१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजाको लगातार दोस्रो शतक

एएफपी

हरारे — सिकन्दर राजाले अविजित १ सय १७ रन बनाएपछि जिम्बावेले तीन दिनमा दोस्रो ठूलो लक्ष्य पछ्याउँदै बंगलादेशमाथि आइतबार ५ विकेटको जित हात पारेको छ । जिम्बावेले यससँगै तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा २–० को अविजित अग्रता लिएको छ ।

राजाको लगातार दोस्रो शतक

पाकिस्तानमा जन्मिएका राजाले १ सय २७ बलको इनिङ्समा ४ छक्का र ८ चौका प्रहार गरेका थिए । उनले कप्तान रेगिस चाकाब्भासँग पाँचौं विकेटमा २ सय १ रनको साझेदारी गरेपछि जिम्बावेले हरारेमा बंगलादेशले पहिला ब्याटिङ गरी बनाएको २९०–९ को स्कोरलाई पन्छाएको हो ।

राजा र चाकाब्भाको शतकपछि जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा १५ बल अगाडि लक्ष्य पूरा गरेको थियो । साकाब्भाले ७५ बल खेली १० चौका र २ छक्का प्रहार गर्दै १ सय २ रन बनाए । टोनी मुनिओन्गा १६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रन बनाई अविजित रहे ।

नयाँ प्रशिक्षक डेव हजटनको नेतृत्वमा जिम्बावेको टोलीमा उल्लेखनीय सुधार भएको छ । जिम्बावेले शुक्रबार पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै पराजित गर्दा ३ सय ७ रनको विजय लक्ष्य पूरा गरेको थियो । त्यसमा पूर्वकप्तान राजाले १ सय ९ बलमा अविजित १ सय ३५ रन बनाएका थिए । अर्को खेलमा उनको नजर लगातार तेस्रो खेलमा शतक हुनेछ ।

अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ३–० को ‘क्लिनस्विप’ हार बेहोरेपछि राष्ट्रिय टोलीका पूर्वब्याटिङ स्टार हजटनलाई जिम्बावेको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । उनी प्रशिक्षक भएर आएयता जिम्बावेले अहिले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा आठौं स्थानमा रहेको बंगलादेशमाथि लगातार दुई खेल जितेको हो ।

अक्टोबरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको तयारी गरिरहेको जिम्बावेले हजटनको प्रशिक्षणमा एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गरी १० खेलमा ९ मा जित हात पारिसकेको छ । हजटनले आफ्ना खेलाडीलाई विपक्षी जस्तोसुकै भए पनि उनीहरूसँग नडराउन र गल्ती नगर्न निर्देशन दिने गरेका छन् ।

प्रकाशित : श्रावण २३, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?