मुस्ताङको गल्फ कीर्तिमानतर्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको सहयोगमा बनाइएको ‘मुस्ताङ गल्फ कोर्स’ मा भदौ ११ गते ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ हुने भएको छ ।

मुस्ताङको गल्फ कीर्तिमानतर्फ

समुद्री सतहबाट ४,६४५ मिटरको उचाइमा अवस्थित मुस्ताङ गल्फ कोर्समा हुने एक दिने प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले भने, ‘यो विश्वकै सबैभन्दा माथिल्लो स्थानमा रहेको गल्फ कोर्स हो, जसको दाबी गर्न हामी प्रतियोगिता गरेपछि प्रमाणको रूपमा तस्बिर पठाउने छौं ।’

उनले थपे, ‘म पनि हालसम्म त्यहाँ पुगेको छैन । फोटो र भिडियोमै गल्फ कोर्स हेरेको हो । त्यहाँ हामीले केही काम गर्न बाँकी छ । नौ होलको कोर्सको लागि जग्गाको कमी भएजस्तो लाग्दैन । हिउँ नभएको समयमा त्यहाँ खेल्न सकिन्छ । यो प्रतियोगितापछि विश्व गल्फमा सन्देश दिनेछौं र प्रतियोगितालाई निरन्तता दिनेछौं ।’

मुस्ताङ गल्फ कोर्सले विगतमा विश्वकै सबैभन्दा उच्च स्थानको गल्फ कोर्सको रूपमा रहेको सिक्किमस्थित याक गल्फ कोर्स (३,९७० मिटर) लाई उछिनेको हो । ‘हाइअल्टिच्युडमा कति खेरसम्म र कति बेरसम्म खेल्न सक्छन्, यो प्रतियोगिता परीक्षणको रुपमा रहनेछ,’ आचार्यले भने, ‘तर यो गल्फ कोर्षले विश्वको ध्यान आकृष्ट गर्नसक्छ ।’ प्रदेश सांसद विष्टले भने, ‘प्रदेश सांसद विकास कोषबाट १० लाख रुपैयाँ निकालेर गल्फ कोर्सको संरचना तयार पारिएको हो । यो अहिले लोमान्थाङ समुदायको हो । सरकार वा जसको जग्गा भए पनि संरचना खेर जाँदैन । पोखराका चार गल्फर लगेर गल्फ कोर्सको परीक्षण गरिसकेका छौं ।’

उनी आफैं पनि सोसल गल्फरको रूपमा सक्रिय छन् । ‘मुस्ताङ गल्फ कोर्सले पर्यटन व्यवसायलाई बलियो बनाउने, विदेशमा भएका नेपालीले लगानी गर्ने अवसर प्राप्त गर्ने र स्थानीयले रोजगारी पाउने विश्वास छ,’ उनले भने । उनले यो गल्फ कोर्ष नेपालकै उत्कृष्ट हुन सक्ने दावी गर्दै पहिलो प्रतियोगिता आयोजना गरेर यो कोर्षलाई चिनाउन लागिएको जनाए । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले भने, ‘अन्य पर्यटकको तुलनामा गल्फ पर्यटकले तीन गुणा बढी खर्च गर्छ । त्यसैले मुस्ताङ गल्फ कोर्सको सहयोगमा नेपालमा खर्च गर्ने हैसियतका धेरै गल्फ पर्यटक भित्र्याउने अपेक्षा गरेका छौं । नेपालमा गल्फको सम्भावना छ भनेर सन्देश दिन लोमान्थाङमा प्रतियोगिता आयोजना गर्न जरुरी छ ।’

पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले उच्च स्थानको गल्फ कोर्सले देशको खेल पर्यटनमा ठूलो योगदान गर्ने बताए । संघका महासचिव आचार्यका अनुसार स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापका आधारमा भदौ ११ मा हुने एकदिने गल्फ प्रतियोगितामा चार महिलासहित २८ खेलाडी सहभागी हुनेछन् । त्यसमध्ये १०–१२ गल्फर पोखराको हुने उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?