कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ट्रेडमार्क : ब्याक-भली

लिग वनमा मेसीको बाइसाइकल किकपछि भारतीय फुटबलमा थापाको ब्याक–भली फेरि एकपल्ट चर्चामा
राजु घिसिङ

काठमाडौँ — फ्रान्सेली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता ‘लिग वन’ मा नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लेर्मोन्ट फुटलाई ५–० ले पराजित गरेको थियो । उक्त खेलमा लियोनल मेसीले ८६ औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलको खुबै चर्चा भइरहेको छ ।

ट्रेडमार्क : ब्याक-भली

अर्जेन्टिनी स्टारले लियान्ड्रो परेडेजको पासमा छातीले नियन्त्रण गर्दै बललाई ‘बाइसाइकल किक’ प्रहार गर्दै उत्कृष्ट गोलमा परिणत गरेका थिए ।

कीर्तिमान सातपल्ट बालोन डि’अर अवार्ड (विश्वकै सर्वोत्कृष्ट फुटबलर) जितेका मेसीको उक्त गोलको दृश्य र तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । भारतको ‘इकोनोमिक टाइम्स’ ले ६ अगस्टमा मेसीले गरेको गोललाई मोहन बगानका लागि श्याम थापाले इस्ट बंगालविरुद्ध ४४ वर्षअघि गरेको गोलसँग तुलना गर्दै दुवै तस्बिरलाई प्रकाशित गरेको थियो । थापाले सुवास भौमिकको क्रसमा मोहमद हबिबको ‘हेडर’ पछि बाइसाइकल किकमा गोल गरेका थिए । उनले सन् १९७८ अगस्ट ६ मा कोलकातामा उक्त गोल गरेका थिए र त्यस बेला यस्तो किसिमको प्रहारलाई ‘ब्याक–भली’ भनिन्थ्यो । लिग वनमा मेसीको बाइसाइकल किकपछि भारतीय फुटबलमा थापाको ब्याक–भली फेरि एकपल्ट चर्चामा आएको छ ।

‘श्यामको सबभन्दा राम्रो ब्याक–भली हो, जता गए पनि उनको ब्याक–भलीका फ्यान भेटिन्छन्,’ कुनै बेला देहरादूनको स्कुलमा एउटै टिमबाट खेलेका भीम थापाले भने, ‘ब्याक–भलीसँगै स्कोरर पनि हुन् । स्कोररको अलग्गै खुबी हुन्छ नि जन्मजात किसिमको, हो त्यो थियो उनमा । हामीले मेसीलाई गोल गरेको देख्छौं, अनपेक्षित गर्छन् नि, त्यस्तै गर्थे श्यामले पनि । अर्डिनरी प्लेयरले अवसरको प्रतीक्षा गर्छ । एक्स्ट्रा अर्डिनरी प्लेयरले अवसर सिर्जना गर्छ, जस्तो: मेसी । त्यस्तै क्रिएटर हुन् श्याम । उनी सानैदेखि एक्स्ट्रा अर्डिनरी खेलाडी हुन् ।’ स्कुलमा भीमभन्दा जुनियर थिए श्याम । भीम राम्रो मिडफिल्डर थिए, श्याम स्ट्राइकर ।

ठमेल ११ का पूर्वखेलाडी तासी घलेले भने, ‘म उहाँ (श्याम) को ब्याक–भलीको फ्यान नै हुँ । उहाँलाई ब्वाइज युनियनमा खेल्दा कसरी ब्याक भली हान्ने भनेर सोधेको थिएँ, बल आउनुभन्दा अगाडि नै तयार हुनुपर्छ भन्नुभयो, कत्ति प्रयास पनि गरें तर त्यस्तै ब्याक–भली हान्न कहिल्यै सकिएन ।’ उनी स्कुलमा जिम्न्यास्टिकलगायत धेरै खेल खेल्थे । टेनिस बल त जहिले पनि गोजीमा बोक्थे । उनी ७३ वर्षको उमेरमा पनि कोलकाताको क्ले–कोर्टमा सातामा तीन दिन टेनिस खेल्छन् । तर, उनको ‘ट्रेड–मार्क’ ब्याक–भली नै बन्यो, जुन मेसी युगमा बाइसाइकल किक भएको छ ।

गोर्खा मिलिटरी स्कुलबाट लिटिल डुरान्ड कप जितेपछि गोर्खा टिमबाट १५ मिनेट खेल्ने अवसर पाएका श्याम इस्ट बंगालको रोजाइमा परेपछि कोलकाता हान्निएका थिए । १६ वर्षको छँदै कोलकाता पुगेका उनी अहिले पनि भारतको पुरानो राजधानीमा सरकारले उपहार दिएको घरमा बस्छन् । फरक यत्ति हो कि उनको पहिचान फेरिएको छ । त्यो बेला ‘केटो’ का रूपमा कोलकाता छिरेका उनी ‘श्याम दादा’ बनेका छन् । फिफा यू १७ विश्वकपताका पाँच वर्षअघि घरमै भेट्दा उनी युवा जोसमै थिए । स्टार खेलाडीलाई जस्तै उनलाई अचेल पनि कतै बजार र मलतिर निस्कँदा मानिसहरूले घेरिहाल्छन् । उनलाई ढोग्नेहरू टेनिस कोर्टदेखि बजार र सडकसम्मै भेटिन्छन् । उनकै खेल हेर्न नेपालबाट धेरै जना पटना, दिल्लीदेखि मुम्बईसम्मकै यात्रा गर्थे ।

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षकसमेत रहेका भीम सन् १९८६ को एसियन क्लब च्याम्पियनसिपमा न्युरोड टिम सम्हालेको बेला श्याम पनि इस्ट बंगालको सहायक प्रशिक्षकका रूपमा कोलम्बो पुगेका थिए । बर्सेनि दुईपल्ट जति श्याम काठमाडौं आउँछन्, यी दुईको भेट हुन्छ । खेल्न छाडेको ३७ वर्षपछि पनि श्याम फुटबल जगत्मा लोकप्रिय छन् । भीमले भने, ‘चार्मिङ पर्सनालिटी छ । फ्र्यांक स्वभावको छ । कुनै कुरा लाग्यो भने भन्दिइहाल्छ, अप्ठेरो मान्दैन । सानैदेखि साथी र खेलाडीका लागि जे पनि गर्छन् । अहिले पनि उस्तै छन् । चार्मिङ पर्सनालिटीमा कुनै कमी आएको छैन ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?