महिला साफ च्याम्पियनसिप : भारतको सहभागिता अन्योलमा- खेलकुद - कान्तिपुर समाचार

महिला साफ च्याम्पियनसिप : भारतको सहभागिता अन्योलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई मंगलबार निलम्बन गरेपछि अर्को महिना काठमाडौंमा हुने छैटौं महिला साफ च्याम्पियनसिपमा भारतीय टिमको सहभागिता अनिश्चित बनेको छ ।

फिफाले निलम्बन गरेसँगै भारतको राष्ट्रिय टिम तथा कुनै पनि उमेर समूहका टिम र कुनै पनि क्लबले औपचारिक रूपमा आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । अन्तर्राष्ट्रिय फुटबलका कुनै पनि कार्यक्रममा भारतले प्रतिनिधि पठाउन र फिफा, एएफसी (एसियाली फुटबल महासंघ) बाट कुनै पनि प्रकारका सहायता लिन पनि पाउने छैन । त्यसैले अघिल्ला पाँचै संस्करणको उपाधि कब्जा गरेको भारतको महिला साफ च्याम्पियनसिप २०२२ मा सहभागिता अन्योलमा परेको हो ।

कोभिड–१९ महामारीले प्रभावित भएसँगै तीन वर्षपछि सञ्चालन हुन लागेको च्याम्पियनसिपबारे स्थानीय आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले भने, ‘दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यसमिति बैठक बुधबार हुँदै छ, जहाँ दक्षिण एसियाली स्तरका महिलाका प्रतियोगिता साफ च्याम्पियनसिप, यू–१५ र यू–१७ लाई एजेन्डामा समावेश गरिएको छ । फिफाको निलम्बन कायम रहेसम्म साफ च्याम्पियनसिपमा भारतीय टिम आउन मिल्दैन । च्याम्पियनसिपमा भारतको सहभागिताबारे साफको बैठकले निर्णय गर्न सक्छ ।’

सन् २०१० मा बंगलादेशको कक्सबजारबाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा लगातार पाँचपल्टै भारतले ट्रफी कब्जा गरेको छ । भारतले कुनै पनि खेल हारेको छैन । यसबीच पाँचै संस्करणमा नेपाली टिमलाई पराजित गर्ने पनि भारत नै हो । नेपाली टिम चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा हारेको छ । पछिल्लोपल्ट (सन् २०१९) मा विराटनगरमा सम्पन्न पाँचौं संस्करणको फाइनलमा घरेलु टिम नेपाललाई ३–१ ले हराएर भारत च्याम्पियन भएको थियो ।

लगातार दोस्रोपल्ट नेपालमा सञ्चालन हुन लागेको च्याम्पियनसिपमा पाकिस्तान फुटबल महासंघमाथि लगाइएको प्रतिबन्ध फिफाले हटाइएसँगै साफमा सदस्य सातै देशका टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको थियो । समूह विभाजन र खेल तालिका पनि तय गरिएको थियो ।

नेपाली स्ट्राइकर सावित्रा भण्डारी भारतको महिला लिग च्याम्पियन गोकुलम केरलामा अघिल्लो साता आबद्ध भएकी थिइन् । उनीसहित गोकुलम केरलाको टिम एएफसी वुमेन्स क्लब च्याम्पियनसिपमा सहभागी हुन उज्वेकिस्तान पुगिसकेको छ । अगस्ट २३–२६ मा हुने च्याम्पियनसिपमा गोकुलमले स्थानीय क्लब सोग्दियना र इरानी टिम बम खातनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । तर, एआईएफएफमाथि फिफाको निलम्बन कायम रहेमा गोकुलमले महिला क्लब फुटबलमा एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता खेल्न पाउने छैन ।

खासमा एआईएफएफका अध्यक्ष प्रफुल पटेलसहित कार्यसमितिको कार्यकाल डिसेम्बर २०२० मा सकिएको थियो । त्यसपछि पनि सोही कार्यसमितिले अन्तरिम रूपमा भारतीय फुटबल सञ्चालन गरिरह्यो ।

गत मे महिनामा सर्वोच्च अदालतले पटेल नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै प्रशासनिक समिति गठन गरिदिएपछि एआईएफएफमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा र एएफसीले प्रतिनिधि पठाएर वार्ता गरी समस्या समाधान गर्ने प्रयास नगरेमा प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको थियो । समस्या समाधान नभएपछि फिफाले मंगलबार एआईएफएफलाई निलम्बन गरेको हो । एआईएफएफको मुद्दामाथि सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्दै छ, जसको फैसला फिफालाई चित्तबुझ्दो भयो भने भारतीय फुटबलमाथिको निलम्बन हट्न सक्छ ।

निलम्बन कायम रहेमा अक्टोबर ११–३० मा हुने फिफा यू–१७ विश्वकप २०२२ को आयोजना अधिकार गुमाउने छ र छनोट पा गरेका १६ देशको प्रतियोगिता अर्कै मुलुकमा हुनेछ । त्यस्तै, भारतको पुरुष राष्ट्रिय फुटबल टिमका लागि सेप्टेम्बरमा तय गरिएका भियतनाम र सिंगापुरविरुद्धका मैत्रीपूर्ण खेल रद्द हुने छन् । भारतीय टिमले उमेर समूहका साफ र एएफसीका प्रतियोगिता पनि गुमाउने छ ।

आईएसएल क्लब एटीके मोहन बगानले एएफसी कप २०२२ अन्तरक्षेत्रीय सेमिफाइनलको खेल गुमाउने छ । भारतका कुनै पनि क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पनि पाउने छैन । त्यसैले एआईएफएफमाथि फिफाको निलम्बन र त्यहाँको सर्वोच्च अदालतको सुनुवाइलाई चासोपूर्वक हेरिएको छ ।

प्रकाशित : भाद्र १, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

ओ’ब्रायनको संन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्रायनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपका लागि आयरल्यान्ड टोलीमा पर्ने सम्भावना नदेखेपछि उनले आफ्नो सक्रिय खेलाडी जीवन टुंग्याउने घोषणा गरेका हुन् ।

आफ्नो १६ वर्षको अन्तर्राष्ट्रिय खेलाडी जीवनमा ओ’ब्रायनले ३ टेस्ट, १ सय ५३ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यसबाहेक उनले इंग्लिस काउन्टी र विश्वभरका विभिन्न फ्रेन्चाइज लिग खेलेका थिए ।

३८ वर्षे उनलाई सन् २०११ को विश्वकपमा देखाएको साहसिक प्रदर्शनका कारण विशेष याद गर्ने गरिन्छ । भारतमा उनले इंग्ल्यान्डविरुद्ध ५० बलमै शतक बनाएका थिए । विश्वकप क्रिकेटमा यो अहिले सबैभन्दा कम बल खेलेर बनाइएको शतक हो । उनको त्यो प्रयासमा आयरल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेर सनसनी मच्चाएको थियो ।

डब्लिनमा जन्मिएका ओ’ब्रायनले आयरल्यान्डबाट सबैखाले संरचनामा गरेर कुल ९ हजार ४८ रन बनाए । उनी आयरल्यान्डबाट टेस्ट क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनले २०१८ मा पाकिस्तानविरुद्ध दोस्रो इनिङ्समा १ सय १८ रन बनाएका थिए । उनले कुल २ सय ७६ विकेट लिए । आफ्नो भाइ निलसँगै लामो समय आयरल्यान्डबाट खेलेका उनले समाजिक सन्जाल ट्विटरमा भनेका छन्, ‘१६ वर्ष खेलेपछि म आफ्नो सक्रिय खेलाडी जीवन टुंग्याउन गइरहेको छु । मैले आफ्नो राष्ट्रबाट ३ सय ८९ खेल खेलें ।’

‘अस्ट्रेलियामा हुने विश्वकपबाट मैले आफ्नो खेलाडी जीवन टुंग्याउने विश्वास लिएका थिएँ, तर गत वर्षको विश्वकपपछि नै मलाई टोलीमा राखिएको छैन । मलाई छनोटकर्ता र व्यवस्थापनको विचार अर्कै रहेछ जस्तो लाग्यो,’ उनले अगाडि भनेका छन्, ‘आयरल्यान्डबाट खेलेको प्रत्येक मिनेटमा म रमाएको छु । मैदानभित्र मैले धेरै साथी बनाएको छु । राष्ट्रिय टोलीबाट खेल्दाका मसँग धेरै खुसीका क्षण छन् ।’

आयरल्यान्डका कप्तान एन्ड्रयु बालबिर्नीले ओ’ब्रायनसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी सम्झन्छन् । ओ’ब्रायनले प्रशिक्षणतर्फ हात हाल्ने संकेत गरेका छन् । २०१९ मा उनले नेपाल आएर काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेलेका थिए ।

प्रकाशित : भाद्र १, २०७९ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×