कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महत्त्वाकांक्षी बार्सिलोना

एएफपी

बार्सिलोना — स्पेनी फुटबलको नयाँ सिजन सुरु हुन लाग्दा बार्सिलोनाको स्पष्ट दुई प्रयास हुनेछ । एक त बार्सिलोना घरेलु ला लिगामा पुरानै शक्ति हुने उद्देश्यमा रहनेछ । दोस्रो युरोपेली च्याम्पियन्स लिगमा पनि बार्सिलोना पुरानै लयमा देखिन चाहन्छ । यसका लागि बार्सिलोनाले नयाँ खेलाडीमा मज्जाले खर्च गरेको छ । यो एक प्रकारले क्लबले ‘ट्रान्सफर मार्केट’ मा जोखिम उठाएको पनि हो । किनभने बार्सिलोना आफैं चर्को ऋणमा छ ।

महत्त्वाकांक्षी बार्सिलोना

बार्सिलोनाले लियोनल मेसीलाई छाडेको एक वर्ष भयो । कारण थियो, एक अर्ब ३५ करोड युरोको ऋण । यो त असाध्यै धेरै ऋण हो । तर यही बार्सिलोनाले यसपल्ट १५ करोड ३० लाख युरो नयाँ खेलाडीमा खर्चेको छ । त्यसमध्ये क्लबमा भित्रिएका सबैभन्दा ठूला नाम हुन्, रोबर्ट लेवान्डोस्की । सबैभन्दा ठूलो प्रशिक्षक जाभी हर्नान्डेज आफैं निकै उत्साही छन् । गत साता बार्सिलोनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोको पुमास यूएनएएमलाई सजिलै ६–० ले हरायो ।

त्यस खेलपछि जाभीले भनेका थिए, ‘अबको सिजन निकै रोमाञ्चक हुनेछ । म आफैं उत्तिकै उत्साहित छु । म बार्सिलोनाका समर्थकलाई खुसी बनाउन सक्छु भने त्योभन्दा ठूलो उपलब्धि केही हुने छैन । यसका लागि हामीले उपाधिहरू जित्नुपर्नेछ । यो नै हाम्रो मुख्य उद्देश्य रहनेछ ।’

पछिल्ला तीन वर्ष मैदानबाहिर होस् वा मैदानभित्र बार्सिलोनाका लागि निकै उतारचढावपूर्ण रह्यो । तर नयाँ सिजनको ठीक अगाडि क्याम्प नोउमा केही आशाका किरण पक्कै देखिएका छन् ।

अध्यक्ष जोन लापोर्टेले पनि आफू क्लबको नयाँ अध्यायका लागि उत्साहित रहेको बताएका छन् । उनले यसको कारण लेवान्डोस्कीको आगमन मानेका छन् । त्यही दिन बार्सिलोनाका केही स्थानीय पत्रिकाले आफ्नो मुख्य समाचार यसैलाई बनाएका छन् । त्यसको शीर्षक पनि राखेका छन् ‘युफोरिया’ । रियल म्याड्रिडको समर्थक रहेको मार्काले पनि बार्सिलोनालाई बलियो मानेको छ । म्याड्रिडबाटै प्रकाशित हुने यस खेलपत्रिका दैनिकले बार्सिलोनालाई अब्बल मानेको छ ।

मेक्सिकोको टिमलाई पराजित गरेपछि मार्काको यो प्रतिक्रिया बाहिर आएको हो । त्यसै खेलमा बायर्न म्युनिकबाट बार्सिलोना आएयता लेवान्डोस्कीले पनि पहिलो गोल गरे । बार्सिलोनाले यसपल्ट लेवान्डोस्कीलाई मात्र अनुबन्ध गरेको छैन, सेन्ट्रल ब्याक जुलेस कोउन्डे र आन्द्रेस क्रिस्टेनसनलाई पनि किनेको छ । यस्तै एसी मिलानबाट मिडफिल्डर फ्रान्क केसी र लिड्स युनाइटेडबाट ब्राजिली विंगर राफिन्हालाई पनि

आफ्नो बनाएको छ । बार्सिलोनाको यो अनुबन्धले उसका खास–खास प्रतिद्वन्द्वीलाई एक प्रकारको त्रास महसुस गराएको छ । ला लिगाको आर्थिक आचारसंहिताको नियमअनुसार बार्सिलोनालाई आफूखुसी खर्च गर्न बन्देज छ । त्यसैले बार्साले आफ्नो आर्थिक स्थिति मजबुत बनाउनुपर्नेछ र बजारबाट लगानी उठाउनुपर्नेछ । त्यो पनि सकेसम्म चाँडोभन्दा चाँडो नयाँ खेलाडी दर्ता गर्नका लागि बार्सिलोनासामु यही सबैभन्दा ठूलो चुनौतीे छ ।

सम्पत्ति बेच्नुपर्ने बाध्यता

बार्सिलोनाले सकेसम्म बढीभन्दा बढी रकम जुटाउन आफ्ना केही सम्पत्ति बेच्नुपर्नेछ । यसलाई क्लबमा आर्थिक सुधारको एकमात्र उपाय मानिएको छ । क्लबले घरेलु प्रत्यक्ष प्रशारणको अधिकार २५ वर्षका लागि अमेरिकी इन्भेस्टमेन्ट कम्पनी सिक्स स्ट्रिटलाई बेचेको छ । यसवापत बार्सिलोनाले ४० करोड युरो पाउने छ । बार्सिलोनाले आफ्नो बार्सा स्टुडियोको २४.५ प्रतिशत अंश पनि बेचेको छ । यो बार्सा स्टुडियोले क्लबको डिभिजन व्यवसाय सम्हाल्दै आएको थियो ।

यस्तै यसले अडियो–भिडियोका सामग्री पनि बनाउने गरेको थियो । यसको अंश किन्ने काम सोसिस डटकमले गरेको छ । यसका लागि उसले १० करोड युरो तिरेको छ । यसकै अर्को २५ प्रतिशत अंश अमेरिकी इन्भेस्टमेन्ट कम्पनी जीडीए लुमालाई बेचेको छ । यसबाट थप १० करोड युरो भित्रिएको छ । केही साताभित्र बार्सिलोनाले ६० करोड युरो जुटाएको छ । यसले धेरै हदसम्म क्लबलाई आर्थिक राहत दिलाएको छ । यसको एकमात्र उद्देश्य क्लबलाई आर्थिक रूपमा सबल बनाउनु नै हो । यही काम गरेपछि मात्र बार्सिलोनाले खेलाडीको पारिश्रमिक बढाउन सक्छ । यस्तै नयाँ किनेका खेलाडीलाई सिजन सुरु हुनु अगाडि दर्ता गर्न यो काम आवश्यक थियो । यी सबैबीच पनि सबैभन्दा ठूलो बार्सिलोनाले स्पोटिफाइसँग आफ्नो क्लब इतिहासमै सबैभन्दा ठूलो प्रायोजकको अनुबन्धमा हस्ताक्षर गरेको छ । यसले कम्तीमा पनि ४३ करोड युरो आउने छ । यो अनुबन्धपछि संगीत स्ट्रिमिङ कम्पनीको नाम खेलाडीको जर्सीमा लेखिनेछ ।

अनि नो क्याम्पको नाममा पनि स्पोटिफाइ जोडिनेछ । यी सबै पृष्ठभूमिमा बार्सिलोना फेरि एकपल्ट उपाधिहरूका लागि बलियो न बलियो प्रत्याशी भएको छ । यस साता बार्सिलोनाले रायो भाल्कानोको आतिथ्यता गर्दै छ । यस्तोमा समयले मात्र भन्न सक्नेछ, क्लबको बहुमूल्य सम्पत्ति बेचेर खर्च जुटाउनु ठीक थियो वा थिएन । अहिले तत्काल भने बार्सिलोना नयाँ खेलाडी ला लिगाका लागि दर्ता गराउने प्रयासमा छ । यसका लागि जोडतोडले लागिरहेको छ ।

बार्सिलोनाले यसैबीच अन्य दुई काम गर्न खोजेको छ । खास–खास खेलाडीको तलब गर्ने अनि केही खेलाडी बेच्ने पनि । क्याटलान क्लब फ्रेन्ड डे जङलाई बेच्न चाहन्छ, भलै यी डच खेलाडी आफैं भने बार्सिलोनामै रहन चाहन्छ । मार्टिन ब्रेथवेट, सामुएल उम्टिटी र मेम्फिस डिपेले ढिलोचाँडो क्लब छाड्ने छन् या अन्यत्र जानेछन् । डिपे त युभेन्ट्स जाने अनुमान गरिएको छ । जेरार्ड पिके र सर्जियो बुस्क्वेटले त आफ्नो तलब घटाउन पनि मानिसकेका छन् । क्लबको यो आर्थिक चमत्कार के मैदानमा पनि चमत्कार साबित हुनेछ त ? प्रतीक्षा गरौं ।

प्रकाशित : श्रावण २७, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?