ओ’ब्रायनको संन्यास

काठमाडौँ — आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्रायनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपका लागि आयरल्यान्ड टोलीमा पर्ने सम्भावना नदेखेपछि उनले आफ्नो सक्रिय खेलाडी जीवन टुंग्याउने घोषणा गरेका हुन् ।

ओ’ब्रायनको संन्यास

आफ्नो १६ वर्षको अन्तर्राष्ट्रिय खेलाडी जीवनमा ओ’ब्रायनले ३ टेस्ट, १ सय ५३ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यसबाहेक उनले इंग्लिस काउन्टी र विश्वभरका विभिन्न फ्रेन्चाइज लिग खेलेका थिए ।

३८ वर्षे उनलाई सन् २०११ को विश्वकपमा देखाएको साहसिक प्रदर्शनका कारण विशेष याद गर्ने गरिन्छ । भारतमा उनले इंग्ल्यान्डविरुद्ध ५० बलमै शतक बनाएका थिए । विश्वकप क्रिकेटमा यो अहिले सबैभन्दा कम बल खेलेर बनाइएको शतक हो । उनको त्यो प्रयासमा आयरल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेर सनसनी मच्चाएको थियो ।

डब्लिनमा जन्मिएका ओ’ब्रायनले आयरल्यान्डबाट सबैखाले संरचनामा गरेर कुल ९ हजार ४८ रन बनाए । उनी आयरल्यान्डबाट टेस्ट क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनले २०१८ मा पाकिस्तानविरुद्ध दोस्रो इनिङ्समा १ सय १८ रन बनाएका थिए । उनले कुल २ सय ७६ विकेट लिए । आफ्नो भाइ निलसँगै लामो समय आयरल्यान्डबाट खेलेका उनले समाजिक सन्जाल ट्विटरमा भनेका छन्, ‘१६ वर्ष खेलेपछि म आफ्नो सक्रिय खेलाडी जीवन टुंग्याउन गइरहेको छु । मैले आफ्नो राष्ट्रबाट ३ सय ८९ खेल खेलें ।’

‘अस्ट्रेलियामा हुने विश्वकपबाट मैले आफ्नो खेलाडी जीवन टुंग्याउने विश्वास लिएका थिएँ, तर गत वर्षको विश्वकपपछि नै मलाई टोलीमा राखिएको छैन । मलाई छनोटकर्ता र व्यवस्थापनको विचार अर्कै रहेछ जस्तो लाग्यो,’ उनले अगाडि भनेका छन्, ‘आयरल्यान्डबाट खेलेको प्रत्येक मिनेटमा म रमाएको छु । मैदानभित्र मैले धेरै साथी बनाएको छु । राष्ट्रिय टोलीबाट खेल्दाका मसँग धेरै खुसीका क्षण छन् ।’

आयरल्यान्डका कप्तान एन्ड्रयु बालबिर्नीले ओ’ब्रायनसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी सम्झन्छन् । ओ’ब्रायनले प्रशिक्षणतर्फ हात हाल्ने संकेत गरेका छन् । २०१९ मा उनले नेपाल आएर काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेलेका थिए ।

प्रकाशित : भाद्र १, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?