एसिया कपका लागि भारतीय क्रिकेट टिमको घोषणा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिया कपका लागि भारतीय क्रिकेट टिमको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — एसिया कप-२०२२ का लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

जिम्बाब्वे भ्रमणमा नअटाएका खेलाडीसमेत टोलीमा अटाएका छन् । उक्त टोलीको कप्तानी भने रोहित शर्माले गर्नेछन् ।

ब्याटरहरू विराट कोहली र केएल राहुलले टिममा कमब्याक गरेका छन् भने बलरहरू जसप्रित बुमराह र हर्षल पटेल भने चोटका कारण टिमबाहिर छन् । 'जसप्रित बुमराह र हर्षल पटेल चोटका कारण छनोटमा परेनन्,' बोर्डले ट्विटरमा भनेको छ, 'उनीहरू अहिले बेंगलुरुस्थित एनसीएमा स्वास्थ्यलाभ गरिरहेका छन् ।'

बोर्डका अनुसार श्रेयस अय्यर, अक्षर पटेल र दीपक चहरलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ । वेस्ट इन्डिज भ्रमणमा राम्रो प्रदर्शन गरेका अर्शदीप सिंहले टोलीमा स्थान बनाउन सफल भएका छन् । पूर्वकप्तान कोहली पछिल्लो पटक इंग्ल्यान्ड भ्रमणमा रहेका थिए । त्यसपछि उनलाई वेस्ट इन्डिज भ्रमणमा आराम दिइएको थियो । त्यस्तै जिम्बाब्वेविरुद्धको आगामी शृंखलामा समेत उनी परेका छैनन् ।

एसिया कप आगामी अगस्ट २७ देखि यूएईमा सुरु हुनेछ । अगस्ट २८ मा समूह चरणमै भारतले चीर प्रतिद्वन्द्वी टिम पाकिस्तानको सामना गर्नेछ ।

यस्तो छ भारतीय टिम

रोहित शर्मा(कप्तान), केएल राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीपक हुडा, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आवेश खान

प्रकाशित : श्रावण २३, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

१५ सय विद्यार्थी चिकित्सा शिक्षा पढ्न बाहिरिँदा करिब ३ सय भित्रिए

सुदीप कैनी

काठमाडौँ — एकीकृत प्रवेश परीक्षाको व्यवस्थापछि एमबीबीएसलगायत चिकित्सा शिक्षा पढ्न विदेश जाने र नेपालमा पढ्न आउने दुवै विद्यार्थीको संख्या घटेको पाइएको छ ।

दुई वर्षमा १ हजार ४ सय ९९ जनाले विदेश पढ्न जान चिकित्सा शिक्षा आयोगबाट अनुमति लिएका छन् भने यो अवधिमा २ सय ८९ जना विद्यार्थी नेपालका मेडिकल कलेजमा भर्ना भएका छन् । अनुमति पत्र लिएका सबै विद्यार्थी विदेश नै पुग्छन् भन्ने ग्यारेण्टी चाहिँ हुदैन । एमबीबीएस अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी विदेश जाने र विदेशीबाट नेपाल आउने गरेको तथ्याङ्क छ ।

आगामी भाद्र १९ गतेबाट सुरु हुने चिकित्सा शिक्षाको शैक्षिकसत्रमा २ सय ३९ जना विदेशी विद्यार्थी एमबीबीएसका लागि भर्ना भएका आयोगले जनाएको छ । एमबीबीएस बाहेकका विषयमा पनि विद्यार्थी भर्ना हुने कोटा तोकिए पनि अन्य विषय पढ्न नेपाल आउने इच्छा विदेशी विद्यार्थीले देखाएका छैनन् । गत वर्ष ५० जना विद्यार्थी मात्रै यहाँका मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न भर्ना भएका थिए ।

एकीकृत प्रवेश परीक्षा सुरु भएपछि ४ सय ५३ जनाले एमबीबीएस, बीडीएस लगायत स्नातक तह विदेशमा पढ्न अनुमति लिएका छन् । स्नोतकोत्तर तह अध्ययन गर्न २ सय ७१ र छात्रवृत्ति कोटामा पढ्न २२ जना विद्यार्थीले अनुमति लिएका हुन् । स्नातक र स्नातकोत्तर तहमा नर्सिङ पढ्न विदेश जान १ सय ४४ र ४१ जनाले अनुमति लिएको आयोगका निर्देशक दिलिप शर्माले जानकारी दिए । फार्मेसी तर्फ स्नातकमा ७६ र स्नातकोत्तर तर्फ १८ जनाले अनुमति लिएका छन् । जनस्वास्थ्य शिक्षामा २ सय ५८ जना स्नातक र १ सय ९२ जनाले स्नातकोत्तर तह विदेशमा अध्ययन गर्न अनुमति मागेका हुन् । ४ जना विद्यार्थीले आयुर्वेदतर्फ विदेशमा स्नातक गर्न वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । प्रवेश परीक्षा पास हुन नसकेका विद्यार्थी अनुमति बिना नै पनि विदेश जाने गरेको गुनासो छ ।

चिकित्सा शिक्षा आयोग गठन भएपछि विदेश पढ्न जाने विद्यार्थीको संख्या घटेको शर्माले जनाए । ‘मेडिकल काउन्सिलले एनओसी दिँदा एकै वर्ष १७ सय जनाले विदेश जाने अनुमति लिएका थिए,’ उनले भने, ‘स्नातक तहमा वार्षिक १२ सय र स्नातकोत्तर तहमा वार्षिक ५ सय विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश गएको रेकर्ड छ ।’ उनी काउन्सिलका पूर्व रजिष्ट्रार समेत हुन् । गत वर्षको कोभिडको कारणले पनि विदेश पढ्न जाने र नेपालमा पढ्न आउने विदेशी विद्यार्थीको संख्यामा कमी आएको अनुमान गरिएको छ । बंगालादेश, चीन, पाकिस्तान लगायतका मुलुकमा विद्यार्थी मेडिकल शिक्षा पढ्न जाने गर्छन ।

चिकित्सा शिक्षा ऐनले ५ सय ५७ जना विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा एमबीबीएसमा भर्ना हुन पाउने व्यवस्था गरेको छ । गत वर्ष न्युन संख्यामा मात्रै विद्यार्थी भर्ना भए पनि यस वर्ष झण्डै ४ गुणाले विदेशी विद्यार्थीको संख्या वृद्धि भएको हो । ऐनमा यहाँको शिक्षण संस्थामा अध्ययन गर्न आयोगले लिने एकीकृत प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेका कारण पनि विद्यार्थी घटेको मेडिकल कलेज संचालकहरू बताउँछन् । ऐन जारी हुनुअघि सयौं विदेशी विद्यार्थी मेडिकल कलेजहरूले सिधै भर्ना लिने गर्थे । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान काठमाडौं, पोखरास्थित मणीपाल मेडिकल कलेज, भरपुरतस्थित कलेज अफ मेडिकल साइन्सेज र जानकी मेडिकल कलेजमा भारतीय विद्यार्थीको आर्कषण रहने गरेको छ । भारत बाहेक माल्दिस, भुटान, श्रीलंकाबाट पनि चिकित्सा शिक्षा पढ्न विद्यार्थी आउने गरेका छन् ।

ऐनले निजी मेडिकल कलेजले कुल सिट संख्याको ५० र सार्वजनिक शिक्षण संस्थाले एक तिहाई विदेशी विद्यार्थी भर्ना हुन पाउने व्यवस्था गरेको छ । मेडिकल शिक्षाको स्नातक तहको २१ विषयमा करिब २२ सय विदेशी विद्यार्थी भर्ना हुन पाउँछन् । तर एमबीबीएस, बीडीएस र फार्मेसी बाहेका अधिकांश विषयमा विदेशी विद्यार्थीले प्रवेश परीक्षाको आवेदन नै दिँदैनन् । उनीहरूको आर्कषण रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शिक्षा अध्ययन संस्थानमा सिमिति कोटा रहेकाले पनि विदेशी विद्यार्थीको संख्या बढ्न नसकेको आयोगका पदाधिकारीहरूले बताए । विदेशी विद्यार्थीको संख्या कम्ती भएपछि आयोगले अध्ययन कार्यदलसमेत बनाएको छ । विदेशी विद्यार्थी भर्ना नभएको कोटामा स्वेदशी विद्यार्थीले नै अध्ययनको मौका पाउने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जनाए । गत वर्ष कोटा अनुसार विद्यार्थी उत्तीर्ण नभएपछि प्रवेश परीक्षाको नतिजा प्रसेन्टाइल प्रद्धति (परीक्षा दिएकामध्ये ५० प्रतिशत पढ्न योग्य हुने) सार्वजनिक गरिएको छ । यद्यपि यो वर्ष पनि सबै विषयमा कोटा पूरा हुने अवस्था छैन । मेडिकल शिक्षा महंगो भएका कारण पनि प्रवेश परीक्षामा उत्तीर्ण भएको विद्यार्थीले पनि भर्ना नचाहेको हुन सक्ने पदाधिकारीहरूको विश्लेषण छ ।

सार्वजनिक शिक्षण संस्थामा ७५, निजीमा १० र विदेशी लगानीका निजीमा २० प्रतिशत विद्यार्थीले आरक्षण कोटा मार्फत् भर्ना पाउने व्यवस्था छ । २१ विषयका ८ हजार ५ सय ६० कोटामा २२ सय ३२ जनाले स्नातक तह छात्रवृत्तिमा पढ्न पाउँछन् । एमबीबीएसको १८ सय ९५ कोटामा खुलातर्फ २ सय ३७ र आरक्षण कोटाबाट १ सय ९३ जना गरी ४ सय ३० जनाले निःशुल्क छात्रवृत्तिमा पढ्न पाउने कोटा तोकिएको छ । राम्रो नतिजा ल्याएका जेहेन्दार विद्यार्थी पनि छात्रवृत्ति नपाउँदा भर्ना हुँदैन तर मेरिटमा पछाडि बढेका विद्यार्थीले अवसर पाउने गरेका छन् । आयोगले विद्यार्थीको म्याचिङ सकेर भदौ तेस्रो साताबाट पठनपाठन सुरु गर्ने जनाएको छ । सार्वजनिक शिक्षणसंस्थामा मात्र छात्रवृत्तिका लागि दुई शैक्षिकसत्रमा करिब डेढ अर्ब खर्च हुन्छ ।

चालु शैक्षिक सत्रका लागि आयोगले ऐनको व्यवस्थाअनुसार चिकित्सा शिक्षाको शिक्षण शुल्क केही प्रतिशतले वृद्धि गरेको छ । उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४१ लख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ शुल्क तोकिएको छ । बीडीएसलाई २० लाख ९२ हजार २ सय ९०, बीएस्सी नर्सिङको शिक्षण शुल्क १० लाख ३६ हजार तोकिएको हो । भर्नाको बेला निजी मेडिकल कलेजले बढी शुल्क लिने प्रवृत्ति दोहोरिएपछि यस वर्षदेखि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शुल्क अनुगमन गर्ने गृहकार्य भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ २१:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×