सिरी ‘ए’ को नयाँ सिजन, नयाँ अनुहार

एएफपी

मिलान — एसी मिलानलाई यसपल्ट आफूले जितेको सिरी ‘ए’ को उपाधि रक्षा गर्न सजिलो हुने छैन । किनभने उसका खास–खास प्रतिद्वन्द्वीले टिम बलियो बनाउन खुबै खर्च गरेका छन् । त्यसैले स्पष्ट छ, यसपल्ट इटालीको माथिल्लो डिभिजनको लिग फुटबलमा उपाधिको होड मज्जाले खुला रहनेछ । कोही एक खास टिमलाई बलियो भन्न सकिने छैन । स्टेफानो पियोलीको टिमले सान सिरोमा युडिनेजीको सामना गर्नेछ । यससँग सुरु हुनेछ नयाँ सिजनको लिग फुटबल ।

सिरी ‘ए’ को नयाँ सिजन, नयाँ अनुहार

नयाँ सिजनमा एकपछि अर्को १५ चरणको खेल हुनेछ । त्यसपछि लिगले विश्राम लिनेछ कतारमा हुने विश्वकपका लागि । मिलानमात्र होइन, इन्टर मिलान, युभेन्ट्स, रोमा र लाजियो सबैले केही राम्रा खेलाडी अनुबन्ध गरेका छन् । त्यसैले गत सिजनको तुलनामा लिग अझ प्रतिस्पर्धात्मक हुनेछ । पछिल्लो लिगमा उपाधिको निर्णय अन्तिम दिन भएको थियो । यसपल्ट यस्तै हुनेछ, सायद त्योभन्दा पनि चर्को । मिलानले फ्रान्क केसीलाई गुमाएको छ । उनी बार्सिलोना गएका छन् ।

तर, मिलानले डिभोक ओरिगीलाई विना कुनै मूल्य अनुबन्ध मात्र गरेको छैन, ३ करोड ५० लाख युरोमा निकै प्रतिभाशाली मानिएका चार्ल्स डी केटेलरेलाई भित्र्याएको छ । यद्यपि उनी अहिलेसम्म प्रमाणित हुन बाँकी खेलाडी हुन् । इन्टरले भने रोमेलु लुकाकुलाई फेरि टिममा फिर्ता ल्याएको छ चेल्सीबाट ऋणमा । तर इन्टर आफैं पाब्लो डिबाला र ग्लेसन ब्रेमरलाई अनुबन्ध गर्ने काममा पछाडि परेको छ । उनी गत सिजनका सबैभन्दा उत्कृष्ट डिफेन्डर थिए ।

त्यसैले यो इन्टरका लागि ठूलो धक्का हो । त्यो त फेरि एकपल्ट इन्टरलाई सायद केही झिनो दुरीले उपाधिको बलियो दाबेदार मान्न सकिन्छ । सायद सिमोनी इन्जाघीको टिमले फेरि एकपल्ट लिग जित्न सक्नेछ । तर यसबीच अर्को तनाव छ । क्लबका मालिक हुन् चिनियाँ व्यापारी सनिङ । उनको आर्थिक स्थिति राम्रो चलिरहेको छैन । त्यसैले हुनसक्छ, त्यसको प्रभाव इन्टरमा पर्न सक्छ । युभेन्ट्समा पनि पुराना खेलाडी फर्केका छन् । उनी पाउल पोग्बा हुन् । उनी सम्भवतः सेप्टेम्बरसम्म मैदानबाहिर नै रहनेछन् ।

युभेन्ट्सका लागि प्रि–सिजन धेरै सुखद रहेन र मैत्रीपूर्ण खेलमा एट्लेटिको म्याड्रिडको हातबाट ४–० ले पराजित रह्यो । त्यसमा उसका पुराना खेलाडी अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । त्यसैले प्रशिक्षक मासिमिलिनो एलेग्रीको भविष्य पनि धेरै सुखद नहुन सक्छ । पछिल्लो सिजन युभेन्ट्स उपाधि विजेता मिलानभन्दा १६ अंकले पछाडि रहेको थियो । यो युभेन्ट्स जत्तिको टिमका लागि धेरै ठूलो अन्तर हो । एलेग्री भन्छन्, ‘गत वर्षको तुलनामा इन्टर, मिलान र रोमा सबै अझ बलियो भएका छन् । त्यसैले कसैलाई पनि लिग उपाधि जित्न सजिलो हुने छैन । सबैले कडा मिहिनेत गर्नुपर्नेछ ।’ यता मिलानका समर्थकका लागि चिन्ता के हो भने खेलाडी ‘ट्रान्सफर मार्केट’ मा क्लब खासै सक्रिय रहेन । क्लबले निर्देशक पाब्लो माल्दिनी र फ्रेडरिक मसारासँगको अनुबन्ध गर्न निकै ढिलो गरेको थियो । आखिरमा यिनै दुईको मिहिनेतले क्लब लिग जित्न सफल रह्यो ।

दुवै मिलान क्लब सान सिरोको भविष्य के हुने भनेर पनि पर्खिरहेका छन् । सान सिरोमा पुनर्निर्माण गर्ने चर्चा चलिरहेको छ । तर स्थानीय बासिन्दाले यसमा चर्को विरोध गरिरहेका छन् । यसपल्टको लिगका लागि तीन नयाँ टिम माथि उक्लेका छन् । ती हुन् एसी मोन्जा, क्रमोन्से र यूएस लेचे । त्यसमध्ये मोन्जा विशेषे छ । यसको उद्देश्य माथिल्लो डिभिजनमा रहनुमात्र हुने छैन । उसले नयाँ टिम बनाउन मात्रै २ करोड १० लाख युरो खर्चेको छ ।

यस पछाडिका मुख्यपात्र हुन्, इटालीका पूर्व प्रधानमन्त्री सिल्भिओ बेर्लुस्कोनी । उनी मिलानका पूर्वमालिक पनि हुन् । सन् २०१८ सम्म तेस्रो डिभिजनमा रहेको मोन्जाको महत्त्वाकांक्षा धेरै छ । त्यसको तीन वर्षअगाडिसम्म क्लब आर्थिक रूपमा टाट पल्टिने अवस्थामा थियो । तर, क्लबका उद्दारमा तिनै बेर्लुस्कोनी अगाडि आए र क्लब किने । त्यसलगत्तै उनले मिलानका पूर्वकार्यकारी एडरिनो जियालनीलाई क्लबको जिम्मेवारी सुम्पेका छन् । अब मोन्जाले ढिलोचाँडो युरोपमा खेल्ने सपना बुनेको छ ।

रोमेलु लुकाकु (इन्टर मिलान)

लुकाकु फेरि एकपल्ट इन्टर फर्केका छन् । उनको आगमनले इन्टर फेरि उपाधिको बलियो दाबेदार बनेको छ । तर इन्टरले चाहेका पाब्लो डिबाला र ग्लेसन ब्रेमर भने आएनन् । यस्तोमा बेल्जियमका स्ट्राइकर लुकाकुमाथि अझ दबाब बढेको छ, आफ्नो व्यक्तिगत प्रदर्शनलाई उम्दा राख्न । चेल्सीमा एक खराब सिजन बिताएयता उनको प्रतिष्ठा आफैं दाउमा छ । इन्टरमा बिताएका यसअघिका दुई सिजनमा उनले ९५ खेलमा ६४ गोल गरेका थिए । यसकै मदतमा इन्टरले सन् २०२१ मा एक दशकयता लिग जितेको थियो ।

पाउल पोग्बा (युभेन्ट्स)

फ्रान्सेली मिडफिल्डर पोग्बा पनि म्यानचेस्टर युनाइटेडबाट टुरिन फर्केका हुन् । यो सिजन विना कुनै मूल्य ‘ट्रान्सफर मार्केट’ सरुवा हुनेमा पोग्बा नै सबैभन्दा अगाडि छन् । घुँडाको चोटका कारण पोग्बाले प्रि–सिजन खासै केही गर्न सकेनन् । तर उनको आगमनले मासिमिलिनो एलेग्रीको टिम पक्कै बलियो भएको छ । चोटकै कारण पोग्बाले युभेन्ट्सका लागि फेरि खेल्न केही समय लाग्नेछ । विश्वकप नजिक रहेको हुनाले उनले शल्यक्रिया नगर्ने निर्णय गरेका छन् । त्यसैले उनको प्रदर्शनलाई लिएर शंका पनि छ ।

जर्जिनियो विज्नाल्डम (एएस रोमा)

रोमा पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिग जितेर साह्रै उत्साहित छ । त्यसमाथि टिममा एक नयाँ सदस्य थपिएका छन्, जसबाट धेरै आस गर्न सकिन्छ । उनी हुन्, विज्नाल्डम । उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट ऋणमा रोमा आएका हुन् । उनको आगमनले जोसे मोउरिन्होको टिम पनि उपाधि होडमा सामेल भएको छ । ठ्याक्कै भन्दा रोमालाई यसपल्टको लिगमा ‘डार्क हर्स’ मान्न सकिन्छ । लिभरपुलका पूर्व खेलाडीले पीएसजीमा राम्रो गर्न सकेनन् । तर, रोमा उनका लागि त्यसलाई नै सुधार्ने अवसर हुनेछ ।

एन्जेल डी मारिया (युभेन्ट्स)

युभेन्ट्सले विना कुनै मूल्य पाएको ठूलो नाम हो, डी मारिया । यी अर्जेन्टिनी खेलाडीको आगमनले युभेन्ट्सको आक्रमण अझ धारिलो हुनेछ, यसमा कुनै शंका रहने छैन । युभेन्ट्सले उनका साथी डिबालालाई गुमाएको छ, त्यसैले डी मारिया टिमका महत्त्वपूर्ण सदस्य हुनेछन् । कोपा अमेरिका विजेता डी मारियालाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अनुबन्ध नथपेर त्यसै छाडेको हो । त्यहाँ उनले ५–५ लिग र कप उपाधि जिते । सन् २०२० मा उनले युरोपेली च्याम्पियन्स लिग फाइनलको अनुभव पनि बटुल्न पाए ।

चार्ल्स डी केटेलरे (एसी मिलान)

क्लब ब्रगबाट डी केटेलरे मिलान आएका हुन् । उनी क्लबका एकमात्र ठूलो अनुबन्धित खेलाडी हुन् । उनका लागि मिलानले ३ करोड ५० लाख युरो तिरेको छ । डिभोक ओरिगी विना कुनै मूल्य क्लबमा जोडिएयता उनी मिलानमा आएका दोस्रो बेल्जियन खेलाडी हुन् । यी खेलाडी भर्खर २१ वर्षको भए । उनले ५ वर्षको अनुबन्ध गरेका छन् । पछिल्लो तीन सिजन ब्रगबाट खेलेर उनले एक लिग उपाधि पनि जितेका छन् । बेल्जियमबाट आठपल्ट खेलिसकेका केटेलारेलाई भविष्यको खेलाडी मान्न सकिन्छ ।

पाउलो डिबाला (रोमा)

रोमालाई किन ‘डार्क हर्स’ भनिएको हो भने क्लबले डिबाला जत्तिको खेलाडीलाई विना कुनै मूल्य पाएको छ । तय छ उनको आगमनले रोमालाई यसपल्टको लिग यात्रामा ठूलै सहयोग हुनेछ । युभेन्ट्स छाडेयता उनलाई इन्टरले अनुबन्ध गर्ने अनुमान गरिएको थियो, तर रोमाले उनको मन जितिहाल्यो । भनिन्छ, मोउरिन्होले उनलाई टेलिफोनमा कुराकानी गर्दै रोमामै आउन मनाइहाले । क्लबका समर्थकले पनि उनको भव्य स्वागत गरे, जसको चर्चा अहिलेसम्म पनि सकिएको छैन ।

प्रकाशित : श्रावण २८, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?