कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भलिबल नेतृत्वमा मास्केको घोषणा

नेपाल भलिबल संघको इतिहासमै पहिलो पटक अध्यक्षमा महिला उम्मेदवार
विनोद पाण्डे

काठमाडौँ — निरोज मास्केले औपचारिक हिसाबमै नेपाल भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि अध्यक्षका लागि आफू दाबेदार भएको बताउँदै आए पनि उनले मंगलबार भलिबलसँग सरोकार राख्ने बाक्लो जमातबीच आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । 

भलिबल नेतृत्वमा मास्केको घोषणा

डेढ दशकअघि दार्चुलाबाट प्रतिनिधित्व हुँदै भलिबल संघमा सदस्य भएकी थिइन् । त्यसपछि उनी कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्ष छिन् । आफ्ना स्व. पति सञ्जयको स्मृतिमा सञ्जय मेमोरियल फाउन्डेसनमार्फत उनले भलिबलका विभिन्न गतिविधि गर्दै आइरहेकी छन् । गत चैतमा फाउन्डेसनले पाल्पाको रानीमहलस्थित कालीगण्डकी किनारामा महिला बिच भलिबलको आयोजना गरेको थियो ।

‘मैले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि कोही प्रतिद्वन्द्वी महसुस गरेको छैन, सर्वसम्मत हिसाबमै अगाडि बढ्न लाग्ने छौं,’ घोषणासभामा अध्यक्षका प्रत्याशी मास्केले भनिन् । भदौ २१ मा हुने भलिबल संघको निर्वाचनमा अध्यक्षका लागि मास्केबाहेक अरूको औपचारिक घोषणा भएको छैन । २०३३ सालमा स्थापना भएको भलिबल संघमा पहिलो पटक अध्यक्षका लागि महिलाको उम्मेदवारी परेको हो ।

महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी दिने जनाउँदै आएका छन् । सोही सभामा छन्त्यालले अध्यक्षका लागि आफ्नो पूर्ण समर्थन मास्केलाई हुने जनाए । छन्त्यालले संघको नेतृत्व हाँक्ने मान्छेले जिम्मेवारी लिनका लागि पूर्ण समय दिनुपर्ने र त्यसका लागि मास्के उपयुक्त पात्र भएको बताए । अघिल्लो वर्षदेखि नै मास्केले अध्यक्षका लागि आफ्नो चहलपहल अगाडि बढाए पनि राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति नपाउँदा भलिबल संघको निर्वाचन हुन सकेको थिएन ।

नेपालको पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानासहित भलिबल संघका पूर्वअध्यक्षहरू गंगाबहादुर थापा, दानबहादुर घिसिङ, प्रकाश थपलिया, प्रदेश १ र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव क्रमशः हंशराज वाग्ले र दीपक सिंह, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्द, न्यु डायमन्ड एकेडेमीका अध्यक्ष कुमार राईको उपस्थितिमा मास्केले आफ्नो उम्मेदवारीको घोषणा गरेकी थिइन् ।

भलिबल संघको पहिलो महिला कमिसनमा संयोजकको जिम्मेवारी लिएर काम गरिसकेकी मास्केले भलिबल विकासका लागि पाँच ‘प’ मा आफ्नो प्रतिबद्धता रहेको जनाउँदै प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनामा जोड दिने बताएकी छन् । सरकारी निकायसँग साझेदारी, निजी क्षेत्रको परिचालन, सदस्यता वितरण र प्रभावकारी बाँडफाँट व्यवस्था, रणनीतिक साझेदार, एनआरएनए र विश्वभर छरिएका भलिबलप्रेमी, पेशागत संघसंस्था र समुदायको संलग्नता एवं परिचालन गरेर स्रोतको व्यवस्थापन गर्ने उनले घोषणा पत्रमा उल्लेख गरेकी छन् ।

नयाँ खेलकुद ऐन आएपछिको अन्योलता, प्रादेशिक संरचना नभएका कारण भलिबल संघको निर्वाचन रोकिँदै आएको थियो । भलिबल संघको कार्यसमितिको पदावधि सकिएको दुई वर्षपछि निर्वाचन हुन लागेको हो । निर्वाचन साधारणसभाले १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ७ सचिव, १ कोषाध्यक्ष र १० सदस्य चुन्ने छ । ३९ जनाको कार्यसमिति रहनुपर्ने भलिबल संघको विधान छ । २५ जना निर्वाचन प्रकृयामार्फत आउनेछन् भने १३ जनालाई निवार्चित भएर आएको कार्यसमितिले मनोनीत गर्नेछ । एक पूर्वअध्यक्ष पदेन सदस्यका रूपमा रहनेछन् ।

भलिबल संघको निर्वाचनमा १ सय ३३ मत रहेको छ । ७७ जिल्ला नै मान्यता रहेको नेपाली खेलकुदमा भलिबल संघमात्र हो । ७७ जिल्लालाई १–१, सात प्रदेशका २–२ गरी १४, केन्द्रीय समितिका ३९, रेफ्री कमिसन, राष्ट्रिय टोली पुरुष र महिला १–१ तथा तीन क्लबको हैसियतमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र र न्यु डायमन्ड भलिबल क्लबलाई भलिबलको निर्वाचनमा मताधिकार छ ।

मास्केको उम्मेदवारी घोषणाले नै आफूले जितिसकेको अनुभव गरेको बताउँदै पूर्वअध्यक्ष एवं दक्षिण अफ्रिका लागि राजदूत दानबहादुर तामाङले भने, ‘उहाँले भलिबललाई धेरै दिइसक्नुभएको छ । सदस्य हुँदै उहाँ आजको स्थितिमा आइपुग्नुभएको हो । त्यसैले उहाँले अध्यक्षका लागि मौका पाउनुपर्छ । उहाँको मुख्य खुबी भनेको भलिबल संघमा आएको बजेटमा र्‍याल नचुहाउनु हो ।’ मास्केको उम्मेदवारीलाई पूर्ण समर्थन गरेका उनले प्रतिप्रश्न गरे, ‘भलिबल संघमा पहिलो पटक महिलालाई नेतृत्वमा किन नलैजाने ?’

राष्ट्रिय खेलकुदको मान्यता पाएपछि संघमा जिम्मेवारी बढेको जनाउँदै अर्का पूर्वअध्यक्ष गंगाबहादुर थापाले भने, ‘अब नयाँ नेतृत्वले नतिजामुखी बनाएर काम अगाडि बढाउनुपर्ने चुनौती छ । प्रतिबद्ध व्यक्तिहरू भलिबल संघमा अहिलेको आवश्यकता हो । त्यस्ता प्रतिबद्ध व्यक्तिलाई मेरो सहयोग जहिल्यै रहनेछ ।’

पूर्वराष्ट्रियखेलाडी पनि रहेका हंशराज वाग्लेले निर्वाचन प्रजातान्त्रिक प्रक्रिया रहे पनि सर्वसम्मत हिसाबमा नेतृत्व नआए भलिबल संघमा संकट पर्ने जनाए । २०६४ सालमा भलिबल संघको निर्वाचनमा अध्यक्षमा थापासँग पराजित वाग्लेले भने, ‘नेपाली खेलकुदमा जति पनि चुनाव भएका छन्, त्यहाँ राजनितिले जरा गाडेको छ, गुट मौलाएको छ र त्यसले खेलकुद समाप्त भएको छ । त्यही भएर सर्वसम्मत नेतृत्व चयन गर्नु उत्तम हुन्छ ।’

आफू सरकारी नियुक्तिको जिम्मेवारी लिएका कारण भलिबल संघको निर्वाचनमा कुनै समूहमा नरहेको बताए पनि वाग्लेले मास्केलाई आफ्नो समर्थन रहेको जनाए ।

प्रकाशित : श्रावण १८, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?