३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विराटनगर र जनकपुरको ‘टिम फेस’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टी–२० लिगमा खेल्ने दुई टोली विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले आफ्नो ‘टिम फेस’ प्रस्तुत गरेका छन् । विराटनगरले भारतीय सञ्चारकर्मी एवं खेलकुद टेलिभिजन प्रस्तोता मन्दिरा सहनी लालभानी र जनकपुरले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का लेभल वान प्रशिक्षक मनोज चौधरीलाई मिडियासामु प्रस्तुत गरे ।

विराटनगर र जनकपुरको ‘टिम फेस’

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म आयोजना गर्ने नेपाल टी–२० लिगमा विराटनगर र जनकपुरसहित लुम्बिनी अल स्टार्स र कान्तिपुर क्यापिटलले गरी चार टोलीको नाम तय भइसकेको छ । नेपाली क्रिकेटको फ्रेन्चाइज यस लिगमा अन्य दुई टोलीको घोषणा हुन बाँकी छ ।

भारतको डायमन्ड डिजिक्याप प्रालिले विराटनगर सुपर किंग्स, भारतकै गोल्ड स्पोर्ट्स प्रालिले जनकपुर रोयल्सको स्वामित्व लिएका छन् । विराटनगरको सहमालिक रहेकी सहनीले नेपालमा क्रिकेटले रफ्तार लिइरहेको जनाउँदै नेपाल टी–२० लिगले ठूलो लगानी भित्र्याउने बताइन् ।

प्रशिक्षक चौधरीले नेपाल टी–२० लिगले नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउने आशा लिँदै त्यसका लागि जनकपुरमा विद्यालयस्तरको क्रिकेट गरेर नयाँ खेलाडी उत्पादन गर्न खोजिएको बताए । उनले उनीहरूलाई विकसित गरेमा निश्चय पनि नेपाली क्रिकेट माथि उक्सने जनाए ।

क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले फ्रेन्चाइज टोलीहरू नेपाली क्रिकेटमा लगानी गर्न आएकाले अहिले नै कसैले आम्दानीको हिसाबमा प्रतियोगितालाई नहेरेको अनुमान लगाए ।

उनले यूएईमा हुने ट्वान्टी–२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले खेल्ने निश्चित भइसकेको र त्यसको आधिकारिक घोषणा हुन बाँकी रहेको जनाए ।

प्रकाशित : श्रावण २०, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?