रोनी भन्छन्– ‘रोनाल्डो नभएकै राम्रो’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनी भन्छन्– ‘रोनाल्डो नभएकै राम्रो’

रोयटर्स

लन्डन — म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड वायन रोनीले क्रिस्टियानो रोनाल्डोलाई टिममा कायम नराख्नु नै ठीक हुने आइतबार बताएका छन् । म्यानचेस्टरले आफ्नो भविष्यलाई लिएर सोच्ने हो भने रोनाल्डोलाई टिममा नराख्नु नै बुद्धिमानी निर्णय हुने दाबी गरे । नयाँ मुख्य प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा म्यानचेस्टर नयाँ टिम बनाउने योजनामा छ ।

रोनी मान्छन्, यही योजनाका लागि रोनाल्डो ठीक छैनन् । गत सिजन मात्रै ३७ वर्षीय रोनाल्डोले युभेन्ट्स छाडेर म्यानचेस्टरसँग अनुबन्ध गरेका थिए । तर अहिले भने रोनाल्डो म्यानचेस्टर छाड्न चाहन्छन् । म्यानचेस्टर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन असफल रहेपछि रोनाल्डोको मनसाय बाहिर आएको हो ।

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर ब्राइटनको हातबाट पराजित भएको छ र त्यसमा रोनाल्डो सब्स्टिच्युट खेलाडीका रूपमा दोस्रो हाफमा मैदानमा छिरेका थिए । आफ्नो पुराना सहकर्मी साथी खेलाडीबारे रोनीले द टाइम्समा लेखेका छन्, ‘रोनाल्डो म्यानचेस्टर छाड्न चाहन्छन् भने त्यसो गर्न दिएकै राम्रो ।’

अहिले मेजर लिग सकर क्लब डीसी युनाइटेडका प्रशिक्षक रहेका रोनीले थपेका छन्, ‘रोनाल्डोले टेन हागको रणनीति अनुसार म्यानचेस्टरका लागि खेल्न नसक्ने भन्ने होइन् । उनले विश्वका कुनै पनि टिमका लागि खेल्न सक्छन् । रोनाल्डोले पनि गोल पनि गर्नेछन् । तर मेरो विचारमा अहिले तत्काल म्यानचेस्टरले कुनै उपाधिका लागि चुनौती दिन सक्दैन् । त्यसैले म्यानचेस्टरले नयाँ टिम बनाउनमै ध्यान दिनुपर्छ ।’

रोनीको तर्क हो, म्यानचेस्टरको टिमले अबको केही वर्षमा उपाधि जित्नु छ भने युवा खेलाडीमा जोड दिनुपर्छ, रोनाल्डोमा होइन । गत सिजन रोनाल्डोले म्यानचेस्टरका लागि सबै खाले प्रतियोगितमा २४ गोल गरेका थिए । तर टिमको समग्र प्रदर्शन भने राम्रो रहेन र टिम निराशाजनक रूपमा छैटौं स्थानमा रहेको थियो ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्

वेल्सको ठूलो उपलब्धि

रोयटर्स

कार्डिफ — वेल्सले अन्तिम पटक विश्वकप खेलेको पनि ६२ वर्ष भइसकेको छ । तर कतारमा हुने अबको प्रतियोगिताका लागि छनोट भइसकेयता निमित्त व्यवस्थापक रब पेज समूह चरणमा आफ्नो टिमको पर्याप्त सम्भावना देख्छन् । वेल्सले प्लेअफ फाइनलमा युक्रेनलाई १–० ले हराएर विश्वकप अन्तिम चरणलाई छनोट भएको थियो । अब समूह ‘बी’ को खेलमा वेल्सले छिमेकी इंग्ल्यान्डसँगै अमेरिका र इरानको सामना गर्नेछ ।

पेजले भनेका छन्, ‘हामीले यसअघि अमेरिकासँग खेलिसकेका छौं र यो बलियो टिम छ । अमेरिकाका धेरै खेलाडी युरोपमा खेल्छन् । मलाई लाग्छ, इरानविरुद्धको खेल हामी जित्न सक्छौं । कतारमा हामी आत्मविश्वासले खेल्नेछौं । हामी सबै प्रतिद्वन्द्वी टिमविरुद्ध समान हैसियतले खेल्छौं । अहिले हाम्रो टिमको आत्मविश्वास पनि त्यहीअनुसार बढेको छ ।’

वेल्ससँग विश्वकप खेलेको अनुभव पुरानो भइसककेको भए पनि अहिलेको टिमसँग दुई संस्करणको युरो खेलेको अनुभव छ । युरो २०१६ मा क्रिस कोलमनको व्यवस्थापनमा वेल्सले क्वाटरफाइनलमा बेल्जियमलाई स्तब्ध पारेको थियो । सेमिफाइनलमा भने वेल्स क्रिस्टियानो रोनाल्डोसहितको टिमसँग पराजित रह्यो । वेल्स गत वर्ष युरो २०२० मा भने टर्की र स्विट्जरल्यान्ड सम्मिलित कठिन समूहबाट अन्तिम १६ मा पुगेको थियो । त्यसमा वेल्स डेनमार्कको हातबाट पराजित रह्यो । यी दुई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि वेल्समा फुटबल समर्थक बढेको छ ।

‘हाम्रो देशको खेलकुद भन्नु नै रग्बी हो । हामीसँग कार्डिफ सिटी र स्वान्सी सिटी जस्ता टिम नभएका पनि होइनन् । तर, रग्बी नै नम्बर एक खेल रहेको छ । अब यसमा विस्तारै परिवर्तन आइरहेको छ । यसको कारण हाम्रा खेलाडीले राम्रो मात्र खेलेका छैनन्, नतिजा पनि ल्याइरहेका छन् । जतिबेला जित हात पार्छ, त्यसमा सबैको नजर पर्छ ।’ व्यक्तिगत आरोपमा रायन गिग्सले प्रशिक्षकको भूमिका छाडेपछि अहिले वेल्स टिमको जिम्मा पेजको काँधमा छ ।

यसको धेरै अर्थ छ : वेल

गारेथ वेलले कतारमा हुने विश्वकपमा छनोट हुनु वेल्स फुटबलका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् । युक्रेनी कप्तान आन्द्रे यारमिलेन्कोले गरेको आत्मघाती गोल वेल्सकै सटिक फ्रिकिकमा सम्भव भएको थियो । खेलपछि बेलले भने, ‘वेल्स फुटबल इतिहासमा यो सबैभन्दा ठूलो उपलब्धि हो र यसको धेरै अर्थ छ । हामीले विश्वकप खेल्ने सपना बुनेका थियौं र अहिले त्यो पूरा भएको छ । अहिले कस्तो अनुभव भइरहेको छ, त्यसको बयान गर्न सकिन्न ।’

उनले थपे, ‘विश्वकपमा छनोट हुनका लागि हामीले आफ्नो खेलजीवनमा मिहिनेत गरेका छौं । यो वेल्स फुटबल समर्थक, हामी र हाम्रो परिवार र पूरा देशकै लागि गर्व महसुस गर्ने समय हो । यसमा हामी सबैले खुसीयाली मनाउन सक्छौं । वेल्स फुटबलमा यो उपलब्धिले अझ अगाडि बढ्न मदत गर्नेछ ।’ बेलले पनि विश्वकपको समूह चरणमा आफ्नो टिमले राम्रो गर्नसक्ने पर्याप्त मौका रहेको दाबी गरे ।

प्रकाशित : जेष्ठ २४, २०७९ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×