२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तानसेनको टुँडिखेलमा ‘बर्मुडा दुबो’

माधव अर्याल

पाल्पा — तानसेनका फुटबल खेलाडी सुरज रञ्जनले हिलो र धूले मैदानमा खेलेरै डेढ दशक बिताए । उनलाई सफा, चिटिक्क, घाँस भएको मैदानमा बाहिरी जिल्लामा खेल्दा सपनाझैं लाग्थ्यो । यतिमात्र होइन, टेलिभिजनका पर्दामा देखेका मैदानलाई पनि उनले यस्तैमा खेल्न पाए हुन्थ्यो भन्थे । तानसेन टुँडिखेलमा घाउ, चोट लाग्ने मात्र होइन, धेरै पटक हिलाम्मे र धुलाम्मे भएको यादले सताइरहन्छ । पछिल्ला तीन वर्षयता त्यही टुँडिखेलमै अभ्यास गर्न पाएका थिएनन् । जिल्लास्तर, क्लबका फुटबल प्रतियोगितासमेत हुन सकेको थिएन ।

तानसेनको टुँडिखेलमा ‘बर्मुडा दुबो’

‘अबचाहिँ आकर्षक र चिटिक्क मैदानमा खेल्ने सपना पूरा होलाजस्तो छ,’ टुँडिखेलको एक छेउमा उभिएका उनले भने, ‘पक्कै पनि हामीमात्र होइन, जुनियर भाइबहिनीलाई खेल मैदानले फुटबलमा आकर्षण थप्नेछ ।’ उनीमात्र होइन, खेलाडी तथा प्रशिक्षक रितेश मल्ल पनि आकर्षक फुटबल मैदान बन्न लागेकामा खुसी छन् । डेढ दशकदेखि धूलो र हिलोमा लड्दै भिड्दै आएको उनलाई सम्झना छ । केही समय काठमाडौंस्थित एन्फा एकेडेमीमा पनि बसे । काठमाडौंको जस्तै मैदानको अपेक्षा नहुने कुरै भएन । आफैं फुटबल खेल्ने र जुनियरलाई प्रशिक्षण दिएका उनले भने, ‘अब पक्कै पनि खेल मैदान बन्नेछ भन्ने भएको छ । सायद विगतमा जस्तो नहोला ।’

विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । तर, मैदानको ‘पानी लेबल’ नमिल्दा छिट्टै बिग्रियो । अहिले भने खेल मैदान सुधार गरेको देख्दा खेलाडी पनि खुसी भएका छन् । तानसेन टुँडिखेलमा अब खेलाडीले बरमुडा घाँसमा फुटबल खेल्न पाउनेछन् । उनका अनुसार खेलाडीमा अहिले खुसियाली छाएको छ ।

तानसेन नगरपालिकाले टुँडिखेल मैदानलाई सुधार गरेको हो । फुटबल मैदानलाई अलग्गै बनाएको छ । यहाँ ‘बर्मुडा दुबो’ रोपिएको छ । दुई महिनाभित्र टुँडिखेल नै चिटिक्क र आकर्षक बन्ने अपेक्षा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीरजंग राणाको छ । ‘अहिले यहाँ दूबो रोपिएको छ,’ उनले भने, ‘यस क्षेत्रमै बरमुडा दुबो रोपिएको यो पहिलो हो ।’ जिल्लामा अन्यत्र यसरी मैदान सुधार भएको छैन । नजिकका फुटबल मैदान सुधार्ने प्रयास भए पनि टुँडिखेल नै छिटो तयार हुने उनले बताए ।

‘६ महिनापछि खेल्नका लागि मैदान तयार हुन्छ,’ उनले भने । ७४ मिटर चौडाइ र १ सय ९ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ । मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ । त्यसलाई दुईपटक घाँस कटिङ गरेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तण गर्नेछ । कम्तीमा आठपटक दुबोलाई मेसिनले काटेपछि मात्र खेल्नका लागि तयार हुन्छ । ‘फागुनदेखि खेल मैदान पूर्ण रूपमा तयार हुने अपेक्षा छ,’ अध्यक्ष राणाले भने, ‘त्यसअघि प्रतियोगिताको तयारी हुनेछ ।’ मैदान तयार भएपछि प्रदेशस्तरको पाल्पा गोल्डकप’ खुला फुटबल प्रतियोगिता हुने उनले बताए । त्यसका लागि तयारी अघि बढाइएको छ ।

उनका अनुसार राष्ट्रिय, प्रदेश र जिल्लास्तरका प्रतियोगिता सञ्चालनका लागि उत्कृष्ट खेल मैदान टुँडिखेल हुनेछ । तानसेन नगरपालिकाको टुँडिखेल सुधार योजनाअन्तर्गत नगरपालिकाको प्रांगणसँगै टुँडिखेल मर्मत सम्भार तथा सुधार गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि टेन्डर आह्वान गरेको थियो । दुई वर्षअघि नै काम सकिनुपर्ने थियो । तर, निर्माण व्यवसायीको लापरबाहीले अहिलेसम्म सम्पन्न भएको छैन । फुटबल मैदानमात्र होइन, यहाँ ज्येष्ठ नागरिकमैत्री र बालउद्यान पनि बनेको छ ।

दुई वर्षभित्र कामसक्ने गरी टुँडिखेलको सुधार गर्न ३ करोड ८२ लाख ९४ हजार रुपैयाँको टेन्डर भएको हो । तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार जयनेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले टुँडिखेल सुधारका लागि ठेक्का पाएको हो । गुरुयोजना बनाएर सोहीअनुसार काम गरेको उनले बताए । ‘निर्माण व्यवसायीका अनुसार हामीले धेरै गाली खानुपरेको छ,’ उनले भने, ‘बीचमा कोभिडलगायतका कारण देखाएर निर्माण व्यवसायीले काम नगर्दा ढिलाइ हुन पुग्यो, नत्र भने दुई वर्षअघि नै सुधारिएको टुँडिखेल देख्न पाइन्थ्यो ।’

टुँडिखेलले तानसेन बजारको महिमा बोकेको छ । पहाडको टुप्पोमा ठूलो खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम भएको उनले बताए । टुँडिखेल मर्निङवाक स्थल, फुटबल मैदान र विश्रामस्थल पनि हो । फुटबल मैदान स्तरोन्नतिका साथै बाल बगैंचा, ज्येष्ठ नागरिक केन्द्र, विश्रामस्थल बनाउने काम भएको तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

निर्माणको काम ८५ प्रतिशत सकिएको छ । ‘टुँडिखेलको बीच भागमा फुटबल मैदान र त्यसको वरपर अन्य संरचना निर्माण गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्ड्येले भने, ‘यसबाट तानसेनको अर्को आकर्षणका रूपमा टुँडिखेललाई लिइनेछ ।’

यसअघि तीन वर्षदेखि टुँडिखेलमा खेलाडीले खेलकुद अभ्यास गर्नसमेत पाएका छैनन् । प्रतियोगिता आयोजना गर्न तानसेन नगरपालिका–९, दमकडा र माथागढी गाउँपालिका–३, सराईमा रहेको खेल मैदानमा पुग्नुपरेको थियो । क्रिकेट, भलिबल, फुटबल प्रतियोगिता नै हुन छाडेका छन् । टुँडिखेलमा जुनियरदेखि सिनियर खेलाडीले दिनहुँ अभ्यास गर्थे । २०५० सालअघिसम्म टुँडिखेलमा राष्ट्रियस्तरका फुटबल प्रतियोगिता हुन्थे । जिल्लास्तरको वीरेन्द्र सिल्ड, राष्ट्रिय स्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगिता हुन्थे । २०५१ सालपछि भने जिस्तारै खेलकुद प्रतियोगिता हुन छाडेको यहाँका पुराना खेलाडी सुरेश लिगल स्मरण गराउँछन् । यहाँको प्रख्यात करुवा कप, मणिमुकुन्द कप फुटबल सम्झनायोग्य भएको पूर्वखेलाडी राजेश्वर उदयले सुनाए । यस्ता प्रतियोगिताले मैदान अभावमा निरन्तरता पाएका थिएनन् ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?