२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुसको नियन्त्रणमा रहेकी अमेरिकी स्टार खेलाडीलाई ९ वर्षको जेल सजाय

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने रुसी अदालतको फैसलाप्रति आपत्ति जनाउँदै ब्रिट्नी ग्रिनरको रिहाइका लागि पहल गर्ने बताएका छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — झण्डै ६ महिनादेखि रुसको नियन्त्रणमा रहेकी अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई रुसको अदालतले लागूऔषध तस्करीको मुद्दामा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ ।

रुसको नियन्त्रणमा रहेकी अमेरिकी स्टार खेलाडीलाई ९ वर्षको जेल सजाय

रुसको खिम्की सहरको अदालतमा न्यायाधीश अन्ना सोत्निकोभाको इजलासले ग्रिनरलाई लागूऔषध मुद्दामा दोषी ठहर गरेको हो । यससँगै अदालतको फैसलामा ग्रिनरलाई १६ हजार ३ सय अमेरिकी डलर जरीवाना पनि सुनाइएको छ ।

'वुमन नेसनल बास्केटबल एसोसिएसन' स्टार ग्रिनर दुई पटकको ओलम्पिक गोल्ड मेडलिस्ट पनि हुन् । बिहीबार हथकडीसहित प्रहरीको साथ अदालतबाहिर निस्किएकी ग्रिनरले 'म मेरो परिवारलाई माया गर्छु' भन्दै पत्रकारहरूलाई प्रतिक्रिया दिएकी थिइन् ।

ग्रिनरले अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा आफू रुसी जेलमै आजीवन रहनसक्ने त्रास भएको भन्दै आफूलाई रिहाइको पहल गरिदिन अमेरिकी राष्ट्रपति जो बाइडेनको नाममा पत्र लेखेकी थिइन् ।

'म रुसी जेलमा बसिरहँदा, मेरा विचारहरू र मेरी श्रीमती (समलिंगी जोडी), परिवार, साथीहरू, ओलम्पिक जर्सी, वा कुनै उपलब्धिको रक्षा बिना, म सधैंको लागि यहीँ रहन सक्छु भनेर डराएको छु,' ग्रिनरको हस्तलिखित पत्रमा उल्लेख थियो।

ग्रिनर गत फेब्रुअरीमा रुसको राजधानी मस्कोस्थित विमानस्थलबाट पक्राउ परेकी थिइन् । रुसी प्रहरीले उनलाई गाँजाको तेलसहितको 'भेप कार्टिज' बोकेको आरोप लगाएको छ।

यसैबीच रुसी अदालतको यस्तो फैसलाप्रति रुष्ट हुँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले असन्तुष्टि व्यक्त गरेका छन् । बाइडेनले ग्रिनरको रिहाइको मागसमेत गरेका छन् ।

'ब्रिट्नी र पल ह्वेलनलाई सकेसम्म सुरक्षित रुपमा घर फिर्ता ल्याउन मेरो प्रशासनले अथक परिश्रम गरिरहने छ । साथै यसका लागि हरेक सम्भावित उपायहरू अपनाउने छ,' राष्ट्रपति बाइडेनले भनेका छन् । बाइडेनले रुसमा जासूसीको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक पल ह्वेलको पनि रिहाइको माग गरेका थिए ।

प्रकाशित : श्रावण २०, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?