जावलाखेलको इतिहास फुटबलजत्तिकै पुरानो

नेपालको घरेलु फुटबलमा असाध्यै योगदान रहेका क्लबमध्ये जावलाखेल युथ सबैभन्दा अगाडि आउने गर्छ
कान्तिपुर संवाददाता

काठमाडौँ — फुटबल खेलमात्र होइन, कथाको शृंखला हो । त्रिपुरश्वेर, असन कमलाक्षी र संकटादेखि मंगलबजार र जावलाखेलमा नेपाली फुटबलबारे अनेकन् अनौठा किस्सा सुन्न पाइन्छ । जावलाखेलमा फुटबलको इतिहास त झनै पुरानो, नेपालमा यो खेलको प्रवेशको इतिहास जत्तिकै पुरानो ।

जावलाखेलको इतिहास फुटबलजत्तिकै पुरानो

त्यही जावलाखेलमा रहेको चिडियाखानाबाहिर चिया खाँदै पुराना दिनको फुटबल कथा सुन्नुपर्छ, क्या गजब लाग्छ । यस्तै एउटा कथा यो पनि हो धेरैपल्ट मीठो मानेर सुनिएको ।

भएछ केभन्दा एक पटक एउटा डच टिम फुटबल खेल्न भनेर नेपाल घुम्न आएको रहेछ, उसले जावलाखेल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेछ । त्यसलाई नमान्नु पर्ने के नै थियो र ? तर एउटा समस्या भयो, खेलको ठीकअगाडिसम्म पनि जावलाखेलले जर्सी एक जोरको पनि व्यवस्था गर्न सकेन । ती दिन त्यस्तै थिए । डच टिमसँग भने आकर्षक जर्सी थियो नै । तर उनीहरू त्यतिबेला पनि अचम्ममा परे, जतिबेला समकक्षी नेपाली टिमसँग त जर्सी नै रहेनछ ।

तिनको मन पनि ठूलै थियो, आफूले लगाएको जर्सी जावलाखेलका खेलाडीलाई दिएछन् अनि आफू भने बिनाजर्सी खेलेछन् । खाली हाफ पाइन्टको भरमा । अब विपक्षी टिमले ‘टपलेस’ भएर खेलेको खेल कस्तो रह्यो होला ? अहिले कल्पनामात्र गर्न सकिन्छ । अहिले यो प्रसंग किनभन्दा जावलाखेल युथ क्लबले मंगलबार आफ्नो साधारणसभा राखेको थियो । त्यसअगाडि एक स्मारिका पनि विमोचन गरियो । पूरा अवसर भने अझ विशेष थियो । ठ्याक्कै दिनले त होइन, कम्तीमा वर्षले जावलाखेल युथ ५० वर्ष पुगेको थियो ।

अनि भएको के थियोभन्दा जत्तिकै समृद्ध इतिहास भए पनि औपचारिक रूपमा जावलाखेल युथ क्लबको स्थापना ०२९ सालमा भएको थियो । त्यस अर्थमा उसले आफ्नो स्वर्ण महोत्सव मनाउने अवसर पाएको थियो । तर, जावलाखेलमा फुटबलको इतिहास आफैंमा एक सय वर्ष हाराहारीमा पुरानो छ । जतिबेला नेपालमा राणा शासन चलिरहेको थियो, त्यतिबेला नै जावलाखेलमा फुटबल भित्रिइसकेको थियो । जावलाखेलको आफ्नै फुटबल टिम थियो ।

नेपाली फुटबल इतिहासको सबैभन्दा ठूलो र उत्तिकै पुरानो प्रतियोगितामा पर्छ सहिद स्मारक लिग । यो ००७ सालमा सहिद भएकाहरूको स्मृतिमा सुरु भएको प्रतियोगिता हो । त्यसको पहिलो संस्करण ०११ सालमा सुरु भएको थियो । त्यसको प्रतिस्पर्धी टिममध्ये एक थियो, यही जावलाखेल । जावलाखेल ललितपुरको त्यस्तो ऐतिहासिक स्थान हो, जसका आफ्ना धेरै विशेषता छन् । जस्तो कि चिडियाखाना । त्यसभित्रको रानीपोखरी । सूची बनाउँदा निकै लामो हुन्छ ।

सबैभन्दा ठूलो त यही जावलाखेलमा मनाइने रातो मछिन्द्रनाथको जात्रा नै भयो । यही त्यही स्थान हो, जहाँ मछिन्द्रनाथको भोटो देखाइन्छ । केही अगाडिसम्म यहाँ बाघको द्वार थियो, जुन अब रहेन ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अब त्यसको पुनःस्थापना गर्ने योजना सुनाइहाले, जावलाखेलको स्वर्ण जयन्तीको अवसरमा । भनेपछि अब जावलाखेलमा फेरि ठुल्ठूला दुई बाघको मूर्ति पनि देख्न पाइनेछ । यी सबैबीच जावलाखेलको एउटा मुख्य परिचय फुटबल नै हो, जुन आफैंमा किंवदन्ती जत्तिकै सुनिन्छ ।

क्रिकेट र भलिबल पनि

एउटा तथ्य के पनि हो भने जावलाखेल युथ क्लबसँग फुटबलमात्र जोडिन्न । क्रिकेट, भलिबल र टेबलटेनिस पनि जोडिन्छ । उत्तिकै मात्रामा ब्याडमिन्टन पनि । क्लबको स्थापनाको केही वर्षमै भलिबल पनि उत्तिकै जोडतोडले सुरु गरिएको थियो । क्लबको आफ्नै कोर्ट छ अचेल । कुनै समय नेपालको राष्ट्रिय भलिबलमा वाग्मतीको बाहुल्य हुँदा त्यस टिममा जावलाखेलकै खेलाडीको वर्चस्व हुन्थ्यो । जावलाखेलबाट अनेक अब्बल दर्जाका भलिबल खेलाडी निस्किएका छन् ।

जतिबेला नेपाली क्रिकेट अहिलेजस्तो स्वरूपमा थिएन । यो खेललाई नेपालमा हुर्काउने–बढाउने केही क्लबमध्ये एक जावलाखेल थियो । नेपाली क्रिकेटको इतिहासमा टुँडिखेलमा हुने प्रतियोगिताका ठूलो न ठूलो महत्त्व छ । यस्ता प्रतियोगितमा नियमित खेल्ने टिममा एउटा जावलाखेल पनि थियो । विश्वास नहुन सक्छ, सन् ७० को दशकतिर काठमाडौंमा ‘ए’ र ‘बी’ डिभिजन गरेर क्रिकेटका लिग प्रतियोगिता हुन्थे । यिनै प्रतियोगिताले त काठमाडौंमा क्रिकेटको जग बसालेको थियो ।

जावलाखेलले ०३० सालमै ‘बी’ डिभिजनको उपाधि जितेको थियो । सन् ८० को दशकमा जावलाखेलले एकपछि अर्को अनेक क्रिकेटका प्रतियोगिता खेल्यो । त्यो समयमा काठमाडौंमा हुने प्रतियोगिताका लागि भारतबाट रणजी ट्रफी खेल्ने खास–खास खेलाडीलाई झिकाउने पनि गरिन्थ्यो । यसैक्रममा केही भारतीय खेलाडीले जावलाखेलबाट खेले । तर, आजकल जावलाखेल क्रिकेटमा सक्रिय छैन । सायद तत्काल कुनै योजना पनि छैन होला ।

वास्तविक परिचयमा फुटबल

अरू खेलमा जावलाखेलले हात हाले पनि क्लबको मुख्य परिचय भनेको फुटबल नै हो । यसमा अरू खेलले चित्त दुखाउनुपर्दैन । नेपालको घरेलु फुटबलमा असाध्यै योगदान रहेका क्लबमध्ये जावलाखेल सबैभन्दा अगाडि आउने गर्छ । क्लबले अहिलेसम्म फुटबलमा तय गरेको यात्राका अनेक अमूर्त कथाहरू सुन्न पाइन्छ । यी कथाले भन्ने गर्छ, जावलाखेल फुटबललाई असाध्यै माया गर्नेहरूको क्लब हो । यही क्लबका मेघराज केसीको भनाइमा यी ‘फुटबलका पागलहरू’ हुन् ।

पोखरेली जय थापाले जावलाखेलबाट लामै समय फुटबल खेले । उनी भर्खर भर्खर काठमाडौं झर्दा खेलाडी हुन् । जहाँ ‘डाइट’ नपुग्ला भनेर घरको खानासम्म लाने पनि साथीभाइ थिए । जय यस्तै कथा गर्वले सुनाउने गर्छन् । त्यसो किन हो त, जावलाखेलको जत्तिकै लामो इतिहास भए पनि घरेलु फुटबलमा यो उति साह्रो सफल क्लब भने होइन । विश्वास नहुन सक्छ, क्लबले अहिलेसम्म मोफसलमा तीन नकआउट प्रतियोगिता मात्र जितेको छ । काठमाडौंमा केही जितेको छैन । लिग त झन टाढैको कुरा । लिगमै पनि जावलाखेल न उपाधि जित्ने टिम हो, न त झर्ने नै । अधिकांश समय औसत प्रदर्शन । नेपाली राष्ट्रिय टोलीबाट खेलेका खेलाडी पनि जावलाखेलका कमै छन् । बरू त्यस्ता खेलाडी धेरै छन्, जसले भाग्य वा अरू के कारणले हो राष्ट्रिय टोली नजिक पुगेर पनि खेल्न पाएनन् । त्यस अर्थमा जावलाखेल फुटबलमा ‘अन्डर एचिभर्स’ नै हो । तर जावलाखेलसँग मेघराजसँगै किशोर केसी र सुनील श्रेष्ठ जस्ता प्रशिक्षक छन्, जसले नेपाली फुटबलका एकपछि अर्को पुस्ताका खेलाडी हुर्काएका छन्, बढाएका छन् ।

तिनका कुरा सुन्नुपर्छ, तिनका योगदानबारे कुरा हुनुपर्छ, त्यसलाई सुन्न मज्जा आउँछ । उनीहरू जस्ता फरक समयमा अरू पनि धेरै होलान् । उनीहरू खासमा सिनेमाका सह–नायक जस्ता पात्र हुन्, जसले पूरा कथामा महत्त्वपूर्ण भूमिका त खेल्छ, तर अलिकति ओझेलमा पनि पर्छ । जावलाखेलको फुटबल स्वयं यस्तै हो । नत्र जावलाखेलको फुटबलमा त्याग, तपस्या, समर्पणका अनेक कथा सुन्न पाइन्छ । जावलाखेलको फुटबल त्यसै बनेको होइन ।

तर, अचेल कलह, बेमेल, असन्तोष, दिक्दारीका अनेक कथा जावलाखेलभित्र पर्याप्त सुन्न पाइन्छ । फुटैफुट छ भनिन्छ । सायद जहाँ त्याग, तपस्या, समर्पण हुने गर्छ, त्यहाँ कलह, बेमेल, असन्तोष पनि हुने गर्छ कि ? एउटा कल्पना गरौं, मन नमिलेका, मनभित्र दुःख र पीडा लुकाएका सबै जावलाखेलका फुटबललाई माया गर्ने साथीभाइहरू एकजुट हुने हो भने के होला त ? यो प्रश्नमा अर्को प्रश्न जोडिन्छ । के यो सम्भव छ र ?

प्रकाशित : श्रावण २५, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?