राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा- खेलकुद - कान्तिपुर समाचार

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् ।

स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ(क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले बुधबार मात्र खेलाडीहरूलाई जानकारी दिएका हुन् । बुधबार दिउँसो भने उनले औपचारिक पत्रकार सम्मेलन गरी राजीनामाको जानकारी दिएका हुन् ।

नितान्त व्यक्तिगत कारणले आफूले राजीनामा दिएको पनि दासानायकेले बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, 'मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । मैले क्यानडामा परिवारलाई समय दिन आवश्यक छ । अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन ।' त्यस्तै उनले नेपालको अहिलेको टिम उत्कृष्ट भएको र विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने पनि बताए । श्रीलंकाका लागि ११ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका दासानायके पछिल्लो दुई दशकदेखि क्यानडामा बस्दै आएका छन् ।

दासानायकेले गत डिसेम्बरमा नेपालको प्रशिक्षकका रूपमा दोस्रो पटक जिम्मेवारी सम्हालेका थिए । पहिलो कार्यकालमा सफल मानिएका दासानायकेको नेतृत्वमा दोस्रो कार्यकालमा भने नेपालले उल्लेख्य प्रदर्शन गर्न सकेन । फेब्रुअरीमा विश्वकप छनोटमा शीर्ष २ मा पर्ने लक्ष्य राखे पनि नेपाल तेस्रो भएको थियो ।

त्यस्तै विश्व क्रिकेट डिभिजन लिग २ मा यूएई, अमेरिका र स्कटल्यान्ड भ्रमण गरी नेपालले १२ खेल खेलेको थियो । त्यसमा नेपालले ४ जित, एउटा टाई र ७ वटामा हार बेहोर्‍यो । त्यस्तै उनको प्रशिक्षणमा मे महिनामा मलेसिया, पपुवा न्युगिनी संलग्न त्रिकोणात्मक शृंखला नेपालले जितेको थियो । उनी दुई वर्षका लागि आए पनि एक वर्ष पनि नपुग्दै राजीनामा दिएका हुन् ।

दासानायके आउनुअघि नेपाल एसीसी ट्वान्टी–२० को सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । उनकै प्रशिक्षणमा नेपाल २०११ मै एसीसी ट्वान्टी–२० को सेमिफाइनलमात्र पुगेन, २०१३ को अर्को संस्करणमा फाइनल पुग्यो । त्यहींबाट ट्वान्टी–२० विश्वकप छनोट हुँदै विश्व ट्वान्टी–२० मा पुगेको थियो । पहिलो कार्यकालमा दासानायके २०१५ को नोभेम्बरसम्म नेपालको प्रशिक्षकमा रहे ।

प्रकाशित : श्रावण ४, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

नेप्से २०५० अंकमा, ८ दिनदेखि लगातार वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से २०५० अंकमा पुगेको छ । ४.८९ अंक बढेर नेप्से सो अंकमा पुगेको हो । नेप्से गत मंगलबार (८ दिन) देखि बढिरहेको छ । बुधबार कुल १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब २९ करोडको कारोबार भएको थियो ।

बैंकिङ ०.६, होटल तथा पर्यटन ९, जलविद्युत् १२, जीवन बीमा २८ र ब्यापार उपसमूह १२ अंक घटे । अन्य १७, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स ८, उत्पादन ६३, फाइनान्स ३१ र विकास बैंक उपसमूह ५ अंक बढे । कुल ८६ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो भने ६ को स्थिर रह्यो । मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, गोर्खा फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण ४, २०७९ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×