२ करोड लगानीमा मार्सल आर्ट्स एकेडेमी- खेलकुद - कान्तिपुर समाचार

२ करोड लगानीमा मार्सल आर्ट्स एकेडेमी

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वखेलाडीको पहलमा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना गरिएको छ । विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेट्दै काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु खरिबोटमा स्थापना गरिएको एकेडेमीको शुक्रबार शुभारम्भ गरिए पनि यसअघि नै सञ्चालनमा ल्याइएको थियो ।

जग्गा भाडामा लिएर निर्माण गरिएको एकेडेमी साढे दुई रोपनी जग्गामा फैलिएको छ । झन्डै २ करोड रुपैयाँ लगानीमा बनेको एकेडेमीमा हाल कराते र तेक्वान्दो खेलको प्रशिक्षण हुँदै आएको छ । बिहान र साँझ गरी दुईसत्रमा ९० जनाले प्रशिक्षण लिइरहेको एकेडेमीले जनाएको छ । करातेमा श्याम सुनुवार तथा तेक्वान्दोमा लालबहादुर बराम र युगेन गुरुङले प्रशिक्षण दिइरहेका छन् ।

सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका करातेका सुनील लामा (हाल अमेरिका), दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्ण विजेता सरोज महर्जन (हाल फ्रान्स), तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी पुष्प थापामगर (हाल अमेरिका), ११ औं सागका उसुका पदकधारी राजु महर्जन (हाल अस्ट्रेलिया), एम्बासडर कप तेक्वान्दोका स्वर्ण विजेता सुजन जोशी (हाल मकाउ) को पहलमा एकेडेमी स्थापना गरिएको हो । नेपाल एपीएफ क्लबको तेक्वान्दो र कराते टोलीले यही एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् ।

स्थानीय रूपमा मार्सल आर्ट्स खेलाडी तयार पार्ने लक्ष्यसहित स्थापित एकेडेमीमा भविष्यमा जुडो, बक्सिङ र उसुको पनि प्रशिक्षण गराइने जनाइएको छ ।

एकेडेमीको शुभारम्भका अवसरमा सागका तीन स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्य, दोहोरो स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ, स्वर्णधारी तेक्वान्दोकी संगीता बस्याल, रजत विजेता अप्सरा कार्की, ओलम्पियन निशा रावल, सागमा करातेका कांस्य विजेता मुकुन्द्र महर्जन, डिगम्बरप्रसाद पन्त, जुडोका कांस्यधारी श्रीराम माकाजु, उसुका रजतधारी विश्व बुढामगर, मीना ग्लानलगायतलाई सम्मान गरिएको थियो ।

खेलाडीहरूलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी, सागका चार स्वर्ण विजेता दीपक विष्ट, दुई स्वर्ण विजेता दीपक श्रेष्ठ, कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल, एकेडेमीका निर्देशक सुशीला लामालगायतले सम्मान गरेका थिए ।

प्रकाशित : श्रावण २८, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

ऊर्जाका दर्जन योजनाको प्रगति ५०% भन्दा कम

मन्त्रालयको वार्षिक भौतिक प्रगति ८३ प्रतिशत, ७९ अर्ब ५४ करोड बराबर बजेट खर्च
कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्ष ०७८/७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका एक दर्जन कार्यक्रमको भौतिक प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ऊर्जातर्फका ११ वटा योजना तथा कार्यक्रमको प्रगति ५० प्रतिशतभन्दा कम छ । यसमध्ये ३ वटा जलविद्युत् आयोजना, एउटा प्रसारणलाइन र ६ वटा वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना छन् ।

थानकोट–चापागाउँ भक्तपुर १३२ केभी प्रसारणलाइनको प्रगति शून्य रहेको मन्त्रालयको भनाइ छ । यो प्रसारणलाइन बन्न सुरु भएको २३ वर्ष भयो । आर्थिक वर्ष ०५५/५६ मै मन्त्रिपरिषद्ले मुआब्जा विवाद टुंग्याएर आयोजना अघि बढाउने निर्णय गरेको थियो । तर ललितपुरको खोकना, हरिसिद्धि, लामाटार, बुङ्मती क्षेत्रका बासिन्दाले रुट परिवर्तनको माग गर्दै बन्न दिएका छैनन् । गत आर्थिक वर्ष पनि यो आयोजनाका लागि मन्त्रालयले बजेट छुट्याएको थियो । तर काम भने अघि बढेन ।

विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको प्रगति पनि शून्य देखिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जनताको विद्युत् पहुँच बढाउने, विद्युत् आपूर्तिको गुणस्तर तथा दक्षता बढाउने भन्दै यो कार्यक्रम सञ्चालन गर्न सरकारले ०७६ माघमा युरोपेली विकास बैंकसँग एक मिलियन युरो बराबर ऋण लिएको थियो । सन् २०२३ डिसेम्बरसम्म सकिसक्ने लक्ष्य राखिएको आयोजनामा गत आर्थिक वर्षको प्रगति अवस्था भने शून्य छ ।

जलाशययुक्त आयोजनाहरूको छनोट तथा सम्भाव्यता अध्ययन कार्यक्रमको १२ प्रतिशत, पुनः नवीकरणीय तथा क्षमता विस्तार आयोजनामा ३८ प्रतिशत, पावर सेक्टर रिफर्म एन्ड सस्टेनेबल हाइड्रोपावर डेभलपमेन्ट प्रोजेक्टमा २६ प्रतिशत र विद्युत् विकास दशकसम्बन्धी कार्ययोजनामा ३० प्रतिशत प्रगति भएको देखिन्छ । गतवर्ष शतप्रतिशत वित्तीय प्रगति गरेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति १.६२ प्रतिशत बराबर मात्रै छ । जलविद्युत् सुदृढीकरण आयोजनामा ४६ र साकेस–विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण आयोजनामा ३१.८४ प्रतिशत प्रगति भएको छ । जलविद्युत् आयोजनातर्फ अपर अरुण जलविद्युत् आयोजना कम्पनी लिमिटेडमा ३६ प्रतिशत र नलगाड हाइड्रोपावरमा २३ प्रतिशत कार्यप्रगति भएको मन्त्रालयको विवरणमा उल्लेख छ । जलस्रोत र सिँचाइतर्फ भारतीय अनुदानमा सञ्चालित नदी नियन्त्रण आयोजनाको प्रगति निकै न्यून देखिएको छ । आयोजनाअन्तर्गत वाग्मती, कमला, खाडो र लालकबैया नदीको बाढी नियन्त्रण तथा व्यवस्थापनका लागि बजेट छुट्याइएकामा वित्तीय प्रगति ४.३७ प्रतिशत बराबर मात्रै छ । भौतिक प्रगति भने २८ प्रतिशत बराबर देखिएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) को बैठकमा प्रस्तुत विवरण तथा मन्त्रालयको वार्षिक प्रगति समीक्षा प्रतिवेदन हेर्दा गतवर्ष ऊर्जा, जलस्रोत र सिँचाइका समेत गरी ४९ वटा आयोजना तथा कार्यक्रमले ८० प्रतिशतभन्दा बढी कार्यप्रगति गरेका छन् । ५० देखि ५० प्रतिशतसम्म प्रगति गर्ने आयोजनाको संख्या ऊर्जातर्फ १३ र जलस्रोत तथा सिँचाइतर्फ ५ वटा छन् ।

ऊर्जा मन्त्रालय मातहत निर्माणाधीन राष्ट्रिय गौरवका ६ वटा आयोजनाको वार्षिक प्रगति पनि सन्तोषप्रद देखिँदैन । बुढीगण्डकी जलविद्युत् आयोजनामा गत आर्थिक वर्ष मात्र ६ अर्ब ४ करोड २६ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको मुआब्जा वितरणमा मात्र हालसम्म ३४ अर्ब ९ करोड रुपैयाँ खर्च भइसकेको छ । फिल्डबुकमा कायम भएका तर लालपुर्जा नभएका जग्गाको मुआब्जा अझै तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि कुल १ खर्ब ३ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । तर मन्त्रालयको कुल खर्च भने ७९ अर्ब ५४ करोड ४५ लाख रुपैयाँ बराबर देखिन्छ, जसमध्ये ऊर्जातर्फ ५४ अर्ब ५९ करोड ४३ लाख र जलस्रोत तथा सिँचाइतर्फ २४ अर्ब ९५ करोड रुपैयाँ खर्च भएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×