२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चुनौती स्वीकार्दै आइपुगे प्रभाकर

विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी लिन मनोज प्रभाकर शनिबार काठमाडौं आइपुगेका छन् । अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) ले भारतका पूर्वअलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा चुनेको थियो ।

चुनौती स्वीकार्दै आइपुगे प्रभाकर

‘मेरा लागि चुनौती हो, यसलाई स्वीकार्दै आएको छु । म नेपालका युवा खेलाडीलाई सहयोग गर्न तयार छु,’ ५९ वर्षीय प्रभाकरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । क्यानले उनीसँग एक वर्षका लागि सम्झौता गरेको छ । अर्को साता नेपाली टोली पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल्न केन्या जानेछ । नेपालको प्रशिक्षकका रूपमा प्रभाकरको यो पहिलो चुनौती हुनेछ ।

नेपाल आउनुका कारण उनले भौगोलिक हिसाब पनि भएको जनाए । ‘म आफैं पनि पहाडी क्षेत्रबाट हुर्केको व्यक्ति हो, म पहाडी क्षेत्रमै बस्छु । पहाडी क्षेत्रमा जो बस्छन् उनीहरूसँग फरक खालको स्टामिना र फरक स्वभावको आक्रमणता हुन्छ । त्यसैले मैले नेपालको चुनौती स्वीकारेको हुँ र मैले राम्रो नतिजा पाउने छु किनेभने सबै उत्साहित छन्,’ उत्तर प्रदेशको गाजियाबादमा जन्मिएका प्रभाकरले दिल्लीबाट भारतको घरेलु क्रिकेट खेलेका थिए ।

उनले मुख्य प्रशिक्षक हुनु आफैंमा चुनौतीपूर्ण भएको जनाउँदै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा टिम डेभलप गरेर प्रतिस्पर्धा गर्नु एउटा चुनौती हो । मसँग पर्याप्त अनुभव छ, त्यसैले मलाई टिममा युवा खेलाडीलाई कसरी सुधार गर्नुपर्छ भनेर थाहा छ । यो सामान्य विषय हो । यसलाई सुधार गर्नुपर्छ, त्यसका लागि म यहाँ छु । २–३ महिनामा यो सुधार थाहा हुनेछ ।’

नेपालको प्रशिक्षक बन्न भारतीय पत्रकारले आफूलाई सहयोग गरेको जनाउँदै नेपाली क्रिकेट टोलीलाई एउटा लयमा ल्याउन पर्याप्त समय भएको बताए । उनले अगाडि भने, ‘नेपाली खेलाडीहरूले कसरी खेलिरहेका छन् त्यसको मैले भिडियोहरू हेरिरहेको छु । उनीहरूलाई ब्याटिङमा सहयोग गर्नेछु । हामीले ब्याटिङमा मिहिनेत गर्नुपर्छ ।’

प्रभाकरले राष्ट्रिय टोलीको प्रशिक्षक भएर काम गर्न लागेको यो पहिलो पटक हो । यसअघि उनी २०१५–१६ मा अफगानिस्तानको बलिङ प्रशिक्षक थिए । भारतमा अरू टिमका प्रमुख प्रशिक्षक भएर काम गरेकाले आफूलाई खासै फरक नपर्ने उनको दाबी थियो । प्रभाकरले क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेको स्थान लिनेछन् । गत महिना श्रीलंकाका पूर्वक्रिकेटर दासानायकेले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।



प्रकाशित : श्रावण २८, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?