‘बजबल’ मा डर मान्दैन दक्षिण अफ्रिका- खेलकुद - कान्तिपुर समाचार

‘बजबल’ मा डर मान्दैन दक्षिण अफ्रिका

एएफपी

लन्डन — दक्षिण अफ्रिकाले बुधबार लर्ड्समा हुने पहिलो टेस्टमा इंग्ल्यान्डको सामना गर्दै छ । त्यसअघि कप्तान डिन एल्गरले आफूहरूलाई ‘बजबल’ को कुनै चिन्ता नभएको दाबी गरेका छन् । इंग्ल्यान्डले कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याकलमको नेतृत्वमा आक्रामक सुरुआत लिएको छ । 

इंग्ल्यान्डले १७ टेस्टमा एकै जितमात्र निकालेको स्थितिबाट अविश्वसनीय रूपमा उत्कृष्ट प्रदर्शन गर्दै पछिल्ला चार टेस्ट जितेको छ । यसक्रममा इंग्ल्यान्डले विश्व च्याम्पियन न्युजिल्यान्डमाथि तीन टेस्टको शृंखला ३–० ले जितेको थियो । त्यसपछि इंग्ल्यान्डले एजबास्टनमा भएको टेस्टमा भारतलाई ७ विकेटले हराएको थियो ।

यस जितका लागि उसले ३ सय ७८ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो । ‘बजबल’ ले प्रशिक्षक म्याकलमको उपनामको प्रतिनिधित्व गर्ने गर्छ । उनी आएयता रातो बलबाट खेलिने पाँच दिनको टेस्ट क्रिकेटबारे सोच नै फेरिएको छ । तर इंग्ल्यान्डले तय गरेको अति आक्रामक रणनीति जुनसुकै परिस्थितिमा सफल हुनेछ वा हुने छैन, त्यसबारे भने अझै प्रश्न छ ।

विशेषतः दक्षिण अफ्रिकको पेस आक्रामण निकै बलियो रहेको छ । यस टिमविरुद्ध इंग्ल्यान्डको यो रणनीति परीक्षाबाट गुज्रिने छ । ‘इंग्ल्यान्डले जसरी खेल्न थालेको छ, त्यसमा मलाई पटक्कै पनि रूचि छैन । यो यस्तो शैली हो, कुनै पनि समय जुन कुनै टिमको पक्षमा मोडिन सक्छ । इंग्लिस ब्याटरले कसरी हाम्रा बलरको सामना गर्नेछन्, त्यो हेर्नलायक हुनेछ ।’

टेस्टको पूर्वसन्ध्यामा बोल्दै इंग्लिस बलर जेन्स एन्डरसनले भने आफ्नो रणनीतिको बचाउ गरेका छन् । उनी सकारात्मक सोचले खेल्ने नीतिका समर्थक हुन् । भन्छन्, ‘अहिले हाम्रो रणनीति जुन प्रकारको छ, त्यसमा शंका आवश्यक छैन । हामी कुनै पनि लक्ष्य पछ्याउन सक्षम छौं भने जस्तै परिस्थितिमा विकेट लिन सक्षम नै छौं ।’

दुवै टिम बलिङमा बलियो देखिएको छ । यसको ठीक विपरीत ब्याटिङमा केही कमजोरी छ । विशेषतः प्रारम्भिक ब्याटर जोडीमा दक्षिण अफ्रिका बलियो छ । एल्गर आफैं प्रारम्भिक ब्याटर हुन् । उनको नेतृत्वमा ९ टेस्टमध्ये ७ खेलमा दक्षिण अफ्रिका विजयी छ । इंग्ल्यान्ड भने लयमा रहेका ब्याटर जो रुट र जोनी बेरिस्टोमा निर्भर हुनेछ ।

प्रकाशित : भाद्र १, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

बोक्रा ताछेर जबर्जस्ती सुकाइन्छन् साल

सुरूमा फेदका बोक्रा ताछ्ने, पछि पालैपालो जरा पनि काट्न स्थानीयको तँछाडमछाड चल्दा चान्देव क्षेत्रमा सुके सालका थुप्रै रूख 
भवानी भट्ट

कञ्चनपुर — चान्देव । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने लालझाडी गाउँपालिका–६ को गाउँ । यहाँ सालका रूख मनग्य छन् । तर अचम्म, धेरैवटा सुकेका देखिन्छन् । धान लगाएका खेत वरपर सालका खडा रूख आफैं कुनै रोगले सुकेका होइनन् । स्थानीयले नै जानाजान सुकाउनले गरेका छन् । 

रूख सुक्दै गएको छ, त्यसको मुनि धानबाली हराभरा देखिन्छ । निकुञ्जको हरियाली मध्यवर्ती सामुदायिक वन छेउकै खेतमा सालका सयौं रूखहरू सुकेका छन् । स्थानीयवासी भने पुराना भएकाले रूख आफैं सुकेको भन्न छाड्दैनन् । संरक्षणकर्मीहरूका अनुसार स्थानीयले नै सुरुमा फेदका बोक्रा निकाल्ने, पछि बिस्तारै जरा काटने गरेर रूख सुकाउने गरेका छन् । १ सय ५९ हेक्टर क्षेत्रफलमा रहेको हरियाली मध्यवर्ती सामुदायिक वन छेउमै आवादी क्षेत्र बढी भएका कारण हरिया रूखहरू सुकाएको पाइएका छन् ।

निकुञ्जसँगै जोडिएको मध्यवर्ती वन छेउका अग्ला रूखहरू सुकाउँदै जाँदा वनक्षेत्र मासिने जोखिम बढेको छ । मध्यवर्ती सामुदायिक वन छेउका अधिकांश खेतमा ठुल्ठूला सालका रूखहरू सुकेका सहजै देख्न सकिन्छ । ‘केही आफैं सुके, केही बोक्रा निकालेपछि सुके,’ स्थानीय अर्जुन बोहराले भने, ‘खेतमा रहेका सबै रूख सुकेर गए ।’

त्यहाँका रूख बिरुवाहरू केही वर्षअघिसम्म हरिया नै रहेको शोभाताल मध्यवर्ती उपभोक्ता समूहकी अध्यक्ष मीना चौधरीले बताइन् । उनका अनुसार स्थानीयले विभिन्न उपायले रूखहरू सुकाएका हुन् । रूख सुकेको मध्यवर्ती सामुदायिक वन शोभाताल उपभोक्ता समुहअन्तर्गत पर्छ । ‘खनजोत गर्नै जरा काट्ने अनि फेदमा बोक्रा काटेपछि रूख त आफैं सुकिहाल्छ,’ चौधरीले भनिन्, ‘स्थानीयले खेतीपाती गर्ने ठाउँमा जानीजानी रूख सुकाएका हुन् ।’ निकुञ्ज किनारमा खेतमा रहेका अधिकांश रूख सुकेका छन् । ती सुकेका रूखहरू रातारात गायब हुने गरेका छन् ।

चान्देव क्षेत्र हात्तीको परम्परागत मार्ग पनि हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट लालझाडी मोहना संरक्षित क्षेत्रसम्म पुग्ने हात्तीको परम्परागत मार्गका रूपमा चिनिन्छ । उक्त क्षेत्रमा निकुञ्ज किनारका रूखहरू सुकाइँदा हात्तीको मार्ग बिथोलिने संकेत देखिएको छ । केही वर्षयता चान्देव क्षेत्रमा हात्तीको आतंक बढ्दै गएको छ । खेतीपाती नास गर्नुका साथै हात्तीले धनजनको समेत क्षति पुर्‍याउँदै आएको छ । एकातर्फ वन क्षेत्र मासिँदै जानु र अर्कोतर्फ हात्तीको मार्गमा बाक्लो बस्ती विस्तार हुँदै जाँदा द्वन्द्व बढ्दै गएको संरक्षणकर्मीहरू बताउँछन् ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट लालझाडी मोहना संरक्षित क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म हात्ती पुग्ने गर्छन् । ती हात्ती शुक्लाफाँटाबाट भारतकै पिलिभित टाइगर रिजर्भसम्म पुगेर सोही मार्ग फर्किने गर्छन् । निकुञ्ज क्षेत्रमा मात्रै होइन अन्य वनमा पनि बस्ती नजिकका रूखहरू यसैगरी सुकाइन्छ ।

सुरुमा सुकाउने र पछि रूख नै गायब हुने गरेको छ । चुरे फेदीदेखि लालझाडी मोहना संरक्षित क्षेत्रलगायत विभिन्न सामुदायिक वनमा यसैगरी रूखहरू सुकाउने चलन बढेको छ । स्थानीयले खनजोतमा अप्ठेरो हुने भएकाले पनि यस्तो गर्ने गरेका हुन् । अर्कोतर्फ काठको तस्करी समेत हुने गरेको हो । लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि बस्ती नजिकका रूखहरू ठूलो संख्यामा सुकाएको पाइन्छ ।

प्रकाशित : भाद्र १, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×