निलम्बित भारतलाई एक साता पर्खने

पुरूष टिमको साफ च्याम्पियनसिप ‘होम एन्ड अवे’ को आधारमा सञ्चालन गर्ने प्रस्ताव

काठमाडौँ — दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले काठमाडौंमा यही भदौमा हुने साफ महिला च्याम्पियनसिप २०२२ सहित तीन प्रतियोगितामा भारतीय टिमको सहभागिताका लागि एक साता प्रतीक्षा गर्ने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई निलम्बन गर्ने निर्णय गरेपछि साफ उक्त निष्कर्षमा पुगेको हो ।

निलम्बित भारतलाई एक साता पर्खने

महासंघ कार्यसमितिको बुधबार भएको भर्चुअल बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले भने, ‘फिफाको निलम्बनपछि भारतमा सम्बन्धित मन्त्रालय समस्या समाधान गर्न अग्रसर छ । अदालतको सुनुवाइ पनि छ । त्यसैले साफ महिला च्याम्पियनसिप, साफ यू–१७ च्याम्पियनसिप (पुरुष) र साफ यू–१५ महिला च्याम्पियनसिपमा भारतको सहभागिताका लागि मंगलबारसम्म पर्खने निर्णय भएको छ । निलम्बन कायम रहे भारतीय टिमबिना प्रतियोगिताको संरचना/खेल तालिका परिवर्तन हुनेछ ।’

प्रफुल पटेल अध्यक्षताको कार्यसमितिले चारवर्षे कार्यकाल सकिएको १७ महिनासम्म पनि निर्वाचन नगरेपछि भारतको सर्वोच्च अदालतले उक्त कार्यसमितिलाई बर्खास्त गर्दै एआईएफएफ सञ्चालनका लागि प्रशासनिक समिति गठन गरेको थियो । त्यसपछि फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै मंगलबार एआईएफएफलाई निलम्बन गर्ने निर्णय गरेको थियो, जसको कुनै पनि भारतीय टिमले फिफा र एएफसी (एसियाली फुटबल महासंघ) का अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रममा सहभागी हुने पाउने छैन । त्यसैले सेप्टेम्बर ६–१९ मा काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपमा भारतको सहभागिता अन्योलमा परेको हो । सर्बोच्च अदलातले बुधबार सुनुवाइ गर्दै समस्या समाधानका लागि केन्द्रीय सरकारलाई पहल गर्न भनेको छ ।

‘मंगलबारसम्म भारतको सहभागितामा अन्योल रह्यो भने च्याम्पियनसिपमा ६ देशमात्रै हुनेछ र खेलतालिका परिवर्तन गरिनेछ,’ महासचिव राईले भने । १२ वर्षअघि सुरु साफ महिला च्याम्पियनसिपका अघिल्ला पाँचै संस्करणमा भारत च्याम्पियन भएको थियो । पछिल्लोपल्ट विराटनगरमा भएको पाँचौं संस्करणको फाइनलमा भारतले घरेलु टिम नेपाललाई ३–१ ले हराएको थियो । गत वर्ष भारतमै सम्पन्न एएफसी एसियन वुमेन्स कपमा प्रतिस्पर्धा गरेको भारतीय टिमलाई यसपल्ट पनि साफमा उपाधि दाबेदार मानिएको छ ।

साफ यू–१७ (पुरुष) च्याम्पियनसिप सेप्टेम्बर ५–१४ मा श्रीलंकाले आयोजना गर्दै छ भने साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्बर १–१२ मा बंगलादेशमा हुँदै छ । निलम्बन कायम रहे भारतीय टिमले यी तीन प्रतियोगिताभन्दा अगाडि अर्को साता उज्वेकिस्तानमा हुने एएफसी एसियन क्लब महिला च्याम्पियनसिप पनि गुमाउने छ, जहाँ गोकुलम केरला क्लबमा आबद्ध हुँदै नेपाली स्ट्राइकर सावित्रा भण्डारी उज्वेकिस्तान पुगिसकेकी छन् ।

साफको बैठकले सन् २०२३ र २०२४ को क्यालेन्डर पनि बनाएको छ । त्यसअनुसार साफ यू–२० महिला च्याम्पियनसिप (३–१३ फेब्रुअरी), साफ यू–१७ महिला च्याम्पियनसिप (१०–२० मार्च), साफ यू–१९ च्याम्पियनसिप (जुलाई–अगस्ट) र साफ यू–१६ च्याम्पियनसिप सेप्टेम्बर–अक्टोबर) मा हुनेछ । प्रतियोगिता स्थलबारे भने निर्णय गरिएको छैन । त्यस्तै, पुरुषको सिनियर टिमको साफ च्याम्पियनसिप पनि २०२३ मै हुनेछ, जसलाई ‘होम एन्ड अवे’ को आधारमा गर्ने प्रस्ताव भएको उल्लेख गर्दै राईले भने, ‘त्यसका लागि ‘मार्केटिङ र रणनीतिक पार्टनर’ बारे छलफल भएको छ ।’ यसअघि साफ च्याम्पियनसिप एउटा देशले आयोजना गर्दै आएको छ ।

प्रकाशित : भाद्र २, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?