभागी हुने खेलाडीको ऐतिहासिक सूची भने मुखैमुख भन्न सक्छन् । ६ जनाको टिम थियो । र, यो ऐतिहासिक सूची यस्तो छ, शाही आफैं भइहाले, किशोरबहादुर सिंह, गेहेन्द्रमान सिंह, बलराम केसी, पुरुषोत्तम केसी र ज्ञानबहादुर खड्का ।

सिंह शाहीका आफ्नै फुपूका छोरा हुन् । बलराम र पुरुषोत्तम काका भतिजा थिए । प्रशिक्षक थिए मलेसियाका ली । विदेशबाट नेपाल आएर प्रशिक्षकको भूमिका निभाउनेमध्ये ली पहिले पुस्ताका हुन् । अहिलेको सिद्धार्थ वनस्थली स्कुल रहेको स्थान बालाजुमा बन्द प्रशिक्षण चलेको थियो । तीन महिना प्रशिक्षण भयो । कोर्टमात्र एउटै थियो, त्यो पनि सिमेन्टको । प्रशिक्षण चल्दै गरेका बेला शाहीको विवाह घोषणा भएको थियो । त्यसै कारण केही दिन उनको प्रशिक्षण छुटेको थियो ।

बैंकक जानु अगाडि उनले त्यसका लागि शाही परिवारबाट अनुमति लिनुपरेको थियो । त्यो एसियाली खेलकुद शाहीका लागि विशेष छ । किनभने यो आखिरमा उनको विवाहको वर्ष थियो । शाही परिवारको सम्बन्ध राजपरिवारसँग धेरै अगाडिदेखि थियो । अझ उनका बुवा त राजा महेन्द्रका नजिकका थिए । बुवा आफैं पनि ब्याडमिन्टन खेल्थे । यो सबै घटनालाई खेलकुदको नजरले अहिले हेर्दा यसमा ब्याडमिन्टन सबैभन्दा कारक देखिन्छ । होइन र ? उसको जवाफमा शाही मस्तले हाँस्छन् ।

नेपाली ब्याडमिन्टन धेरै समय शाही परिवारको वरपर नै रह्यो भन्दा हुन्छ । पहिलो अध्यक्ष महेन्द्र आफैं भइहाले । उनी राजा भएपछि मोहनबहादुर शाही खेलाडीको रूपमा उदाए । दशकअघि उनका कान्छा भाइ प्रकाशबहादुर शाही ब्याडमिन्टन संघको अध्यक्ष थिए ।

नम्बर एक चिनियाँमाथि जित

सन् १९७२ मा शाही एसियाली ब्याडमिन्टनमा सहभागी हुन इन्डोनेसिया गए । एसियाली ब्याडमिन्टनको यो नै सबैभन्दा ठूलो प्रतियोगिता थियो । यो सन् १९६२ बाट सुरु भएको प्रतियोगिता हो । इन्डोनेसियामा आयोजित प्रतियोगिता चौथो संस्करणमात्र थियो । एसियाली ब्याडमिन्टनमा नेपालको सहभागिता यो नै पहिलो थियो । त्यस अर्थमा उनी नेपाली ब्याडमिन्टनका ऐतिहासिक खेलाडी हुन् । त्यस टिमका अर्का एक खेलाडी फेरि उही सिंह थिए ।

सँगै बलराम केसी, शंकरबहादुर सिंह र प्रेम पाण्डे । यो अर्को ऐतिहासिक टिमको सूची भयो । प्रशिक्षक थिए, जापानका यामामोतो । ब्याडमिन्टन खेल्नेक्रममा शाहीको सबैभन्दा सम्झनलायक क्षण भने चीनमा बनेको थियो, जतिबेला उनले तत्कालीन नम्बर एक चिनियाँ खेलाडी तान सियाङ हुईलाई हराएका थिए । सन् १९७३ को कुरा हो । अवसर थियो आमन्त्रित प्रतियोगिता । त्यतिबेला चीनको सरकारी कूटनीतिकै एक भाग थियो, विदेशी खेलाडी चीन बोलाउने अनि आफ्ना खेलाडीलाई विदेश पठाउने ।

नेपालका धेरैभन्दा धेरै टेबलटेनिस खेलाडी चीन गए, चीनका खेलाडी यता आउँदा तिनका विरुद्ध पनि खेले । यो त ‘पिङपङ–पोलिसी’ नै भयो । यस्तै नीति ब्याडमिन्टनलाई लिएर पनि थियो । यसैक्रममा शाही बेइजिङ पुग्दा सँगै तत्कालीन अधिराजकुमारी शोभा पनि थिइन् । संयोग भनौं न, आफ्नै श्रीमतीका अगाडि उनले चिनियाँ नम्बर एक खेलाडी हुईविरुद्ध सफलता पाएका थिए । हुई इन्डोसियामा जन्मेका चिनियाँ खेलाडी थिए ।

हुई कति राम्रा खेलाडी थिए भने उनलाई ‘मुकुटविनाका राजा’ पनि भनिन्थ्यो । यिनै खेलाडीलाई बेइजिङको भरिभराउ कभर्डहलमा शाहीले दुई सेटमा पराजित गरेका थिए । यो जित आफैंमा अविश्वसनीय थियो । यो कति धेरे अविश्वसनीय थियो भने अहिले पनि यो सम्झँदा शाही उत्साहित हुन्छन् । जितका बेला पूरा कभर्डहल दर्शकको आवाजले गुन्जयमान भएको थियो । त्यो स्वर अहिले पनि शाहीको मनमा गढेको छ । आँखा चिम्लेर त्यसलाई फेरि फेरि दोहोर्‍याएर सुन्न सक्छन् ।

त्यो पक्कै पनि आमन्त्रित प्रतियोगिताको खेल थियो । त्यस अर्थमा आधिकारिक थिएन । तर यत्ति त पक्कै दाबी गर्न सकिन्छ, नेपाली ब्याडमिन्टनका कुनै पनि खेलाडीले हात पारेको सबैभन्दा ठूलो व्यक्तिगत सफलता हो । हुई अचेल ८० वर्षका भए । त्यस अर्थमा शाहीभन्दा एक वर्ष जेठा । उनी नामी प्रशिक्षक पनि रहे । उनका शिष्य पनि एकसेएक छन् । कसैले ओलम्पिकमा स्वर्ण जितेका छन्, कसैले विश्व च्याम्पियनसिपमा । तिनै सियान हुईविरुद्ध शाहीले खेलका क्रममा आठ गजबको अंक जितेका थिए । भएको के थियोभन्दा शाहीले यस्ता आठ शट प्रहार गरेका थिए, जुन नेटमा हल्का लागेर तल झरेको थियो । त्यसमा सियान हुईले केही गर्नै सकेनन् । यी चिनियाँ खेलाडी उल्टै दंग परे र शाहीसामु आएर सोधेछन्, ‘यो शट हान्न कहाँ सिकेको हो ?’ खासमा चिनियाँ खेलाडीले यस्तो शट खेल्ने गर्दैनथिए । तर उनको अनुमान ठीकै थियो, शाहीले यो शट मलेसियामा सिकेका थिए ।

आफ्नै व्यक्तिगत संग्रहालय

कमलादी दरबारमार्गको कुनै उपयुक्त घरबाट तल हेर्नुपर्छ, त्यहाँको एउटा घरमा गाई पालिरहेको गोठ सजिलै देख्न सकिन्छ । दरबार मार्गमा गोठ ? अविश्वसनीय छ । त्यो भन्दा अविश्वनीय छ, त्यसै घरमा एउटा निजी संग्रहालय छ । त्यो पनि निकै व्यवस्थित र भव्य । यहाँ शाहीसँग जोडिएका सबथोक छन्, किनभने यो उनकै घर हो । यसलाई धेरै हदसम्म खेल संग्रहालय भने पनि हुन्छ । शाहीले आफ्नो खेल जीवनमा जति ब्याडमिन्टन खेले, लगभग सबै ब्याट त्यस संग्रहालयमा छन् ।

केही समय उनले टेनिस पनि खेले । त्यसका ब्याट पनि यहीं छन् । उनी सिकारका सौखिन थिए, त्यसका पूरा झल्को पनि त्यहाँ पाउन सकिन्छ । तर हाम्रो रूचि त खेलमै त थियो । उनी नेपाली प्रतिनिधि भएर सन् १९७२ को म्युनिक ओलम्पिकमा गएका थिए । त्यतिबेलाको ब्लेजर कोट पनि त्यहीं छ । पदक र पुराना पुराना तस्बिर त कति कति । ‘सौख नै सौख’ का धनी यी शाहीलाई कसैले केही दिनुपर्छ, त्यो उनका लागि संग्रहणीय भइहाल्यो ।

यही बानीको उपज हो यो संग्रहालय । यसले नेपाली खेलकुद इतिहासबारे धेरै बोल्ने गर्छ । यहाँ रहेका अनेक तस्बिरमध्ये एकमा शाही र सियान हुई खेलिरहेका छन् । तर यसैबारे जोडिएको चिनियाँ समाचारको कटिङ भने उनले कता हराए कता । सानोमा गोदावरीको सेन्ट जेभियर्समा पढ्दा जितेका गुच्चा पनि उनले हराए । यी पनि दुई भएको भए सायद संग्रहालय अझ पूरा हुन्थ्यो कि ? शाहीलाई यस्तै लाग्छ । खासमा उनी आफूले टेकेको आधार बिर्सन चाहँदैनन् ।

उनको व्यक्तित्वका धेरै आयाम छन् । जसरी हामीलाई उनको संग्रहालयमा रहेको खेलकुदको भागमा मात्र बढी रूचि थियो, त्यसरी नै उनको व्यक्तित्वमा रूचि भनेको पनि खेलकुदसँग जोडिएका मोडमै हुन् । ब्याडमिन्टनमात्र होइन, नेपाली खेलकुदकै उनी ऐतिहासिक पात्र हुन् । उनको त्यो एसियाली खेलकुदमा सहभागिता अनि चिनियाँ नम्बर एक खेलाडीलाई हराएको क्षणबारे कमै मात्र चर्चा भएका छन्, जति हुनुपर्ने थियो वा भएकै छैन । भए धेरै राम्रो । हामी त भन्छौं, खुबै गजब छन्, यी सच्चा स्पोर्ट्सपर्सन मोहनबहादुर शाही ।

प्रकाशित : भाद्र ४, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?