विदेशबाट फर्किएकाहरूलाई उत्पादनमा जोड्न सके देशको मुहार फेरिन्छ : मन्त्री गहतराज- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट फर्किएकाहरूलाई उत्पादनमा जोड्न सके देशको मुहार फेरिन्छ : मन्त्री गहतराज

कान्तिपुर संवाददाता

भक्तपुर — युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिने बताएका छन् । मन्त्री गहतराजले उनीहरूलाई स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताए ।

राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार सानोठिमीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गहतराजले भने, ' सरकारले युवाका निम्ति विभिन्न योजना र कार्यक्रम ल्याएको छ । ठोस परिणामका निम्ति युवाका कार्यक्रम एकीकृत गर्नु जरुरी छ ।'

विदेशबाट फर्किएका युवाका समस्या, चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रिटर्नी युवाहरू राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए । उनले रिटर्नी युवाहरूको सिप, श्रम र दक्षतालाई सदुपयोग गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताए ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले निरन्तर काम गरिरहेको बताए ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

कार्यक्रममा अर्थशास्त्री डीपी ढकालले नेपाली श्रम वजारको चिरफार गर्दै युवाहरूलाई देशभित्रै अवसर खोज्न अपील गरे ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का निर्देशक अनोज भट्टराईले विदेशबाट फर्किएका युवाका लागि तालिम दिने जानकारी गराए ।

प्रकाशित : श्रावण २१, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

पानीको बहाव बढ्नेक्रम नरोकिएपछि कोसी ब्यारेजका ३२ ढोका खुला 

अवधेश झा

राजविराज — सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ३२ ढोका खुला गरिएको छ । शनिबार दिउँसो ३ बजेको मापनअनुसार पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको थियो । 

पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोकामात्रै खोलिएको थियो ।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरुपमा बढ्ने अनुमान गरिएको हो । कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ ।

कोसीमा अत्यधिक बहाव हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यस्तै बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

प्रकाशित : श्रावण २१, २०७९ १६:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×