टेन हागको काम साह्रै गाह्रो


म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडका व्यवस्थापकका रूपमा एरिक टेन हागको पहिलो प्रतिस्पर्धात्मक खेल आइतबार परेको छ । उनीमात्र होइन, पूरा क्लब र यसका समर्थक नयाँ सुरुआत चाहन्छ । तर क्लबभित्रका पुरानै समस्याले गर्दा यी डच प्रशिक्षकको काम साह्रै गाह्रो देखिएको छ । यसलाई लगभग असम्भव भन्दा पनि हुन्छ । उनीभन्दा अघि निमित्त व्यवस्थापकका रूपमा राल्फ रागनिक थिए । क्लबमा उनको बसाइ साह्रै नमज्जाको रह्यो । बिदाइ लिएयता उनी भन्थे, म्यानचेस्टरलाई ‘ओपन हार्ट सर्जरी’ आवश्यक छ ।

उनको नेतृत्वमा म्यानचेस्टर इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा रह्यो । उनी यो भन्थे, क्लबमा नयाँ सिजनका लागि कम्तीमा १० नयाँ खेलाडी आवश्यक छ । तर, अहिलेसम्म ओल्ड ट्राफोर्डमा नयाँ सिजनलाई भनेर तीन नयाँ खेलाडीमात्र भित्रिएका छन् । ती लिसान्ड्रो मार्टिनेज, टायरेल मलासिया र क्रिस्टियन एरिक्सन हुन् । सायद गत सिजनको तुलनामा यसपालि म्यानचेस्टर टिम अझ धेरै कमजोर छ, कम्तीमा बलियो त पक्कै छैन ।
पाउल पोग्बा, एडिन्सन काभानी, जेसी लिन्गार्ड, नेमान्जा माटिच र हुँवा माटाले क्लब छाडेका छन् । सबैले विना कुनै मूल्यमा । गोलरक्षक डिन हेन्डरसन भने ऋणमा नटिङ्घम फरेस्ट लागेका छन् । एक अर्को ठूलो ‘ट्रान्सफर’ लाई अझै नकार्न सकिन्न । पछिल्ला केही सातादेखि क्रिस्टियानो रोनाल्डो अन्यत्र जाने तर्खरमा छन् । युरोपेली च्याम्यिन्स लिग खेल्ने लोभमा उनी म्यानचेस्टर छाड्न चाहन्छन् । प्रि–सिजनअन्तर्गत आइतबारको खेलमा रोनाल्डो म्यानचेस्टर जर्सीमा देखिए ।
रायो भाल्कानोविरुद्धको त्यो खेल १–१ को बराबरीमा छुटेको थियो । रोनाल्डोले पहिलो हाफमात्र खेले । आफू सब्स्टिच्युट भएपछि रोनाल्डोले पूरा खेल अवधिमा रंगशालामै रहनुपर्छ भन्ने पनि मानेनन् । खेल सकिनु अगाडि नै उनी बाहिरिइसकेका थिए, जुन टेन हागका लागि पटक्कै स्वीकार्य रहेको छैन । स्वीकार्य होस् पनि कसरी र ? आफूले म्यानचेस्टर सम्हालेको सुरुआती केही सातामा उनले आफ्ना लागि अनुशासन सबथोक रहेको देखाउने प्रसास गरेका छन् ।
यसैक्रममा उनले अभ्यासमा ढिला आए जरिवाना लगाउने चलन सुरु गरेका छन् । त्यतिमात्र होइन, खेलाडीको आफ्नै व्यक्तिगत भान्छेको चलन पनि हटाएका छन् । टेन हाग रोनाल्डोको व्यक्तित्व र त्यससँग जोडिएको अहंकारसामु झुक्न चाहन्नन् । त्यसै क्रममा उनले पाँचपल्टको बालोन डी’अर विजेता रोनाल्डोलाई नयाँ सिजन सुरु हुनु अगाडि पूर्णतः फिट हुन आदेश दिएका छन् । उनले स्काइ स्पोर्ट्सलाई भनेका छन्, ‘उन (रोनाल्डो)ले भर्खर फेरि खेल्न सुरु गरेका छन्, त्यसैले फिटनेस आवश्यक छ ।’
उनी थप्छन्, ‘रोनाल्डो निकै माथिल्लोस्तरका खेलाडी हुन् । उनले आफूलाई एकपल्ट होइन, धेरैपल्ट सिद्ध गरेका छन् । तर खेलाडीको वास्तविक मूल्यांकन त्यही हुने गर्छ, जुन वर्तमानमा छ । कति उनले आफूमा सुधार देखाएका छन् । त्यसको अर्थ म्यानचेस्टर र रोनाल्डो दुवैले आफूलाई अबको सिजन प्रमाणित गर्नुपर्नेछ ।’ म्यानचेस्टर आइतबार ब्राइटनको भ्रमणमा निस्कने छ । त्यस खेलमा पक्कै पनि रोनाल्डो अनुपस्थित रहनेछन् ।
यस्तोमा टेन हागले अगाडि तीन खेलाडी खेलाउन सक्छन् । त्यसमा हुनसक्छन् मार्कस रासफोर्ड, एन्थोनी मार्सियल र जाडोन सान्चो । यी तीनै खेलाडी म्यानचेस्टरका लागि लयमा फर्कने प्रयासमा छन् । ओले गनर सोल्सायर व्यवस्थापक हुँदा सन् २०२०–०२१ को सिजन म्यानचेस्टर दोस्रो स्थानमा रहेको थियो । त्यतिबेला आक्रमणमा रासफोर्ड र मार्सियल नै थिए । पछि रोनाल्डो, काभानी र सान्चो आएपछि मात्र यो आक्रमणको स्वरूपमा परिवर्तन आएको थियो ।
मार्सियलले गत सिजनको आधा भाग ऋणमा सेभियामा बिताए । रोनाल्डोले क्लब छाड्ने हल्लाबीच यी फ्रान्सेली खेलाडीलाई फेरि म्यानचेस्टर फर्काइएको थियो । रासफोर्ड कति खराब लयमा छन् भने उनले इंग्ल्यान्ड टिममा पनि आफ्नो स्थान गुमाएका छन् । तर, यही कारणले उनी अन्य खेलाडीको तुलनामा फूर्तिला देखिन्छन् । उनी भन्छन्, ‘म पहिलोपल्ट प्रि–सिजनदेखि नै म्यानचेस्टरको टिममा छु । त्यसैले केही सजिलो महसुस गरिरहेको छु । म नयाँ सुरुआत लिन चाहन्छु ।’
सान्चोले पनि म्यानचेस्टरमा पहिलो सिजन खासै केही गर्न सकेनन् । आफ्नो नाममा रहेको ७ करोड ३० लाख पाउन्ड मूल्यलाई न्याय गर्न सकेनन् । तर प्रि–सिजनमा रासफोर्ड र मार्सियलसँग उनको साझेदारी राम्रो देखिएको थियो । उनीहरू चम्केपछि त हो म्यानचेस्टर पारम्परिक प्रतिद्वन्द्वी लिभरपुलमाथि ४–० ले विजयी रहेको । खासमा म्यानचेस्टरका लागि रोनाल्डोको सम्भावित सरुवा मात्र समस्या रहेको छैन, बार्सिलोनाका फ्रान्क डी जोङ किन्ने अभियान पनि अन्योल छ ।
यही कारणले म्यानचेस्टरको मध्यपंक्ति कमजोर देखिएको छ । मध्यपंक्तिकै लागि भनेर झिकाइएका मार्टिनेजले फेरि एकपल्ट आफ्नो पुराना प्रशिक्षकसामु खेल्न पाउनेछन् । अयाक्सका दिन दुवै सँगै थिए । यी अर्जेन्टिनी खेलाडीको स्वागतमा बोल्दै टेन हाग सुनाउँथे, क्लबको एकमात्र उद्देश्य भनेको म्यानचेस्टर सिटी र लिभरपुललाई शीर्षस्थानमा पछ्याउने हो । तर टिममा जुन प्रकारको समस्या देखापरेको छ, यस्तोमा म्यानचेस्टरका लागि शीर्ष चार स्थानमा रहनु नै ठूलो हुन सक्छ । अन्यथा यो पनि गाह्रै छ ।
