कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रशिक्षकमा आए प्रभाकर

हाललाई एक वर्षका लागि सम्झौता गरी प्रभाकरल्याइएको क्यान अध्यक्ष चन्दको भनाइ
विनोद पाण्डे

काठमाडौँ — भारतका पूर्वअलराउन्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार ५९ वर्षे प्रभाकरलाई नेपालको प्रमुख प्रशिक्षक बनाउने निर्णय गरेको हो ।

प्रशिक्षकमा आए प्रभाकर

दुईवर्षे सम्झौता गरेर आएका क्यानडाका पुबुदु दासानायके ६ महिनापछि नै फर्किएपछि क्यानले उनको स्थानमा प्रभाकरलाई ल्याएको हो । दुई साताअघि दासानायके नेपाल छाड्दै क्यानडाको राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएपछि नेपाली राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन बनेको थियो ।

भारतका अर्का पूर्वअलराउन्डर चेतन शर्माको सिफारिसमा प्रभाकरलाई मुख्य प्रशिक्षक बनाइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । ‘उनमा क्रिकेटको अनुभवमा कमी छैन, हामीलाई भाषाको समस्या पनि भएन । भारत नजिक पनि भएकाले आउने जाने भइरहन्छ,’ चन्दले भने, ‘उनले नेपालको ब्याटिङ सुधार्छु भनेका छन्, अलराउन्डर भएकाले सबै आफैं हेर्छु भनेका छन् ।’

सन् ९० को दशकमा भारतीय क्रिकेटमा ठूलो प्रभाव पारेका प्रभाकरले दुईवर्षे सम्झौता मागे पनि हाललाई एक वर्षका लागि सम्झौता गरी ल्याइएको चन्दले बताए । उनका अनुसार प्रभाकर बिहीबार नेपाल आउने सम्भावना छ । आउँदो केन्या भ्रमण प्रभाकरको नेपालको प्रशिक्षकका रूपमा पहिलो चुनौती हुनेछ । नेपालले अगस्ट २५, २६, २७, २९, ३० मा गरी केन्यासँग नैरोबीमा पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ । त्यसको दुई दिनपछि नेपाल र केन्याबीच तीन एकदिवसीय खेलको शृंखला सुरु हुनेछ ।

त्यसका लागि क्यानले बन्द प्रशिक्षणमा मंगलबार टिम घोषणा गर्ने सम्भावना छ । १० दिनको प्रशिक्षणपछि नेपाली टोली केन्या जानेछ । प्रभाकरले पहिलो पटक कुनै पनि देशको मुख्य प्रशिक्षक भएर काम गर्न लागेका हुन् । उनी सन् २०१५ मा अफगानिस्तानको बलिङ प्रशिक्षक थिए । भारतमै भएको सन् २०१६ को ट्वान्टी–२० मा उनी अफगानिस्तानको टोलीमा आबद्ध थिए । ‘अफगानिस्तानको बलिङ प्रशिक्षक भएदेखि उनले नेपालको क्रिकेटको पछ्याइरहेका रहेछन्,’ चन्दले भने ।

‘नेपालमा क्रिकेटप्रतिको जुन चासो छ, उनीहरूको प्रतिभा र सीपको स्तर हेरेर म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउन काम गर्न चाहन्छु,’ भारतबाट ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रभाकरले क्यानको विज्ञप्तिमा भनेका छन् । उनले आफ्नो पहिलो टेस्ट इंग्ल्यान्डविरुद्ध गृहनगर दिल्लीमा सन् १९८४ मा तथा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सोही वर्ष श्रीलंकाविरुद्ध शारजहामा खेलेका थिए ।

भारतले घरेलु भूमिमा आयोजना गरेको विश्वकप प्रभाकरको अन्तिम प्रतियोगिता बन्यो । उदाउँदै गरेको श्रीलंकाविरुद्ध दिल्लीमा लिग चरणको खेलमा उनले ४ ओभरमा ४७ रन खर्चन पुगेका थिए । उनको मध्यम गतिको बलिङमा श्रीलंकाका ओपनिङ जोडीद्वय सनथ जयसूर्या र रोमेश कालुविथर्ना आक्रामक बनेपछि उनले २ ओभरपछि अर्को दुई ओभर अफ स्पिन बलिङ गरेका थिए । जसका कारण उनले दर्शकबाट विरोध हुटिङ सुन्नुपरेको थियो ।

त्यसपछिको खेलमा उनलाई ‘ड्रप’ गरिएको थियो । त्यसयता उनले भारतीय टोलीमा पुनरागमन गर्न सकेनन् । लगत्तै अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास घोषणा गरे । प्रभाकरले ३२ माथिको औसतमा १ हजार ६ सय टेस्ट रन, २४ माथिको स्ट्राइकमा १ हजार ८ सय ५८ रन एकदिवसीय रन बनाएका छन् । उनले टेस्टमा ९६ र एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ५७ विकेट लिएका छन् । उनी ओपनिङमा ब्याटिङ र बलिङ गर्थे ।

खेलाडीपछि उनको जीवन विवादले घेरिएको छ । सन् १९९९ मा खेल मिलेमतो काण्डले विश्व क्रिकेट हल्लिएको थियो । त्यसमा दोषी पाइएका प्रभाकरमाथि ५ वर्षको निलम्बन लगाइएको थियो । उनी भारतको घरेलु क्रिकेटमा दिल्ली र राजस्थानको प्रशिक्षक रहिसकेका छन् । उनलाई सार्वजनिक रूपमा खेलाडीलाई गाली गरेको तथा छनोटकर्ता र व्यवस्थापनको आलोचना गरेको आरोपमा दिल्लीले २०११ मा बर्खास्त गरेको थियो ।

उनी नेपालको मुख्य प्रशिक्षक हुने दोस्रो भारतीय हुन् । उमेश पटवाल सन् २०१९ मा नेपालको प्रशिक्षक बनेका थिए । त्यसको एक वर्ष नबित्दै उनी भारत फर्किएका थिए । दासानायकेलाई भन्दा बढी पारिश्रमिक दिएर क्यानले प्रभाकरलाई नेपाली टोलीको जिम्मा दिन लागेको बताइएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?