पीएसजीको जितमा नेयमारको दुई गोल- खेलकुद - कान्तिपुर समाचार

पीएसजीको जितमा नेयमारको दुई गोल

एएफपी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शनिबार लगातार दोस्रो जित निकालेको छ । नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५–२ ले हरायो ।

नयाँ प्रशिक्षकका रूपमा क्रिस्टोफ ग्लाटिएर आएयता पीएसजीले सुरुआती दुई खेलबाट अधिक्तम छ अंक बटुलेको हो । यस सजिलो जितमा फयाने साको, वाहबी खाजरी र इन्जो चोटोले एक एक गोल गरे ।

पीएसजीले नयाँ सिजनको पहिलो खेलमा पनि क्लेमोन्टमाथि पाँच गोलकै जित निकालेको थियो । शनिबारको अर्को खेलमा मोनाको र नेनेसले १–१ को बराबरी खेले ।

प्रकाशित : श्रावण २९, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्

६ वर्षपछि बास्सा नाँच

प्रकाश बराल

बागलुङ — प्रताप मल्लले छोराको शोकमा डुबेकी पत्निलाई खुसी पार्न गाइजात्राको चलन बसाले । सोही समयमा समाजमा योगदान भएका विशिष्ट व्यक्तिको निधन भएमा बास्सा नाच देखाउने चलन भक्तपुरमा थियो ।

बसाइ सरेर बागलुङ आएका नेवारहरुले यो नाच पनि सँगै ल्याए । सामाजिक योगदान भएका व्यक्तिको स्तुतिगान गाउने, उनीहरुको जीवनीबारे गीत बनाएर गाउने, राम, सीता, लक्ष्मण र हनुमान बनाएर नचाउने चलन बसाले । यस्तो चलनले शोकमा डुबेका परिवारलाई सन्तोष मिल्ने, मृतकको आत्माको पनि शान्ति प्राप्त हुने विश्वास गरिन्थ्यो ।

बागलुङमा बास्सा नाच हरेक वर्ष गाईजात्राकै दिन निकालिन्थ्यो । तर यो नृत्य धेरै खर्चिलो छ । कोरियोग्राफर र कलाकार चाहिने, गीत गाउनेहरुदेखि नाच्नेसमेत गर्दा कलाकारिता गर्नेमात्रै २० जनाभन्दा धेरै चाहिने भएपछि बास्सा नाच लोपोन्मुख छ । ‘यो नाचका लागि कलाकार र अन्य सामग्री जुटाउन नसक्दा ६ वर्षमा पहिलोपटक मात्रै भयो,’ नेपाल भाषा मंकाखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले भने, ‘यो धेरै खर्चिलो पनि छ, जोहो गर्न समस्या हुन्छ ।’

बागलुङ बजारका चर्चित शिक्षक सूर्यप्रसाद श्रेष्ठ ‘मिलन गुरु’को निधन भएको वर्ष उनका छोरा सिद्धार्थमिलन श्रेष्ठ सहितले बास्सा नाच निकालेका हुन् । ६ वर्ष पहिला निस्केपछि हरेक वर्ष मृत्यु भएका परिवारले यो नाच देखाउन सकेका थिएनन् ।

यो नाच सँगै मृतकको इतिहास, योगदान र व्यक्तित्वबारे धेरै लेखिनु पर्छ । गीत पनि उनको स्मृतिमा लेखिएपछि गाईजात्राको दिन दिनभरी गाएर समूहले बजार परिक्रमा गर्नुपर्छ । आएका सबै पाहुनालाई खुवाउने, स्वागत सत्कार गर्नुपर्ने हुँदा महँगो परेको उनले बताए । त्यसैले यहाँको राधा कृष्ण मन्दिरमा हरेक वर्ष गाईजात्राकै दिन वर्षभरी निधन भएका परिवारको सम्झना हुने गरी नाम र फोटो सहितको व्यानर टाँगेर राखिन्छ । ‘बास्सा नाच देखाउन नसक्नेका लागि यो स्मृति हो,’ राजभण्डारीले भने, ‘खर्चकै कारण पुराना विषय जोगाउन पनि गाह्रो छ ।’ पछिल्लो समय कलाकारसमेत नभएर यस्ता नृत्य र संस्कृति लोप हुन लागेको उनले बताए ।

बास्सामात्र नभइ कलाकार र आर्थिक अवस्थाले कतिपय नाच र संस्कृति लोप हुन लागेको स्थानीय सामाजिक अगुवा काजी गाउँले श्रेष्ठले बताए । कलाकार अभावमा बास्सा नाचमात्र हैन लाखे जात्रा, रोपाइँजात्रा, जोगी नाच र हनुमान नाचसमेत संरक्षण गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘होली पर्वमा गाइने होली राग र कात्तिके राग गाउने कलाकार त अझै लोप जस्तै भैसके,’ उनले भने, ‘अहिले त धेरै संस्कृति जोगाउनुपर्ने अवस्था आइसकेको छ ।’ गत वर्ष २५ वर्षमा बाटो नाप्ने पर्व र राग गाइएको उनले बताए । त्यसका लागि सहर पसेका र विदेश गएका पुराना कलाकार फर्केको समय पार्नु परेको थियो ।

४० जना कलाकार चाहिने हनुमान नाच र कम्तीमा २० देखि २५ जना चाहिने जोगी नाच र लाखेजस्ता जात्रा लगाउनु परेमा बसाइँ सरेका पुराना कलाकारसमेत फर्केको मौका कुर्नु परेको स्थानीयले बताए । ती सस्कृति संरक्षण गर्न चाहिने पोसाक र अन्य खर्च पनि महँगो छ । शनिबार निकालिएको बास्सा नाचमा पनि कम्तीमा १ सय जनाको सहभागिता भएको र उनीहरुको खर्च आयोजक व्यक्तिले खर्चनु पर्ने बाध्यताले जोकोहीले निकाल्न नसकेको गाउँले बताउँछन् ।

प्रकाशित : श्रावण २८, २०७९ २२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×