‘आफूलाई प्रमाणित गर्न सकेनौं’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आफूलाई प्रमाणित गर्न सकेनौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसी मान्छन्, भारतको फुटबलस्तर धेरै माथि पुगिसकेको छ । नेपाली फुटबलले मिहिनेत नगरेको होइन, तर त्यो अब पर्याप्त रहन छाडेको छ ।

प्रशिक्षक मेघराज केसी । फाइल तस्बिर

भारतको भुवनेश्वरमा भएको यू–२० साफ च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार काठमाडौं फर्केको छ । त्रिभुवन विमानस्थलमा मिडियासँग कुराकानी गर्नेक्रममा प्रशिक्षक केसीले माने, ‘भारतीय फुटबलले हामीलाई गन्न छाडेको छ ।’

राउन्ड रोबिन लिगका आधारमा सञ्चालि प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेर फाइनल पुग्न असफल रह्यो । माल्दिभ्स र श्रीलंकाविरुद्धका सुरुआती दुई खेल जितेर उत्कृष्ट सुरुआत गरेको नेपाल आफ्नो तेस्रो खेलमा भने भारतसँग नराम्रो ढंगले पराजित रह्यो । त्यसमा नेपाल ८–० ले हारेको थियो । उमेर समूहमा यो नतिजा दक्षिण एसियाली फुटबलमा नेपालको अहिलेसम्मकै खराब प्रदर्शन थियो । बंगलादेशविरुद्धको अन्तिम खेलमा भने नेपालले बराबरीमा नतिजा निकालेको थियो ।

प्रशिक्षक केसीले भने, ‘जसरी हामीले सुरुका दुई खेल जितेर नेपाली फुटबललाई पुनरागमन गर्ने प्रयास गरेका थियौं । धेरैपछि नेपाली फुटबलले केही गर्न सक्ने देखाएको थियो । तर, तेस्रो खेलले सबथोक बिगार्‍यो । दक्षिण एसियालीस्तरमै हाम्रो मिहिनेत र लगानी नपुगेको प्रस्ट देख्न सक्यौं । प्रतियोगिताका लागि हाम्रा खेलाडीले मिहिनेत धेरै गरेका थिए । हामी सक्षम पनि थियौं । हाम्रो टिमको स्तर पक्कै पनि भारतविरुद्ध ८ गोल खाने खालको थिएन ।’

उनले आफ्नो लामो फुटबल खेलजीवनमा यो क्षेत्रमा लागेर अपसोच लागेको दुई अवसर रहेको माने । उनका अनुसार एउटा अवसर जोर्डनसँग पराजित हुँदा थियो भने अर्को अहिले भारतसँग ठूलो अन्तरको हार बेहोर्दा रह्यो । हामीले आफूलाई भारतमा प्रमाणित गर्न सकेनौं, त्यसका लागि क्षमाप्रार्थी छौं । हामी कोही पनि हारमा गुनासो गर्न चाहन्नौं । तर अहिलेको टिममा रहेका खेलाडीमा प्रतिभाको कमी छैन । यो टिमले नेपाली टिमलाई केही हदसम्म माथि लैजान सक्छ ।’

‘भारत धेरै माथि’

प्रशिक्षक केसीले भारतीय फुटबलको प्रशंसा गर्दै उनीहरूको फुटबलस्तर धेरै माथि पुगिसकेको स्वीकारे । उनले भने, ‘भारतले प्रत्येक खेलमा खेलाएको खेलाडी सूची हेर्दा थाहा हुन्छ, भारतीय फुटबल कहाँ पुगिसक्यो भनेर । नेपालविरुद्धको खेलका लागि भारतीय टिमसँग ८ नयाँ खेलाडी थिए । आजको स्थितिमा भारतले दक्षिण एसियामा आफ्नो स्तरअनुसार गन्न छाडिसकेको छ । वास्तविकता यही हो । भारतले दक्षिण एसियामा खेल्दा आफ्नो वास्तविक टिम पठाउन छाडिसक्यो ।’

बंगलादेश र श्रीलंकाको सामना गरेपछि भारतले नेपालविरुद्धको खेलमा त्यस्ता खेलाडीलाई खेलाएको थियो, जसमध्ये धेरैलाई इन्डियन सुपर लिग र त्यहाँ माथिल्लो डिभिजन खेलेको अनुभव थियो । त्यसै आधारमा टिकेर केसीले भने, ‘अब नेपाली फुटबलमा के–के गर्नुपर्छ भनेर यो खेललाई माया गर्ने सबै एकजुट भएर गम्भीर छलफल गर्नुपर्छ । मैले दोहोर्‍याएँ सक्षम त थियौं तर हामीले गरेको मिहिनेत पुगेको छैन । हामी त्यति धेरै कमजोर टिम पनि थिएनौं ।’

केसीले अब ‘जय पशुपतिनाथ’, ‘गोर्खाली पारा’ मात्र भनेर नेपाली फुटबल अगाडि बढ्न नसक्ने जिकिर गरे । उनले भने, ‘फुटबल खासमा फुटबल नै हो, अझ अहिले त आधुनिक फुटबल चलिरहेको छ । आधुनिक फुटबल हरेक दिन परिवर्तन भएर भइरहेको छ । हामी त्यसका लागि तयार हुनुपर्छ, आफूलाई अभ्यस्त राख्नुपर्छ । हामी सबैले मिहिनेत त गरेका छौं, तर स्तरमा हामी भारतभन्दा धेरै पछाडि पर्न थालेका छौं । यो साँचो हो, वास्तविकता हो ।’

प्रकाशित : श्रावण २०, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगर र जनकपुरको ‘टिम फेस’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टी–२० लिगमा खेल्ने दुई टोली विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले आफ्नो ‘टिम फेस’ प्रस्तुत गरेका छन् । विराटनगरले भारतीय सञ्चारकर्मी एवं खेलकुद टेलिभिजन प्रस्तोता मन्दिरा सहनी लालभानी र जनकपुरले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का लेभल वान प्रशिक्षक मनोज चौधरीलाई मिडियासामु प्रस्तुत गरे ।

विराटनगर सुपर किंग्सका मालिकद्वय आरके गुप्ता र मन्दिरा सहनी लालभानी तथा जनकपुर रोयल्सका मालिक गोविन्द खण्डेलवाल र प्रशिक्षक मनोज चौधरीसहित टोलीका पदाधिकारी । तस्बिर : केशव थापा/कान्तिपुर

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म आयोजना गर्ने नेपाल टी–२० लिगमा विराटनगर र जनकपुरसहित लुम्बिनी अल स्टार्स र कान्तिपुर क्यापिटलले गरी चार टोलीको नाम तय भइसकेको छ । नेपाली क्रिकेटको फ्रेन्चाइज यस लिगमा अन्य दुई टोलीको घोषणा हुन बाँकी छ ।

भारतको डायमन्ड डिजिक्याप प्रालिले विराटनगर सुपर किंग्स, भारतकै गोल्ड स्पोर्ट्स प्रालिले जनकपुर रोयल्सको स्वामित्व लिएका छन् । विराटनगरको सहमालिक रहेकी सहनीले नेपालमा क्रिकेटले रफ्तार लिइरहेको जनाउँदै नेपाल टी–२० लिगले ठूलो लगानी भित्र्याउने बताइन् ।

प्रशिक्षक चौधरीले नेपाल टी–२० लिगले नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउने आशा लिँदै त्यसका लागि जनकपुरमा विद्यालयस्तरको क्रिकेट गरेर नयाँ खेलाडी उत्पादन गर्न खोजिएको बताए । उनले उनीहरूलाई विकसित गरेमा निश्चय पनि नेपाली क्रिकेट माथि उक्सने जनाए ।

क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले फ्रेन्चाइज टोलीहरू नेपाली क्रिकेटमा लगानी गर्न आएकाले अहिले नै कसैले आम्दानीको हिसाबमा प्रतियोगितालाई नहेरेको अनुमान लगाए ।

उनले यूएईमा हुने ट्वान्टी–२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले खेल्ने निश्चित भइसकेको र त्यसको आधिकारिक घोषणा हुन बाँकी रहेको जनाए ।

प्रकाशित : श्रावण २०, २०७९ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×