१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खराब व्यक्तिलाई नै जिम्मेवारी दिनुपर्छ : प्रभाकर

‘नेपाली टोलीको औसत उमेर २२ वर्ष छ, यो भनेको युवा टोली हो, युवाले चाँडो सिक्छन् र राम्रो प्रदर्शन गर्छन्’
विनोद पाण्डे

काठमाडौँ — ‘जब टिममा एउटा व्यक्ति खराब हुन्छ, उसैलाई नै त्यो टिमको जिम्मेवारी दिनुपर्छ,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर यसरी नै सोच्छन् । कारण प्रभाकरको विचारमा यसले त्यो खराब व्यक्तिमाथि दबाब सिर्जना गर्छ । नेपाली टोलीभित्र ग्रुपिजमको बारेमा प्रश्न गर्दा उनी त्यसलाई फरक ढंगले यसरी उत्तर फर्काइरहेका थिए ।

खराब व्यक्तिलाई नै जिम्मेवारी दिनुपर्छ : प्रभाकर

‘अहिले हामी एउटा परिवार हौं, यदि परिवारमा एउटा समूह छुट्टिएर बसेको हुन्छ भने त्यो परिवारले सफलता हात पार्ने सम्भावना रहँदैन । परिवारमा कोही एक जना दुःखी छ भने त्यसको पीडा पूरा परिवारले बेहोरिरहेको हुन्छ,’ प्रभाकर खेलाडीलाई विश्वस्त बनाउने आफ्नो फर्मुला सुनाउँदै थिए, ‘हामी एउटा परिवारका रूपमा खेल्छौं र जुध्छौं भने भविष्यमा सामूहिक रूपमा त्यसको सफलता पनि पाउँछौं ।’

यस्तो अवस्था चारैतिर छ तर त्यसलाई कसरी लिने भन्ने त्यही व्यक्तिमा भर पर्ने प्रभाकरले बताए । अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षकमा नियुक्त गरेका भारतका पूर्वअलराउन्डर प्रभाकर शनिबार राति नेपाल आइपुगेका थिए र आइतबार सञ्चारमाध्यमसामु प्रस्तुत भएका थिए ।

२०१५/१६ मा अफगानिस्तानको बलिङ प्रशिक्षक रहिसकेका प्रभाकरले पहिलो पटक राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । उनले आइतबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुर गएर नेपाली टोलीको अभ्यासमा समावेश भएका थिए । नेपालको टोली युवा भएकाले चाँडै लय लिने विश्वास उनको थियो ।

‘जब म अफगानिस्तानमा थिएँ, उनीहरू कहीं थिएनन् । युवा टोली छरितो र जहिले सिक्नलाई लालायित हुन्छन्, नेपाली टोलीको औसत उमेर २२ वर्ष छ, यो भनेको युवा टोली हो । युवाले चाँडो सिक्छन् र राम्रो प्रदर्शन गर्छन्,’ प्रभाकरले भने, ‘आज मैदानमा जसरी उनीहरू मैले भनेको सुनिरहेको थिए, विचारहरू राखिरहेको थिए, त्यसले मेरो पहिलो दिनलाई निकै फलदायी बनाएको थियो । यसलाई मैले धेरै सकारात्मक रूपमा लिएको छु । यसको नतिजा केही समयमै देख्न पाइन्छ ।’

पहिलो दिनको अभ्यासमा ब्याटरबाट उनी सन्तुष्ट हुन सकेनन् । अर्को उनी ९० को दशकको क्रिकेट शैलीमा पनि फर्किए । ‘हाम्रो लक्ष्य एकदिवसीय मान्यता रक्षा गर्नु हो, हामी त्यसैको प्रतीक्षामा छौं । तर अहिलेको क्रिकेटको कमजोरी सबै जना आईपीएल खेल्न चाहन्छन्, त्यसपछि टेक्निक गलत हुन्छ । आईपीएल पावर खेल हो, जबकि टेक्निक सुधार्न एकदिवसीय र टेस्ट खेल्नु आवश्यक हुन्छ,’ प्रभाकरले भने, ‘मेरो पहिलो लक्ष्य टेक्निकलाई सुधार गर्नु हुनेछ, त्यसपछि टेस्टका बारेमा योजना बनाउनेछौं । टेस्टमा पुग्नुभन्दा पहिला विश्वकप लिग २ मा बाँकी रहेकामध्येबाट अधिकतम खेल जित्नु आवश्यक छ ।’ नेपालले लिग २ मा २० वटा म्याच खेलिसकेको छ । १६ वटा म्याच खेल्न बाँकी रहेको अवस्थामा नेपाल सात राष्ट्र सहभागी प्रतियोगिताको छैटौं स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन कम्तीमा पाँचौं स्थानभित्र रहनुपर्ने अवस्थामा प्रभाकरले भने, ‘अब हाम्रो ध्यान बाँकी रहेको १६ खेलमा हुनेछ, जसमा अधिकतम खेल जित्नुपर्नेछ ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?