१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रिय खेलाडी बन्ने सपना

५ देखि २० वर्षसम्मका प्रशिक्षार्थी ग्रासरूटदेखि एडभान्स लेभलसम्म फुटबल प्रशिक्षण लिँदै छन्, उनीहरूलाई अभिभावकको दरिलो साथ
सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको इटहरी रंगशालाको मैदानमा फुटबलको अभ्यास हुँदै छ । साँझपख सय बढी प्रशिक्षार्थी जर्सी र बुट लगाएर फुटबल सिक्न मैदान आइपुग्छन् । राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ स्थानीय फुटबल ट्रेनिङ सेन्टरले अढाइ महिनादेखि प्रशिक्षण चलाएको हो । ५ देखि २० वर्षसम्मका प्रशिक्षार्थी ग्रासरुटदेखि एडभान्स लेभलसम्मका प्रशिक्षण लिँदै छन् । आमाबुवाको पनि बाक्लो उपस्थिति हुन्छ । 

राष्ट्रिय खेलाडी बन्ने सपना

सन्तानलाई खेलाडी बनाउनका लागि मैदानसम्म ल्याएको देख्दा पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ आफ्ना पुराना दिन सम्झन्छन् । उनी भन्छन्, ‘अहिले जस्तो त्यतिबेला परिबारबाट कहाँ सपोर्ट पाइन्थ्यो र ? छोराछोरीको हातखुट्टा भाँचिन्छ भने बाआमा डराउँथे ।’ घरको छेउमा सानो चौरी थियो । त्यही सानो मैदानबाट उनले फुटबलको कखरा सिकेका थिए । सुरेन्द्र सात वर्षको हुँदा उनको काका पूर्णबहादुर इटहरीको राजा क्लबबाट फुटबल खेल्थे । काकाले खेलेको देख्दा सुरेन्द्र पनि खेलाडी बन्ने सपना बुन्थे । सानो जनता स्कुलको मैदानमा जिल्ला, वडा तथा पूर्वाञ्चलस्तरीय प्रतियोगिताहरू हुने गर्थ्यो । उनी सकेसम्म प्रत्येक खेल हेर्न पुग्थे । माइकबाट खेलाडीको परिचय उद्घोष गर्दा आनन्द मान्थे । फुटबल खेल्दा सबैले चिन्ने रहेछ, इज्जत पाइँदोरहेछ, यसरी नै फुटबलले तानेको थियो सुरेन्द्रलाई । उनका बुबाले पञ्चायत र बहुदलीय व्यवस्थामा दुई पटक वडाध्यक्ष जितेका थिए । उनलाई भने राजनीतिले अलिकति पनि छुन सकेन । अन्ततः उनले काकाको पथ पछ्याए ।

२०५२/५३ साललाई इटहरीको फुटबल क्षेत्रका लागि उर्बर समय मानिन्छ । सुरेन्द्र तामाङ, श्याम मानन्धर, प्रकाश देवान, रितेश थापा, कमल बस्नेत, आर्दश बस्नेतलगायत खेलाडी सोही समयका साक्षी हुन् । देशमा खेलाडीको नाम चल्दै थियो । इटहरीवासीले देख्ने सपना अझै फराकिलो हुँदै थियो । तर ऊबेलाको विरासत थाम्नका लागि पर्याप्त मात्रामा खेलाडी उत्पादन हुन सकेन । फुटबलको गतिविधि पातलिँदै गयो । खेल क्षेत्रलाई हेरिने दृष्टिकोण फराकिलो बन्दै थियो । तर खेलाडीको प्रगति ग्राफ भने सन्तोषजनक थिएन । यहीक्रममा ब्वाइज क्लबको आयोजनामा ६ वर्षअघि पहिलो पटक ग्रासरुट प्रशिक्षण सुरु भएको थियो । यसपल्ट भने इटहरीका अगुवा फुटबलकर्मी, जनप्रतिनिधि, समाजसेवीको सहयोगमा फुटबल प्रशिक्षण सुरु भएको हो । मुख्य प्रशिक्षकको रूपमा जिल्ला फुटबल संघ सुनसरीका प्रशिक्षक श्याम मानन्धर र सुरेन्द्र तामाङ छन् । सहायक प्रशिक्षकको भूमिकामा राजकुमार श्रेष्ठ र गोलरक्षक विष्णु चौधरीसमेत जोडिएका छन् । ग्रासरुट लेभलको प्रशिक्षणले खेलाडी उत्पादनमा सघाउ पुग्ने राजा क्लबका अध्यक्ष बासु श्रेष्ठ बताउँछन् ।

फुटबल खेलेर परिवार र देशको नाम राख्ने सोच भएका कतिपयको परिवार मजदुरी गर्ने गरेको भेटिए । सुन्दरहरैंचा नगरपालिका–४, मोरङका सहीकुमार राई मजदुरी गर्छन् । उनको एक्लो कमाइले पाँच सदस्यीय परिवारको गुजारा टरेको छ । एक घण्टाको दुरी साइकलबाट छिचोल्दै छोरालाई दिनहुँ रंगशाला ल्याउँछन् । १३ वर्षीय छोरा श्यामवेल राईको फुटबल खेल्ने सपनालाई उनले बन्धकीमा राखेका छैनन् । पाँच वर्षको उमेरदेखि छोराले गाउँको मैदानमा सानो बल खेल्न थालेका थिए । सहीकुमारले भने, ‘हातखुट्टा भाँचिन्छ भनेर दुईपल्ट पिटे पनि मानेन, राम्रो पढ्छु तर फुटबल खेल्नैपर्छ भन्यो ।’ मजदुरी गरेर भए पनि छोराको सपना अघि बढाउन उनी लागेका छन् । दिनभरि बालुवा चाल्ने, गिटी बोक्ने काम गर्छन् । श्यामवेल पहिलोपटक बुबाको औंला समाएर फुटबल सिक्नका लागि रंगशालाको मैदान छिरेका थिए । श्यामवेल पनि प्रशिक्षणमा सहभागी हुन पाउँदा दंग छन् । उनले भने, ‘गाउँमा खेल्थ्यौं मात्र, यहाँ अभ्यास पनि हुन्छ, धेरै साथी र प्रशिक्षकसँग सिक्न पाउँदा खुसी छु ।’ जर्सी र बुट जुटाउनका लागि कठिनाइ हुने गरेको बताउँदै सहीकुमार भन्छन्, ‘बुटलाई कम्तीमा पनि १ हजार पर्छ, मोजा सस्तो भनेको ५ सय पर्छ, जर्सी पनि चाहिन्छ, मजदुरी गरेर भए पनि उनको इच्छा पुरा गरिदिन्छु ।’

भोजपुरे टोलकी अम्बिका बस्नेतले ५ वर्षे छोरालाई फुटबल सिकाउन थालेको अढाइ महिना भयो । यूकेजीमा अध्ययनरत ईश्वर भुजेलका बुवा पेसाले गाडी चालक छन् । उनको बुवाको सपना छोरालाई खेलाडी बनाउने । डेढ वर्षदेखि नै उनका बुवाले ईश्वरसहित टोलका छिमेकी बच्चालाई रंगशालामा फुटबल खेल्न ल्याउने गर्थे । छोराले पनि फुटबलप्रति चासो देखाउँदै गयो । प्रशिक्षण सुरु हुनसाथ नाम दर्ता गराए । स्कुलबाट घर फर्केपखि अभ्यासका लागि चाहिने सामान आफैं तयार पारेर आमाको हात समाउँदै मैदान आउन हतारो गर्छन् ईश्वर । अम्बिका भन्छिन्, ‘छोराले खेल र अनुशासन दुवै सिकेको छ, पहिलेदेखि नै यस्तो तालिम हुनुपर्थ्यो जस्तो लाग्छ ।’

इटहरी गैसारका १४ वर्षे मौसम विक जनता माविमा कक्षा ८ मा पढ्छन् । उनको बुवा ज्वलेरी र आमा सहकारीमा कलेक्टरको काम गर्छन् । टोलमा फुटबल खेल्दै आएका मौसमलाई अभिभावकले समेत खेलाडी बन्न हौसला दिएका छन् । बिना अभ्यास खेल्दा राम्ररी बल नियन्त्रण गर्न नसकेको अनुभव सुनाए । उनले भने, ‘यता आएपछि डेभलप भइरहेको छ, पहिले दाइहरूसँग खेल्दा पास पनि मिल्दैनथ्यो, यहाँ कोच र सिनियर दाइले सिकाउने हुँदा धेरै सिकिरहेको छु ।’

खेलाडी बन्ने सपना बोकी मैदानमा अभ्यास गराइरहँदा सुनसरी प्रशिक्षकका श्याम मानन्धर विगतमा फर्कन्छन् । सानो छँदा घरका र टोलका दाइहरू फुटबल खेलेको देख्दा उनमा पनि फुटबल खेल्ने रहर थियो । रिजाल टासीको ठुलो मैदानमा खेल्न गएको दिन सम्झँदा उनी भावुक हुन्छन् । घरको माहोल नै फुटबल भएकाले उनलाई खेल्न अप्ठ्यारो भोग्नुपरेन । रक्तमाला स्पोर्टिङ क्लबबाट उनको खेलजीवन सुरु भएको थियो । द ब्वाइज क्लबबाट खेलेपछि उनले थप उचाइ प्राप्त गर्दै ए डिभिजन टोली थ्रीस्टार क्लबबाट २०५४ देखि ०५७ सम्म खेले । २०५४ मा लिग जितेपछि भने खुट्टाको शल्यक्रिया गर्नुपर्यो । त्यसयता उनी एएफसी बी लाइसेन्सप्राप्त प्रशिक्षकको रूपमा खेलाडी उत्पादन गर्दै आएका छन् ।

सहायक प्रशिक्षक राजकुमार श्रेष्ठ भने उनै मानन्धरका चेला हुन् । मानन्धरसँग खेल्न सिकेका उनी नेपाल पुलिस क्लबबाट यू–१८ बाट खेलेका थिए । खुट्टामा समस्या भएपछि खेलाडी जीवन रोकियो । प्रतियोगिता खेल्न नसके पनि आफूले जानेको ज्ञान बाँड्नुपर्छ भन्ने सोचसाथ मानन्धर र अग्रज खेलाडी सुरेन्द्रको कदमलाई साथ दिन उनी खटिरहेका छन् । उनले प्रशिक्षार्थीहरू रमाउँदै फुटबलसँगै अनुशासन सिक्दै आएको बताए । श्रेष्ठले भने, ‘सुरुमा बल हान्न जान्दैनथिए, अहिले जान्दैछन्, साथीहरूमाझ घुलमिलसमेत हुन थालेका छन् ।’ गोलरक्षक बिष्णु चौधरी जानेको ज्ञान बाँड्न पाउँदा खुसी देखिन्थे । सुरुआती दिनदेखि नै प्रशिक्षण सफल बनाउन उनी पनि लागिपरेका छन् ।

प्रकाशित : श्रावण ११, २०७९ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?