एनआरएनए डेनमार्क च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए डेनमार्क च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ स्विडेनले स्टकहोल्मको भिकिङ यती क्लबसागको सहकार्यमा चौथो एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा स्विडेनबाट चार टिम, नर्वेबाट एक टिम र डेनमार्कबाट एक टिमको सहभागिता भएको थियो ।

युरोपभर बसोबास गर्ने गैरआवासीय नेपालीलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्दै युवा तथा बालबालिकामा खेलप्रति अभिरुचि बढाउन प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । स्विडेनका रहेका नेपाली बाल खेलाडीलाई दुई टिममा राखेर प्रतिस्पर्धा गराइएको थियो । सिनियर ६ टिमले दुई समूहमा रहेर लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

एनआरएनए एनसीसी डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २–१ ले हराएर उपाधि जितेको थियो । निर्धारित समयको खेल १–१ को बराबरीपछि अतिरिक्त समयमा पुगेको थियो । विजेताले १२ हजार र उपविजेताले ७ हजार स्विडिस क्रोनर नगद पुरस्कार जितेका थिए । फेयर प्ले टिमको उपाधि धौलागिरि टिम स्विडेनले जितेको थियो । उसले १ हजार नगद पुरस्कार पायो ।

उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक क्रमश: एनआरएन डेनमार्कका सरोज श्रेष्ठ र भुवन खड्काले जितेका छन् । सर्वाधिक गोलकर्ताको उपाधि आइस एफसी नर्वेका जुरासिक मौसमले पाए । इमर्जिङ प्लेयरको उपाधि एनआरएनए स्विडेनका दीपक रोक्काले पाए । रेफ्रीद्वय संजय कार्की र बेन्जामिन एरिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

गैरआवासीय नेपाली संघ डेनमार्कका वर्तमान अध्यक्ष शैलेन्ऽ (शैलु) अधिकारी, गैरआवासीय नेपाली संघ नर्वेका वर्तमान महासचिव विष्णु गौतम तथा आईसीसी सदस्य राजु अर्याल, गैरआवासीय नेपाली संघ स्विडेनका संस्थापक अध्यक्ष नवीन थपलिया, पूर्व अध्यक्ष चिरञ्जीवी खरेल, निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठलगायत शुभकामना मन्तव्य दिएका थिए ।

फुटबल प्रतियोगिता सफल पार्न विशेष भूमिका निर्वाह गरेका शैलेशमणि उपाध्याय, पूर्णबहादुर थापा, फोटोग्राफर अनिश ताम्राकार, निर्जल खड्कालगायतलाई सम्मान गरिएको थियो । सम्पूर्ण टिमका खेलाडीका लागि खानपानको व्यवस्थापन स्टकहोल्मस्थित चाादनी रेस्टुरेन्टका मालिक सन्नी प्रधानले गरेका थिए ।

गैरआवासीय नेपाली संघ स्विडेनका अध्यक्ष राजकुमार पाठकले प्रतियोगितालाई निरन्तरता दिने बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा जिप दुर्घटना, ६ यात्रु घाइते

काशीराम डाँगी

रोल्पा — रोल्पाको भदौरे मन्दिर नजिकै सोमबार बिहान जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । बुटवलबाट रोल्पा सदरमुकाम लिबाङ आउँदै गरेको टाटा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 


बुटवलबाट लिबाङ आइरहेको भे १ ज १७७१ नम्बरको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको थियो । रोल्पा नगरपालिका–१ मा पर्ने दुर्घटनास्थल भदौरे मन्दिरमुनिको ओरालो बाटोमा पर्छ ।

गुडिरहेको जिप एक्कासी नियन्त्रणबाहिर जान पुगेकाले पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा सवार ६ जना घाइते भएको र सबैलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि जलजला हिमाल यातायात प्रालिको उक्त जिपका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । रातभर गाडी चलाएका चालक घुम्ती बाटोमा निदाएका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जिप दुर्घटनामा घाइते भएकामा रोल्पा नगरपालिका–९ होमाकी २६ वर्षीया दीविसा बुढा, त्यसै गाउँका ३१ वर्षीय कमलप्रसाद बुढामगर, रोल्पा नगरपालिका–७ माडीचौरकी २८ वर्षीया भीमली घर्तीमगर तथा पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–७ बडाचौरका २४ वर्षीय नरेन पुन छन् । उनीहरूलाई रेउघास्थित रोल्पा अस्पतालमा पुर्‍याएर सामान्य उपचारपछि घर फिर्ता पठाइएको छ ।

यस्तै दुर्घटनामा सख्त घाइते भएका रोल्पा नगरपालिका–३ खुमेलकी ३३ वर्षीया संगीता परियार र ३४ वर्षीय पर्शुराम परियारलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×